Logo

कर्पोरेट फोकस

नेपाल टेलिभिजनको स्याटेलाइट सम्झौतामा करोडौं कमिसनको खेल, मिल्ने जति सबै ठाउँमा उजुरी



भ्रस्टाचार र कमिसनको खेलमा नेपाल टेलिभिजनका २५ मेघाहर्जका पाँचैवटा च्यानलहरु २५ भदौदेखि बन्द (स्क्रिन ब्ल्याक आउट) हुने अवस्थामा पुर्‍याइएको छ ।

आगामी सेप्टेम्बर १० तारिक (भदौ २५) मा दश वर्ष पहिला गरिएको स्याटेलाइट भाडामा खरिद गरिएको मिति समाप्त हुदैछ । सम्झौता समाप्त हुनु अगाडिनै गत जुन २८ मा २५ मेघाहर्जको लागी टेन्डर आव्हान गरिएको थियो । उक्त टेन्डर अगष्ट २२ मा खोल्ने दिन थियो । तर अहिले अन्तरराष्ट्रिय बजारमा स्याटेलाइट्को मूल्य प्रति मेघाहर्ज १२ सय डलर रहेको छ ।

यहि कुराको सुइँको पाएर पुरानो थाई कम पी एल सीसँग गरेको ३४ सय ९० डलरको सम्झौतालाई नै निरन्तरता दिई २५ मेघाहर्जको प्रति मेघाहर्ज २२ सय ९० डलर कमिसन खानकै लागि टेन्डर खोल्नु २ दिन अगाडी टेण्डर खोल्ने मिति दुइ हप्ता सारेर पुरानै थाई कमलाई पुरानै सम्झौता अनुसार सम्झौता गर्ने कमिसनको खेल पूर्व महाप्रबन्धक दिपकमणि धितालले सुरु गरेका हुन् । दीपकमणि धिताल टेलिभिजनको महाप्रबन्धक हुदा थाई कमसँग उक्त ३४ सय ९० डलरको सम्झौता भएको थियो ।

त्यस पछि खुलेका नेपाल टेलिभिजनका अन्य च्यानलहरुलाई पनि सोही मुल्यमा त्यहि थाइकम कम्पनीसँग पुरक सम्झौता गर्दै निरन्तरता दिने कमिसन मिलिजुली खाने काम भएको बताइएको छ ।

अहिले स्याटलाइट ब्यान्डविथको मूल्य घटेर प्रति मेगाहर्ज करिब ११ सयदेखि १५ सय डलरसम्म छ । कान्तिपुर, इमेज, हिमालयन, जनता लगायत थुप्रै निजी नेपाली टेलिभिजन च्यानलहरुले न्युनतम् त्यही मुल्यमा उच्च गुणस्तरको सेवा दिइरहेका छन् । तर सरकारी हुनासाथै गुणस्तर जस्तो भएपनि चरम अनियमितता हुनै पर्छ भन्ने मान्यता नेपाल टेलिभिजनले स्थापित गरिदिएको छ ।

हाल नेपाल टेलिभिजनका ५ वटा च्यानलहरुप्रति मेगाहर्ज ३४ सय ९० डलरको दरमा २५ मेगाहर्ज थाईकम स्याटलाइट कम्पनीमार्फत खरिद गरि चलिरहेका छन् । यसमा कमिसन बाहेक अन्य कुनै कुरा छैन ।

महेन्द्र विष्टले टेलिभिजनको नेतृत्वमा आउदा १० वर्षे स्याटलाइट काण्डमा व्यापक भ्रष्टाचार भएकाले सोवापत कमिशन खाइरहने प्रवृति रोक्दै थाइकम सँगको सम्झौता भंग गरि नयाँ टेण्डरमा जाने प्रतिवद्धता जनाएका थिए । तर उनकै कार्यकालमा स्थापित एनटिभी इटहरीलाई पनि उनले सोही स्याटलाइटमार्फत उही ३४ सय ९० डलर चर्को मूल्यमा खरिद गर्ने निर्णय गरे ।

मासिक १२ सय डलरमा हुन सक्ने सम्झौता ३४ सय ९० डलरमा गर्दा मासिक २२ सय ९० फाइदा हुन्छ । यसरी २५ वटा मेगाहर्जमा मासिक ५७ हजार २ सय ५० डलर बढी तिरिरहेको छ । यसको हालको नेपाली मुल्य ६६ लाखभन्दा बढी हुन्छ । वार्षिक रुपमा ८ करोड हाराहारीमा स्याटेलाइट खरिदको कमिसन मात्र खाईएको चर्चा नेपाल टेलिभिजनमा छ ।

तत्कालीन संचारमन्त्री गोकुल बास्कोटाले पनि स्याटलाइट ब्याण्डविथ भाडामा भैरहेको भ्रष्टाचारको चर्चामा चासो दिएर त्यसको विरोध गर्दै थाइकम कम्पनीसँग १० वर्षको लागि भएको सम्झौता भंग गर्न मौखिक निर्देशन दिएका थिए । तर बाँस्कोटाको उक्त निर्देशन कार्यान्वयनमा कसैले चासो दिएन । यी सबै कुराहरुबाट प्रष्ट हुन्छ कि थाई कमसँग भएको सम्झौतामा ब्यापक अनियमितता छ तर यो अनियमितता रोक्ने हिम्मत कसैले गर्न सक्दैन किनकि त्यहाँबाट आउने मोटो कमिसनले सबैको मुखमा बुझो लगाउने काम सहजै हुने गरेको छ ।

हाल नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पद खाली रहेकाले उक्त पद हत्याउन दिपकमणी धिताल मरिहत्ते गरेर शक्ति केन्द्र रिझाउन लागि परेको चर्चा समेत सुनिएको छ । टेलिभिजनको कार्यकारी अध्यक्ष पाउने भए जति पैसा पनि खर्च गर्न तयार रहेको उनले शक्ति केन्द्रमा बताउने गरेका छन् । पद पाउन जति रकम खर्च गरेपनि पदमा पुगेपछि कसरी कमाई हुन्छ भन्ने ज्ञान आफूलाई भएको भन्दै उनले फूर्ति लाउने गरेको बताइन्छ ।

धितालले हाल जारी टेन्डर प्रक्रियालाई खारेज गरि सकेसम्म हालकै महँगो थाइकमलाइ निरन्तरता दिने यदि त्यसो नभए आफु कार्यकारी भएर आएपछि टेन्डर गर्ने भनि गृहमन्त्री बालकृष्ण खाँणलगायत विभिन्न नेताहरुलाई भ्रममा पारी उक्त टेन्डर प्रक्रियालाई २ हप्ता पर सार्न सफल भएको श्रोतले बताएको छ ।

हालको टेन्डर प्रक्रियालाई बिलम्ब गरि रद्द गराउन सकेमा थाइकमसँगको महँगो सम्झौतालाई निरन्तरता दिन सकिन्छ । धितालले यतिसम्म मिलाइ सकेका छन् कि केही महिना अगाडि मात्र नियुक्त भएका महाप्रबन्धक फुलमान बललाई समेत आफ्नो इशारामा नाच्न सक्ने बनाएका छन् ।

थाई कमकै स्याटेलाइट ब्याण्डविथ चलाउँदा बीचमा त्यस स्याटेलाइटले काम गर्न नसकेपछि र त्यसको गुणस्तर कमजोर भएका कारण थाई कमले एपी स्याट भन्ने अर्को कम्पनीसँग सस्तोमा किनेर नेपाल टेलिभिजनलाई महंगोमा बेचिरहेको छ । यी सबै कुरा थाहा भएका केही कर्मचारीहरुलाई समेत साथमा लिएर तै चुप मै चुप भएर त्यहि थाई कमसँगको सम्झौतालाई निरन्तरता दिइ कमिसन खान नयाँ गरिएको टेन्डर रद्ध गराएर जाने कुत्सित नियत राखी रहेका छन् ।

मन्त्रालयको पत्रले रोकेको हो : वल

नेपाल टेलिभिजनमा मौलाएको कमिसन प्रकरणका विषयमा महाप्रवन्धक फूलमान वलसँग प्रतिक्रिया माग्दा विगतमा कसले के गर्‍यो त्यो आफूले भन्न नमिल्ने बताए । अबको प्रक्रियामा स्याटेलाइट खरिदको मुल्य घटाइने महाप्रवन्धक वलको भनाइ रहेको थियो ।

हालै गरिएको टेण्डर प्रक्रियाका विरुद्ध सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र मन्त्रालयमा समेत उजुरी परेको र त्यस सम्बन्धमा छानबिन भइरहेको भनाई समेत वलको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानविनको प्रक्रिया नसकुन्जेल टेण्डर प्रक्रिया रोक्न निर्देशन दिएकोले दुई हप्ता रोकिएको भन्दै महाप्रवन्धक वलले यो प्रक्रिया पुरा गर्न तीन–चार महिना पनि लाग्न सक्ने बताए ।

टेण्डर प्रक्रिया लामो समय लागेमा उक्त अवधिसम्म हालकै थाइकमको सम्झौता कायम रहने समेत उनले बताए । थाइकमले समेत मुल्य घटाएर दिनु पर्नेमा वलले जोड दिए । नेपाल टेलिभिजनले हाल थाइकमलाई प्रति मेगाहर्ज मासिक २३ सय ९६ दशमलव ५ डलर तिर्ने गरेको र सरकारलाई १६ दशमलव ५ प्रतिशत कर तिर्नु पर्ने भएकोले महंगो जस्तो देखिएको बताउदै उनले निजी टेलिभिजनहरुले मुल्य अनुसार कर तिर्नु पर्छ भनेर थोरैमा सम्झौता गरेको कागज देखाएको हुन सक्ने आरोप समेत वलले लगाए ।

आउदो भदौ २५ गते थाइकमसँगको स्याटेलाइट सम्झौता सकिएर स्क्रिन नै ब्ल्याक आउट हुने अवस्थामा समेत नयाँ टेण्डर स्थगित गरिएको सम्बन्धमा सार्वजनिक लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेसँग प्रतिक्रिया माग्दा टेण्डरमा प्रक्रिया नपुगेकोले केही समयका लागि स्थगित गरिएको बताए । अगाडिका सञ्चालकहरुले ब्याण्डविथ सम्झौतामा गल्ती गरेको पाइएकोले छानबिन गरी कारवाही गर्न निर्देशन दिएको बताए । टेलिभिजन नेतृत्वले दशौं वर्षसम्म सम्झौता नविकरण गरेर गलत काम गरेको भनाई डा. पाण्डेको रहेको छ ।

यसै सन्दर्भमा जिज्ञासा राख्दा पूर्व महाप्रवन्धक धितालले आफू बाहिरी सकेकोले यस्तो हल्ला आउनु अनावश्यक रहेको बताए । कार्यकारी अध्यक्षको लागि दौडधूप गर्दै छ समेत भनेर केही व्यक्तिहरु विना काममा आफ्नो विरुद्ध लागेको धितालको भनाइ रहेको छ ।

प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार  १२ : २२ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।