Logo

समाज

डिजेबाट समाजसेवी र जेनजी आन्दोलनको नेतृत्वसम्म सुदन गुरुङको यात्रा



काठमाडाैं । सुदन गुरुङ, जन्मजात नेपाली काठमाडौँमा जन्मिए पनि स्थायी ठेगाना गोर्खा, चुमनुव्री गाउँपालिका–३ हो । युवावस्थामा साथीभाइको संगतमा क्लब र डिस्कोको दुनियाँमा प्रवेश गरेका सुदनले ठमेलमा “OMG” नामक क्लब सञ्चालन गरी व्यवसायिक सफलता हासिल गरे । डिजेको रूपमा उनको परिचय फैलियो भने आर्थिक रुपमा पनि उनले राम्रो प्रगति गरे।

तर २०७२ सालको विनाशकारी भूकम्पले उनको जीवनमा निर्णायक मोड ल्यायो । वीर अस्पतालमा घाइतेहरूको सेवा गर्दै उनले ‘हामी नेपाल’ नामक गैरसरकारी संस्था स्थापना गरे । प्रारम्भमा संस्था राहत वितरण, पानी आपूर्ति र स्वेच्छिक कार्यमा सक्रिय थियो । अहिले यसका १६०० भन्दा बढी सदस्य छन् र विदेशी सहयोग पनि पाइरहेको छ । संस्थाका संरक्षक प्रख्यात आँखाका चिकित्सक डा. सन्दुक रुइत हुन् ।

सामाजिक सेवासँगै व्यवसायिक क्षेत्रमा पनि सुदन सक्रिय छन् । डिजे र क्लब व्यवसाय छोडेर उनले रियल स्टेट, घरजग्गा कारोबार र साहसिक पर्यटनमा मोडिए । पोखराको फेवातालमा २५ वर्षे टेन्डर लिएर उनले वाटर स्पोर्ट्स सञ्चालन गरिरहेका छन् । कोरोना महामारीको समयमा उनले अक्सिजन सिलिन्डर, औषधि र आपतकालीन राहत वितरणमा पनि सक्रियता देखाए ।

सुदनको सामाजिक क्रियाकलापमा धरानका मेयर हर्क साम्पाङको श्रमदान अभियानमा सहभागिता उल्लेखनीय छ । पछि आफ्नै समर्थकसहित ‘सेभ घोपा’ आन्दोलन अगुवाइ गरेका उनले अहिले जेनजी आन्दोलनको अग्रपंक्तिमा आफ्नो नेतृत्व प्रदर्शन गरिरहेका छन् । वर्तमानमा उनी शीतल निवासमा राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रधानसेनापति अशोकराज सिग्देलसहितका उच्चपदस्थ अधिकारीहरूसँग बराबरीमा वार्तामा सहभागी भएका छन् ।

सामाजिक अभियन्ता, व्यवसायी र आन्दोलनकारी—तीनै पहिचान बोकेको सुदन गुरुङले आफ्नो जीवन यात्रा मार्फत नेपालमा युवा नेतृत्व र समाजसेवा दुवैमा महत्वपूर्ण योगदान दिइरहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १०:५३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।