प्रतिबन्ध!
  • कृष्ण सेन इच्छुक
  • बुधबार, फाल्गुन २९, २०७५
  • काठमाडौँ

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै
तिमी भन्छौ, ‘गाऊ न गाऊ
तर यो गीत नगाऊ’
हामी भने त्यही गीत गाइरहन्छौं।

हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातहरुमा हत्कडी पहिर्‍याउँदै
तिमी भन्छौ, ‘लेख्न त लेख
तर यो गीत नलेख’
हामी भने त्यही गीत लेखिरहन्छौं।
हाम्रा आस्थाहरूमा प्रतिबन्ध लगाउँदै

हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ, ‘हिँड्न त हिँड
तर यो बाटो नहिँड’
हामी भने त्यही बाटो हिडिरहन्छौं।

ओ शासक, प्रशासकहरू१
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरू गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरूद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौं।

उठाइरहन्छौं हामी तिम्राविरूद्ध संघर्षको हातहरू
कसिरहन्छौं हामी तिम्राविरूद्ध विद्रोहका मुठ्ठीहरू
ओ अत्याचारका पहरेदारहरू!
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथी विजयको झण्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौं।