(कविता) मनमा प्रश्नहरुको सुनामी
  • एस किराँती
  • आइतवार, चैत्र २४, २०७५
  • काठमाडौँ

-हेर त ऊ कति ठुलो मान्छे-
यहि वाक्य मैले सुनेँ
मनमा प्रश्नहरुको सुनामी आयो
के साच्चै सबैको आँखामा पर्न ठूलो नै हुनुपर्छ !
मैले मेरो मनमा विचारहरुसँग लडाइँ गरेँ
फलस्वरूप मनमा सुनामीले झन् चोट लायो

-हेर त ऊ कस्तो बलियो मान्छे-
फेरि यो वाक्य सुनेँ
मनमा आएको सुनामीमा पुनः अर्को सुनामी थपियो
के सबैको प्रसंशामा पर्न बलियो हुनुपर्छ !
मैले विचारहरुसँग पुनः कुस्ती खेलेँ
त्यसैले गर्दा घाइते मनमा दर्द फेरि थपियो

-हेर त ऊ कति सुन्दर-
प्रश्नहरुको सुनामीले हैरान भएको बेला फेरि सुनेँ
अब त थाहा भयो आँखामा लोभ हुने रै’छ
नत्र किन मान्छेले रुपलाई वर्णन गर्यो ?
उकुसमुकुस भएको मनमा दर्द बढेको महशुस गरेँ
बनावटी कुराहरुले मन कहिल्यै खुसी नहुने रै’छ

-हेर त ऊ कति धनी-
निकै दर्द भैरहेको बेला यो पनि सुन्न भ्याएँ
मनमा प्रश्नहरुको सुनामी फेरि आयो
के संसार धनमा नै लोभिएको हो त !
मैले गरिब, दुखिहरुलाई प्रश्न सोध्न भ्याएँ
‘धन छ, सबै छ’ उनिहरुबाट यस्तो उत्तर आयो

-हेर त ऊ कति असल-
यो सुनेसी मेरो दर्द हट्यो
साच्चै मनलाई खुसी पार्ने धन हैन
यदि धन हो त मेरो मनमा सुनामी आउने थिएन
धनमा, सुन्दरतामा, बलमा पौरख गरेर के हुन्छ ?
साच्चै नै ती एकदिन नास हुन्छ
तर असल काम सधै रहन्छ
यहि मैले सुनें
र मेरो मनमा आएको प्रश्नहरुको सुनामी शान्त भयो