‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ वैरागी काइँलालाई
  • अनलाइनपाना संवाददाता
  • बुधबार, चैत्र २७, २०७५
  • काठमाडौँ

यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्वकुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र संगीतका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यस वर्ष उहाँलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिइन् । सम्मानको राशि एक लाख रुपैयाँ रहेको छ ।

‘राष्ट्रिय कलाश्री पुरस्कार–२०७५’ साहित्यकार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै रु. २५ हजार राशिको ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार–२०७५’ कवि एवं अनुवादक सुमन पोखरेललाई प्रदान गर्ने निर्णय भएको राससले जनाएको छ ।

त्यस्तै ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता–२०७५ पुरस्कार पत्रकार नरेन्द्रराज शर्मा र ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला युवा पुरस्कार–२०७५’ चित्रकार एरिना ताम्राकारलाई प्रदान गरिने निर्णय भएको अध्यक्ष जोशीले जानकारी दिइन् । सबै पुरस्कार यही चैत २८ गते आयोजित कार्यक्रममा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।