घरेलु तथा लैङ्गिक हिंसा भनेको के हो ? यो हिंसा भएमा के गर्ने ?
  •   दुर्गा खड्का
  • सोमवार, बैशाख ३०, २०७६
  • काठमाडौँ

नेपालका बिभिन्न पिछडिएका या अविकसित स्थलहरुमा घरेलु हिंसाहरु प्रशस्त देखिन्छन् । नेपालमा घरेलु हिंसा भोगिरहेका मानिसले शारीरिक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको तितो यर्थात हामीले प्रत्यक्ष देख्छौ, पत्रपत्रिकामा पढ्छौ र विभिन्न सञ्चार माध्यामबाट देख्ने र सुन्ने पनि गर्छौ । समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाको उपजको रूपमा लिइन्छ । यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ ।

घरेलु हिंसा भनेको के हो ?

कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिइने शारीरिक, मानसिक,यौनजन्य तथा आर्थिक यातना नै घरेलु हिंसा हो । यसले व्यक्तिलाई शारीरिक तथा भावनात्मक चोट पु-याउँछ । घरेलु हिंसालाई “घरेलु हिंसा (कसुर र सजाय)ऐन,२०६६” ले निम्न स्वरुपमा परिभाषित गरेको छ ।

“शारीरिक यातना भन्नाले कुटपिट गर्ने,गैर कानूनी थुनामा राख्ने, शारीरिक चोट पु-याउने,तेजाब या यस्तै प्रकारका अन्य पदार्थ छर्किइ वा सो पदार्थले पोली,डामी,दली,घसी जीउमा पीडा गराउने अनुहार वा शरीरको कुनै अंग कुरुप पारिदिने वा यस्तै अन्य कुनै काम गर्ने वा गराउने कार्य हो ।

मानसिक यातना :

“मानसिक यातना भन्नाले शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने वा त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौज गर्ने,झुटा बात लगाउने घरबाट निकाला गर्ने, वैचारिक, धार्मिक, सांस्कृतिक, प्रथा परम्पराका आधारमा भेदभाव गर्ने, रुप रंग, शारीरिक बनावट तथा कुनै रोग लागेको आधारमा अपमानित गर्ने,मानसिक सन्तुलन गुमाउने,आत्महत्या गर्ने दुरुत्साहन दिने वा आत्महत्या गर्ने परिस्थिति खडा गर्न हदसम्मको कार्य हो ।

यौनजन्य यातना :

“यौनजन्य यातना भन्नाले यौनजन्य प्रकृतिको दुव्र्यवहार, अपमान, हतोत्साह वा आत्मसम्मान चोट पु-याउने वा सुरक्षित यौन स्वास्थ्यमा आघात पर्ने कुनै पनि कार्य हो ।”

आर्थिक यातना :

आर्थिक यातना भन्नाले सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत साधनको पहुँच व प्रयोगमा बञ्चित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले महिलाको हकमा दाइजो नल्याएको कारणबाट गरिने घृणा,हेला वा तिरस्कार समेतलाई जनाउँछ ”।

लैङ्गिक हिंसा भनेको के हो ?

कुनै पनि व्यक्तिले महिला वा पुरुष वा तेस्रो लिङ्गी भएका आधारमा (लिङ्गका आधारमा) कसैमाथि घर,समाज तथा कार्यस्थलमा गर्ने शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य पीडा वा क्षति पु-याउने कार्य नै लैङ्गिक हिंसा हो ।

घरेलु तथा लैङ्गिक हिंसा भएमा के गर्ने ?

निःशुल्क नम्बरहरु ११४५, राष्ट्रिय महिला आयोग(महिला तथा बालबालिका समस्या भए)
पैसा नलाग्ने आपत्कालिन फोन १०९८( दश नौ आठ), बाल हेल्पलाइन नेपाल(बालबालिका समस्या भए),
प्रहरी कन्ट्रोल १००, नेपाल प्रहरी

२. कानुनी कारबाहीको निम्ति कसले कहाँ र कहिले उजूरी गर्ने ?

पिडित वा थाहा पाउने जोसुकैले घटना भएको स्थानीय तह वा नजिकको नेपाल प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोगमा वा जिल्ला अदालत जहाँ पनि घटना भएको ९० दिनभित्र उजूरी गर्न सकिन्छ ।