किसुनजी बारे यस्ता कुराचाहिँ अतिशयोक्ति भयो है !
  • चन्द्रमणि गौतम
  • मङ्लबार, फाल्गुन २८, २०७५
  • काठमाडौँ

नेपाली कांग्रेसका संस्थापकमध्येका पछिल्ला नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को फागुन २० गते पूण्यस्मृति दिवस पर्छ । यो वर्ष उहाँको नवौँ स्मृति दिवस हो । उहाँको निधनकै दिन नेपाली कांग्रेसका पुराना नेता तथा प्रख्यात उपन्यासकार (बसन्ती, सेतोबाघ जस्ता ऐतिहासिक उपन्यासका लेखक) डायमण्ड शम्शेरको पनि निधन भएको थियो । त्यसकारण किसुनजीको निधनकै दिन डायमण्डजीलाई पनि श्रद्धापूर्वक सम्झने गरौं ।

यतिबेला किसुनजीको गुणगान गाउने बेला चलिरहेको छ । मानिस मरेपछि उसका बारेमा भए–नभएका गुणको तारिफ गर्ने नेपाली चलन किसुनजीका सन्दर्भमा पनि भइरहेको छ । सत्य–तथ्य सँगसँगै अनेक मनगढन्ते कुरा पनि आएका छन् । कतै कुरीकुरी लाग्दो त कतै निराधार र भ्रामक कथा बुनेर उहाँलाई बढाइचढाइ प्रस्तुत गर्ने नेपाली कमजोरी प्रकट भइरहेको छ । कसैका बारेमा तारिफै तारिफ गरियो भने त्यो निन्दा बन्न पुग्छ । कसैलाई निन्दामात्र गरिरहह्यो भने त्यो सम्मान र सहानुभूति हुनपुग्छ ।

एकाबिहानै मलमूत्र त्याग्ने, दिनभरि विवेक त्याग्ने, साँझ परेपछि होश–हवास त्याग्ने र रात छिप्पिन थालेपछि बीर्य त्याग्ने ‘त्यागी’ नेता र प्रशासकहरूको बोलवालामा किसुनजीको त्यागको के अर्थ रहला र ! यहाँ धेरैजसो आफ्नै डम्फु बजाएर आफ्नो प्रचार गरिरहेका छन् । किसुनजीको जीवनभरि उहाँलाई गाली र सत्तो सराप गर्नेहरू पनि यतिबेला प्रशंसाका शब्दजाल सुनाइरहेका छन् । यस्तो अनायास मेहरवानी र प्रंशसाको अब कुनै अर्थ छैन । भए नभएका शब्द हालेर कसैको प्रशंसा गर्नु आफ्नै प्रियजनको अवमूल्यन गर्नु हो ।

तर किसुनजीका बारेमा आउनुपर्ने कतिपय कुरा आइरहेको छैन, कतिपय अतिशयोक्ति र भ्रामक कुराहरू पनि आइरहेका छन् । जस्तो मेलम्ची खानेपानी आयोजनाको स्वीकृति उहाँ प्रधानमन्त्री भएका बेला नवौँ पञ्चवर्षीय योजनाभित्र सक्नेगरी भएको हो । त्यसको सम्पन्नताका लागि उहाँकै अध्यक्षतामा प्रधानमन्त्री स्तरीय निर्देशन समिति पनि बनेको थियो । तर खोई यो कुरा ? काठमाडौंका मानिस र किसुनजीबारे जानिफकारहरूलाई अब मेलम्ची आयोजना चाहिएन ? गोरखापत्रलाई रङ्गिन कलेबरमा लैजाने प्रक्रियाको प्रारम्भ उहाँकै प्रधानमन्त्रित्व कालमा शुरू भएको हो ।

२०४६ सालको जनआन्दोलनलाई सुरक्षित अवतरण गर्न, जनआन्दोलनको फलका रुपमा २०४७ को संविधान जारी गर्न र एकवर्षको अन्तरिम कालभित्रैमा दोस्रो आमनिर्वाचन सुसम्पन्न गरी निर्वाचित सरकारलाई शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्नमा उहाँको अग्रणी भूमिका छ ।प्रजातान्त्रिक आन्दोलनमा लागेर राजनीति पीडितहरूलाई सरकारबाट राहत र सहयोग दिलाउनमा पनि उहाँको अविष्मरणीय भूमिका छ । राजनीति पीडित सहयोग समितिको अध्यक्षता आफैँले गरी त्यसलाई सफल बनाउनमा उहाँको बिर्सिनसक्नु योगदान छ ।

माओवादीसँग शान्तिवार्ता गरी टुङ्गोमा पु-याउन उहाँकै पालामा शेरबहादुर देउबाको संयोजकत्वमा संस्थागत ढङ्गले वार्ता समिति गठन भएको थियो । त्यसैले अरू केही नभए पनि संवाद र पारस्परिक अस्तित्वको मान्यतामा माओवादीलाई ल्याएको हो । के यी कुरा हामीले बिर्सेकै हौँ ? कि हल्ला र भ्रामक प्रचारवाजीमा रूमल्लिएर हामी हल्लैहल्लाको देशका नागरिकको पहिचान देखाइरहेका हौं ?

किसुनजी त्यागी र एक महान राजनेता हुनुहुन्थ्यो, तर नैतिकता र सिद्धान्त त्याग उहाँबाट कहिल्यै भएन । एकाबिहानै मलमूत्र त्याग्ने, दिनभरि विवेक त्याग्ने, साँझ परेपछि होश–हवास त्याग्ने र रात छिप्पिन थालेपछि बीर्य त्याग्ने ‘त्यागी’ नेता र प्रशासकहरूको बोलवालामा किसुनजीको त्यागको के अर्थ रहला र ! यहाँ धेरैजसो आफ्नै डम्फु बजाएर आफ्नो प्रचार गरिरहेका छन् । किसुनजीको जीवनभरि उहाँलाई गाली र सत्तो सराप गर्नेहरू पनि यतिबेला प्रशंसाका शब्दजाल सुनाइरहेका छन् । यस्तो अनायास मेहरवानी र प्रंशसाको अब कुनै अर्थ छैन । भए नभएका शब्द हालेर कसैको प्रशंसा गर्नु आफ्नै प्रियजनको अवमूल्यन गर्नु हो ।

किसुनजी गुणैगुणले मात्र सम्पन्न मान्छे हुनुहुन्न थियो । मानवोचित कमजोरी उहाँसँग पनि थिए । गम्भीर भएर प्रस्तुत हुनुपर्ने ठाउँमा पनि उहाँ ठट्टा र परिहाँसमा कुरा सक्नुहुन्थ्यो । तर कमजोरी यतिबेला कोट्याउने होइन, उहाँका गुणहरूलाई अरूको लागि अनुकरणीय ढङ्गले प्रस्तुत गर्नसक्नु पर्ने हो । किसुनजीलाई कसैले भगवान गौतम बुद्ध, कसैले महात्मा गान्धी भन्दाभन्दै कसैले क्राइस्ट जतिकै पूजनीय भनेको पनि सुनियो । यस्ता कुरीकुरीलाग्दा प्रशंसा नगर्नु बेश होला । उहाँ भगवानको भाई वा अवतार होइन, कमजोरीहरू पनि मिसिएको महान नेता हुनुहुन्थ्यो भन्ने हेक्का राखांैं ।

किसुनजीलाई महान बनाउन यतिबेला कसै कसैले बीपी र गणेशमानजीका बारेमा अन्टसन्ट बोलेर यस्तो चित्र प्रस्तुत गर्न खोजिँदैछ मानौं बीपी र गणेशमान भनेका कोही होइनन्, जे हुन् किसुनजी मात्र हुन् । किसुनजी बाँचेकै बेला यस्तो मूल्याङ्कन गरेको भए उहाँ कति रिसाउनु हुन्थ्यो होला ! बीपी र गणेशमान जेलबाट कागज गरेर पञ्चायतलाई मान्छौं भनी छुट्नु भएको होइन ।

तत्कालिन कांग्रेस सभापति सुवर्ण शम्शेरले २०२५ सालमा दिएको बक्तब्यलाई समर्थन गरेको त हो, तर त्यसैलाई गाईडलाइन बनाएको होइन । यदि त्यसो भएको भए २०२५ सालमा बीपी र गणेशमानजीहरू छुटेपछि पार्टीले सशस्त्र क्रान्तिको आयोजना कसरी ग-यो त !

२०१७ सालमा उहाँलाई पनि पक्रेर जेल हाल्दा राजालाई उहाँको प्रश्न थियो, “म सरकारमा बसेको मानिस होइन । सबैको साझा सभामुख थिएँ । तर मेरो अपराध के थियो ? के सभामुख हुनु नै अपराध हो ? राजाले यसको जवाफ दिनुपर्छ । प्रतिनिधिसभा विघटन गरेपनि अर्को चुनाब नभएसम्म सभामुखको ओहोदा जाँदैन । त्यसैले मलाई बिनासर्त रिहामात्र होइन, अहिलेसम्मको सभामुखको तलब–भत्ता र क्षतिपूर्ति चाहिन्छ । म कागज गरेर त छुट्दिन, बरू मृत्युपत्रमा सही गरिदिन्छु ।”

किसुनजी भन्नुहुन्थ्यो, मलाई बीपीले पार्टी अध्यक्ष बनाउनु भयो, गणेशमानजीले प्रधानमन्त्री बनाउनु भयो । बीपीले चाहेको भए गिरिजाबाबुलाई पार्टी अध्यक्ष बनाएपनि हामी उहाँको खिलाफमा मोर्चा कसेर हिँड्ने थिएनौं । तर उहाँले त्यसो गर्नुभएन । २०३६ सालको जनमत संग्रहपछि उहाँले तत्कालीन पार्टी महामन्त्री परशुनारायण चौधरीलाई बहुदलीय ब्यवस्थाको उत्तराधिकारी प्रधानमन्त्री भनी प्रस्तावित गर्नुभयो । उहाँहरू दुवैको अनुकम्पा ममाथि छ । उहाँहरू र म समकालीन हौं तर उहाँहरू मेरा आदरणीय नेता हुनुहुन्छ ।

हुनपनि किसुनजीले २०१५ सालको चुनाव आफ्नै लापरवाही र किञ्चित ‘छाडा’ ब्यवहारले गर्दा हार्नुभयो । तर हारेका किसुनजीलाई जननिर्वाचित प्रतिनिधिसभाको सभामुख बनाउने काममा बीपी कोइरालाको विशेष भूमिका थियो । सभामुखका रूपमा किसुनजीको कार्यसम्पादन, संसदमा निष्पक्षता, बौद्धिकता आदि गुणले पूर्णसफल सभामुखका रूपमा रह्यो । २०१७ सालमा उहाँलाई पनि पक्रेर जेल हाल्दा राजालाई उहाँको प्रश्न थियो, “म सरकारमा बसेको मानिस होइन ।

सबैको साझा सभामुख थिएँ । तर मेरो अपराध के थियो ? के सभामुख हुनु नै अपराध हो ? राजाले यसको जवाफ दिनुपर्छ । प्रतिनिधिसभा विघटन गरेपनि अर्को चुनाब नभएसम्म सभामुखको ओहोदा जाँदैन । त्यसैले मलाई बिनासर्त रिहामात्र होइन, अहिलेसम्मको सभामुखको तलब–भत्ता र क्षतिपूर्ति चाहिन्छ । म कागज गरेर त छुट्दिन, बरू मृत्युपत्रमा सही गरिदिन्छु ।”

कसैकसैले हिजोआज भनेको पढिन्छ, “किसुनजी त कहिल्यै नरिसाउने मान्छे !” तर उहाँ रिसाउनु पनि हुन्थ्यो भनी सत्य बोल्दा के बिग्रन्थ्यो ? उहाँले कतिपटक सभाका सहभागी कार्यकर्तालाई “घोक्राएर निकालिदिन्छु” भनेको, ‘मु…’ जस्ता शब्दले गाली गरेको, धोती फुकालेर देखाइदिएको जस्ता उहाँका मौलिक कमजोरी, जसले पार्टी र देशका काममा कहिल्यै अप्ठ्यारोमा पारेनन्, परन्तु त्यस्ता पक्ष उहाँका स्वभावसँग अभिन्न भएर अङ्कित भइसकेका छन् । जगजाहेर ती कुरालाई किन लुकाउने ? तर किसुनजीले जसलाई गाली गर्नुहुन्थ्यो, उसका लागि त्यो गाली नै वरदान सावित हुने गरेको यथार्थ पनि अविष्मरणीय छ ।

किसुनजीको सार्वजनिक जीवनमा रक्सी एउटा विवादको विषयका रूपमा आएको छ । उहाँका महानतालाई रक्सीले अवमूल्यन गर्न खोजेको छ । २०५३ सालको एक साँझ नेपाल टीभीको अन्तवार्तामा उहाँले यस प्रसङ्गमा भन्नुभयो, “मलाई हप्तामा दुई बोतल रक्सी चाहिन्छ । मसँग पैसा हुँदैन । रक्सी खाने पैसाकै लागि पनि मलाई सांसद हुनुपरेको छ । म रक्सी पिउँछु । मैले सुजाता कोइरालादेखि बडबडे मानिससँग बसेर पनि रक्सी खाएको छु ।…….” जतिसुकै आफैंलाई ब्यङ्ग्य गरेको भएपनि उहाँले यसो बोल्नु आफ्नै बेइज्जती गर्नु र कांग्रेसका नेताको चरित्र भनी जोरीपारीलाई काखी बजाउने मौका दिनु हो ।

यी सबका बाबजुद किसुनजी दक्षिण एशियाकै राजनीतिमा सबभन्दा त्यागी र इमानदार नेताका रूपमा आउनुहुन्छ । उहाँका कमजोरीजन्य स्वभाव र आनीबानीलाई बिर्सिदिउँ । किनकि उहाँका योगदानका अगाडि ती सबै खोटहरू इतिहासका लागि क्षम्य छन् । उहाँको सबभन्दा ठूलो योगदान भनेको नेपालको प्रजातान्त्रिक आन्दोलनको मसाललाई देशभित्रै दियोका रूपमा जोगाएर राख्न उहाँले गरेको संघर्ष र योगदानप्रति सबै नतमस्तक हुनैपर्छ ।

वीपी, गणेशमानजी, सुवर्णजीजस्ता मूर्धन्य नेताहरू निर्वासनमा गएर देशभित्र परिवर्तन गर्ने प्रयत्नमा लाग्दा उहाँले देश छोडेर आफू कतै नजाने दृढ अठोट लिनुभयो । स्वच्छ छवि, सादगी, उच्च विचार, आत्म विश्वास र सिद्धान्त र मूल्यको राजनीतिलाई तिलाञ्जली नदिने दृढनिश्चयी राजनेताका रूपमा समकालिन र भावी पुस्ताका साथै इतिहासले उहाँलाई सदैव श्रद्धाका साथ सम्झिरहने छ ।