प्रदेश नं. २ को सरकारलाई खुल्ला प्रश्न
  • चन्द्रभुषण साह
  • शनिबार, चैत्र २३, २०७५
  • काठमाडौँ

माननीय मुख्यमन्त्रीज्यू, अभिवादन १
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
जनकपुरधाम, प्रदेश नं. २, नेपाल

विषय : परिस्थितिजन्य पीडितको पीडा र प्रश्न सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा केही दिनअगाडि (१७ गते चैत, ३१ मार्च आइतबारको साँझ) आएको विनासकारी आंधी-हुरीबाट व्यापक जनधनको क्षति भई पीडितहरुको जनजीवन अझै कष्टमै रहेको अवस्था सर्वविदितै छ । जनताको प्रश्न गर्न पाउने अधिकारलाई लोकतन्त्रको सुन्दर गहनाको रुपमा लिइन्छ भन्ने विश्वासका साथ बारा र पर्सा जिल्लाका पीडितहरुको तर्फबाट प्रदेश सरकार र मुख्यमन्त्रीजी लाई निम्नलिखित प्रश्न गर्न चाहन्छु ।

१. सम्भाव्य महामारीको प्रकोपबाट जोगिन पीडितहरुको न्यूनतम स्वास्थ्य र सरसफाईका लागि शौचालय निर्माण, खानेपानीको व्यवस्था, लामखुट्टे नियन्त्रण, सेनेटरी प्याड, मेडिकल किट, फोहरमैला व्यवस्थापन जस्ता न्यूनतम कार्यहरु कसले गर्ने ?

२. पीडितहरुको वास्तविक तथ्यांक सङ्कलन एवं सार्वजनिकीकरण कसले र कहिले गर्ने ?

३. पीडित घाइतेहरुको उपचारको अवस्था र लागत (खर्च)बारे के भैरहेको छ, यसको उचित व्यवस्थापन र जानकारी कसले दिने ?

४. शक्तिकेन्द्रलाई रिझाउन करोडौँको तामझाम र छपन्न व्यंजनको भोज गर्न सक्ने प्रदेस सरकार अहिले बिचल्लीमा परेका पीडितहरुका लागि ठोस व्यवस्थापन नहुँदासम्म खानपिनका लागि मेसको व्यवस्थित व्यवस्थापन गर्न सक्षम छ कि असक्षम ?

५. नगद र चेक सङ्कलनका लागि खाता सार्वजनिक गरेको प्रदेश सरकारले केही ठाउँमा मात्र थुप्रिएको राहत सामग्री आवश्यक ठाउँमा व्यवस्थित तरिकाले समान वितरण गर्न सक्छ कि सक्दैन ?

६. आफ्ना लठैत पाल्न विभिन्न एनजीओ र उपभोक्ताको नाममा करोडौँ स्वाहा गर्न, पदीय मर्यादा र गरिमाको ख्यालै नगरी अभद्र र बागी व्यवहारको जात्रा देखाउन सक्ने प्रदेशका मन्त्रीज्यूहरुलाई निमुखा, घरबारविहीन बिचल्लीमा परेका पीडित जनताको हितमा ठोस कदम चाल्न बाधा कसले पुऱ्याएको छ ?

७. के प्रदेश सरकार भन्नलाई मात्र हो कि जनताको हितमा केही गर्नलाई पनि हो ?

यी र यस्ता प्रश्नहरुको जवाफ नआएसम्म आफुलाई संसारकै सबैभन्दा खतरानाक, इमान्दार र कर्तव्यनिष्ट घोषणा गर्नुको कुनै तुक हुनेछैन । त्यसकारण यी परिस्थितिजन्य पीडा र प्रश्नहरुलाई चुनौती भन्दा पनि जनसेवाको अवसरको रुपमा सदुपयोग गर्न, अहिलेबाट नै युद्धस्तरमा आफ्नो भूमिकाको उचित पहिचान गरी तदारुकताका साथ आफ्नो कार्यमा लाग्न अनुरोध गर्दछु । धन्यवाद ।

अनुरोधकर्ता

चन्द्रभुषण साह [email protected]
२०७५/१२/२३ गते शनिबार