Logo

न कर्म, न धर्म, न शर्म



महाभारत सकिएपछि पाण्डवका पक्षमा सत्ताको बाटो सोझियो । जनताले सुशासनको सपना देख्न थाले । सत्यपथमा राजनीति गएपछि समृद्ध राज्यको परिकल्पना जो कसैका लागि अपेक्षित थियो । तर समयलाई यी एजेण्डा मन्जुर भएन । सत्ता र शक्तिको मुखमा पुगेका पाण्डवहरुमा एकाएक वैराग्य उत्पन्न भयो । लडाईंमा सहादत प्राप्त कर्ण सहोदर भाइ भएको रहस्य खोल्दै कुन्तीले उसको अन्त्येष्टि विधिपूर्वक गर्न आदेश दिएपछि सुरवीर मानिएका पाण्डव दाजुभाइको धैर्य टुट्यो ।

आफ्नै भाइविरुद्ध लड्नुपरेकोमा पश्चाताप गर्न थाले । महाभारत युद्धका डिजाइनर कृष्णमा समेत निस्क्रियता बढ्यो । राजनीतिभन्दा पनि मुक्तिमार्गमा उनको रुचि देखिन थाल्यो । आखिर महाभारतमा भएको त्यो ध्वंसले उचित निकास पाएन । महत्वाकांक्षी शक्ति संघर्ष अल्पविरामै टुंगियो ।

केपी ओली विरुद्ध सोझ्याइएको वाणपछि प्राप्त उपलब्धिले पनि महाभारतकै नियति खेप्ने त होइन भन्ने खतरा बढेको छ । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरिदिएपछि राजनीतिक रोडम्यापको खाका अनिश्चित बनेको छ । गणतन्त्रको बीउ रोप्ने संसद पुनस्र्थापनाको घोषणा तात्कालिन राजा ज्ञानेन्द्रबाट गरिएको थियो । यी सम्पूर्ण कर्म राजालाई समेत उचित स्थान दिने सहमतिमा तमाम भएको हो । त्यो सहमतिको मसी सुक्न नपाउँदै राजालाई घोक्रेठ्याक लगाएर दलहरु स्वार्थको रोटी सेकाउन मस्त भए । नेपाली कांग्रेस र एमाले माओवादीका साक्षी किनार भएर ल्याप्चे लाउन केन्द्रित भए ।

दोस्रो जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्राध्यक्षको चारो मिल्काइयो । शक्तिको छिनाझम्टीमा जनताको नाना, खाना र छानाका विषयले प्राथमिकता पाएनन् । व्यवस्था फेरियो, अवस्था उही रह्यो । नेताको आवरण फेरियो, आचरण फेरिएन् । गणतन्त्रमा पञ्चायतका दृश्य देखिए । नेताहरुका गतिविधिमा राजारजौटाको छाप पुनरावृत्ति भयो । नेतृत्वको इमानमा नभएर चुनावमा प्राप्त अंकगणितको बलमा राज्यसंयन्त्र ध्वस्त गर्ने काममा प्रतिस्पर्धा चल्यो । नेताहरु सत्तामा पुग्नु लोकतन्त्र, बहिर्गमन हुनुलाई अधिनायकवादको पगरी भिराइयो । देश व्यवस्थापन गर्न नसकेको दोष व्यवस्थालाई दिइयो ।

दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी चुनावका मुखमा कुन उद्देश्यले एकाकार भए रु दुई तिहाइ जनमत पाएर पाँच वर्षका लागि जिम्मेवारी पाएको सरकार तीन वर्ष नपुग्दै कसरी भडखालामा जाकियो रु संसद विघटन हुनुमा प्रधानमन्त्री केपी ओलीको सनक वा तीन पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको महत्वाकांक्षा कुन बढी हावी छ रु त्यसको विश्लेषण हुनु जरुरी छ ।

नेपाल सार्वभौम मुलुक भएपनि यहाँ हुने हरेक राजनीतिक उतारचढावको बाटो अन्यत्र कतै ठोकिन्छ । आधुनिक राजनीतिको प्रस्थानविन्दु २००७ सालको क्रान्तिलाई ठान्ने हो भने त्यसपछिका कुनै परिवर्तन निरपेक्ष छैनन् । पदमा लाने पनि अरु खँदार्ने पनि अरु, राजनीतिक उदय र अवसान दुवैका भाग्यदाता तेस्रो शक्ति हुने गरेको छ । एमसीसी र बीआरआईजस्ता बहसले हाम्रो राजनीतिलाई गाल्छ । त्यो भट्टीमा गालिनुको अर्थ बारे बहस गर्नेहरु नै बेखबर छन् । 

पुस ४ गते केपी ओलीले संसद विघटन गरेपछि अनेक शंका आशंकाबीच सर्वोच्च न्यायालयले संसद पुनस्र्थापन गरिदिएको छ । अब सत्ताको रथ यसरी अघि बढ्छ भनेर प्रक्षेपण गरियो भने त्यो हतारो हुन्छ । वास्तवमा केपी ओली नेतृत्वको सरकार संसद विघटन हुनुअघिकै अवस्थामा छ । सार्वजनिक खपतका लागि कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले आफूलाई अब्बल देखाउन आआफ्नो समूहको डम्फू बजाए पनि अबको राजनीतिक कोर्स सजिलो छैन् ।

यतिबेला सत्ताको बाटो आरामदायी सोफाबाट तातो तावाको मार्गमा प्रवेश गरिसकेको छ । ओलीलाई अविश्वास प्रस्ताव ल्याउने क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार दावी गरेको कागज सरकारी प्रमाणिकरणमा छ । त्यो भन्दा कठिन त के छ भने संवैधानिक निकाय निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी मात्र चिन्छ । उनीहरुको मुद्दा र सडकको भाषण चिन्दैन । नेताका कानमा हालिएका चिनी र चिराइतो उसको सरोकार हैन ।

यस अवस्थामा केपी ओलीको सरकारलाई सामान्यभन्दा सामान्य कमिलाले पनि चिलेको छैन् । पार्टी फुटेको बखतमा पनि सांसदहरुको उल्लेखनीय संख्या छ । सत्तामा जान दौरा सुरुवाल मात्र हैन, धोतीमा आइरन लगाएर ठीक परेकाहरुको हतारो पनि उत्तिक्कै छ । अवसरवादी राजनीतिज्ञका लागि अबको समय झन्झन् शुभसाइत बन्दैछ ।

प्रमुख प्रतिपक्षी कांग्रेसमा छरिएको सत्ताको चारोलाई लिएर त्यहाँ भुसमा आगो लाग्दैछ । देउवा र रामचन्द्र पौडेल समूहका आआफ्नै दाउ छन् । राज्यका शीर्षस्थानमा पुग्न नपाएका पौडेलको मनोविज्ञान र सत्तालाई महत्व दिने देउवाको महत्वाकांक्षालाई कम्युनिष्ट नेताहरुले राम्रै पढेका छन् । सत्ताले कम्युनिष्ट फुटेको दृश्य भोगेका नेपालीले भोलि सत्तामा जाने, नजाने विषयमा कांग्रेस चकनाचुर भएको  देखे भने आश्चर्य नमाने हुन्छ ।

अन्दाजै गर्न नसकिने दृश्य नेपाली राजनीतिमा स्वाभाविक बन्दै गएका छन् । भोलि दृश्य देखिएका भन्दा फरक अनपेक्षित पात्र सरकार प्रमुख बन्यो भने पनि स्वाभाविक मान्नुपर्ने अवस्था छ । यहाँको राजनीतिमा बहुमत, अल्पमतभन्दा परिस्थिति हावी हुने गरेको छ । 

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार  ४ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।