Logo

कर्पोरेट फोकस

निजी क्षेत्रको पहिलो मेडिकल कलेज ‘मणिपाल’ सवा ३ अर्बमा बिक्री



पोखरास्थित मणिपाल मेडिकल कलेज सवा ३ अर्ब रुपैयाँमा बिक्री हुने भएको छ । निजी क्षेत्रद्वारा संचालनमा ल्याइएको नेपालकै पहिलो मणिपाल मेडिकल कलेज भारतको मणिपाल समूहले बिक्री गर्ने भएको हो । भारतको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको यो मेडिकल कलेज सन् १९९४ बाट संचालनमा आएको थियो ।

कलेजको करिब सवा ३ अर्ब रुपैयाँमा खरिद बिक्री गर्ने गरी प्रारम्भिक सम्झौता भएको छ । पोखराकै दुई व्यापारिक समुह बतास अर्गनाइजेशन र अटोवेज ग्रुपले संस्थागत रुपमा मेडिकल कलेज खरिद गर्न लागेका छन् ।

कलेज तथा अस्पताल संचालनमा नेपाल सरकार र मणिपाल कर्मचारी युनियनको लगातार असहयोग रहँदै आएपछि बिक्री गर्नुपर्ने अवस्था आएको भारतीय लगानीकर्ताले जनाएका छन् । भदौ ११ गते शुक्रबार यसको खरिद-बिक्री सम्झौता हुने बतास अर्गनाईजेशनका अध्यक्ष आनन्द राज बतासले बताए ।

कलेज तथा अस्पताल खरिदमा बतास अर्गनाइजेशनको ६० प्रतिशत र अटोवेज ग्रुपको ४० प्रतिशत लगानी रहने जनाइएको छ । भवन-संरचनासहित आफ्नै स्वामित्वमा ४० रोपनी र १०० रोपनी जमिन भाडामा लिएर अस्पताल तथा कलेज संचालन भइरहेको छ ।

७५० शय्याको अस्पताल र मेडिकल कलेज दुवैमा गरी ११ सय जना भन्दा बढी कार्यरत छन् । मेडिकल कलेजसँग वार्षिक १ सय जनालाई एमबीबीएस पढाउने अनुमति छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १४:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।