स्काई मास्टर नाम गरेको फ्लाईङ बोटमा मस्तसंग सुतेर आएको त ज्यूमा अलिकति चिसिन थालेपछि बल्ल बिउँझे । यसो घडी हेर्छु त बिहानको साढेसात बजिराखेको । अष्ट्रेलियाको सिडनी शहरबाट ७, ८ घण्टा नन्स्टप उडान भैसकेको रहेछ । सूचना पनि प्रसारित हुन थाल्यो-‘प्रिय मित्रहरु, हामी न्यूजिल्याण्ड आइपुग्यौं । एकछिनपछि राजधानी बेलिङ्गटन शहरको पोर्टमा हामी उत्रने छौं । तपाईंहरु तयार हुनुहोस् ।’ अष्ट्रेलिया महाद्वीपबाट दक्षिणपूर्व हान्दै १२ सय माइल पर आइपुगिसकेको पत्तो नै भएन ।
सबैजना झ्यालको पर्दा खोल्न लागें । मैले पनि पर्दा खोलें । झ्यालबाट यसो हेर्छु त पानी परिरहेको छ । हवाईजहाज बादलको तहबाट निकै तल ओर्लिसकेको रहेछ । समुद्री किनारमा लम्पसार परिरहेको बेलिङ्गटन शहर आमुन्नेसामुन्ने देखा पर्न थाल्यो । फ्लाईङ्ग बोटले अनन्त सागरको सतह छोयो र त्यो पानीकै बाटो भएर विस्तारै बन्दरगाहतिर रोक्किन पुग्यो । झ्यालबाट फेरि यसो हेरेको त अलि पर हजारौं मानिसहरुको ताँती देखें ।
म आफ्नो दौरासुरुवालमै थिएँ । त्यसमा त झन् शिरमा भादगाउँले टोपी लाउनेवित्तिकै नै नेपाली राष्ट्रियताले छोपिहाल्यो । दायाँबायाँका यात्रुहरुले मलाई हेर्न लागे ।
एकजना स्टुवार्डले त आएर सोधिहाले– ‘तपाईं कुन देशको नागरिक हुनुहुन्छ क्यारे ?’ मैले बडो फूर्तिसाथ जवाफ दिएँ-नेपालको । त्यो स्टुवार्ड अष्ट्रेलियाको नागरिक रहेछ क्यारे, उनले मसंग अरु बढी प्रश्न गरेनन् । अनि सबजना बाहिर निस्कनै हतारिन थाले । तर यहाँ पनि हवाईजहाजको ढोका खोल्नेवित्तिक्कै नै कीटनाशक औषधी छर्कने मानिसहरु भित्र पे । यात्रुहरुले बाहिरबाट रोगका कीटाणुहरु बोकेर ल्याएको भए त्यसलाई नियन्त्रण गर्न त्यसो गरेको रहेछ ।
बाहिर निस्कँदा, हवाईजहाजसंग जोडिराखेको फल्याकको धुले पुलले जमिन जोडिराखेको देखें । यात्रुहरु लाममा बसे । मचाहिँ लाममा बीचमा परें । पानी परिरहेकै थियो । मलाई त जाडोले टिपि नै हाल्यो । वरिपरि हेरें, संगै आएका यात्रुहरु मात्र होइन, त्यहाँ आएका र देखापरेका सबै मान्छेहरुले वाटर प्रूफ ओभरकोट लाइरहेको देखें । आफूचाहिँ एकसरो कोटमा परें । हुन त आफ्नो पनि एउटा पुरानो ढब्बू ओभरकोट त थियो नै तर जेठ महिनाको प्रचण्ड घाममा घरबाट निस्केको हुनाले त्यसको सम्झना नै गरिएन । अनि सम्झें आफूले टिपिराखेका कुराहरु बेलायतमा रात परेको भए न्यूजिल्याण्डमा दिउँसो घाम लाग्ने, नेपालमा गृष्म ऋतु भए, न्यूजिल्याण्डमा शिशिर ऋतु हुने । अनि जसै दक्षिणी प्रशान्त महासागरमा तासमायन समुद्री किनाराको पानीले घेरिएको समुद्री सतहको विन्दुमा टेक्ने मेरो पालो आयो, मलाई अनायास काठमाडौं उपत्यका समुद्री सतहदेखि ४५ सय फीट उच्चा पर्दछ भन्ने कुरा सम्झना भयो । मलाई हिमालको चुचुरोबाट सागरमा ओर्लन पुगेको अनुभव हुनथाल्यो ।
यत्तिक्कैमा एक जना भलाद्मी मान्छेले मसंग आएर सोधे– ‘एक्स क्यूज मी, नेपालबाट पाल्नुभएको जोशी यहाँ नै हुनुहुन्छ कि ?’ म आफ्नै विचारमा लागेको थिएँ, अनि उनलाई जवाफ दिएँ– ‘हो जोशी म नै हुँ ।’ अनि त्यो भलाद्मी मानिसले मसंग हात मिलाउँदै भने– ‘म तपाईंलाई नै स्वागत गर्न वैदेशिक मामिला विभागबाट खटिएर आएको हुँ ।’ उनले फेरि परिचयपत्र दिँदै भने– ‘मेरो नाम ईबी वेव्स्टर । यतिकैमा वरपरका अरु यात्रुहरुले मलाई नियालेर हेर्न लागे । म त्यस नौलो देशमा खुट्टा टेक्ने नेपाली मान्छे, मलाई त्यहाँ के गरुँ, के भनूँ जस्तो भयो । त्यसपछि मिस्टर मिस्टर वेब्स्टरले मेरो पासपोर्ट, हेल्थ सर्टिफिकेट मागे । मैले उनलाई मागेका सबै कागजपत्रहरु बुझाइदिएँ । उनले मलाई भने– ‘मिस्टर जोशी, तपाईं एकछिन यतै बस्नुस् । म कागजपत्रको सबै औपचारिकता पुर्याएर आउँछु ।’ मैले उनलाई ‘हवस’ भनें । यात्रुहरु हातमा पासपोर्ट बोक्दै लाममा बस्न लागे । मचाहिँ मि. वेबस्टरलाई पर्खेर बसें ।
एकछिनपछि मिस्टर वेबस्टर फर्केर आउनुभयो । उहाँले मलाई भीआईपी कोठामा लैजानुभयो । त्यहाँ त थुप्रै प्रेसम्यानहरु बसिरहेका रहेछन् । मनमनै विचार उठ्यो– ‘हैन, यहाँ मलाई मात्र यसरी किन ल्याएका होलान् । नेपालबाट आउने नौलो मान्छे भएर हो कि त !’ मिस्टर वेबस्टरले हर्षित भावमा प्रेसम्यानहरुलाई मेरो परिचय दिँदै भन्नुभयो– ‘भलाद्मीहरु हो, हाम्रो देशका सर एडमण्ड हिलारीका साथमा माउन्ट एभरेस्टको टाकुरामा पुग्ने सेर्पा तेन्जिङ नोर्गेका गाउँले साथी यहाँ नै हुनुहुन्छ, उहाँको शुभनाम हो– जोशी । पूरा नाम सत्यमोहन जोशी । उहाँ हाम्रो देशमा टीए यूनिटबाट छात्रवृत्ति प्राप्त गरी तथ्यांक विषयमा तालिम लिन आउनु भएको ।’ मिस्टर वेबस्टर बोल्दै थिए, प्रेसम्यानहरुले क्यामरा चलाउन थाले । मेरा आँखा नै तिर्मिराउन थाले । अनि त के प्रश्नहरु वर्षन थाले । एकजना अधवैंसे आईमाईले सोधिन– ‘मिस्टर जोशी, हिलारी र तेन्जिङ्गले माउन्ट एभरेस्ट विजय गरेको खबर तपाईंले कहाँ कुनबेला सुन्नुभयो ? त्यो खबर सुन्दा तपाईंलाई कस्तो लाग्यो ?’ त्यस प्रश्नले एकछिन त मलाई अलमलायो पनि । मैले ती प्रश्न सोध्ने भएकी आइमाईलाई जवाफ दिएँ– ‘म यता आउन घरबाट निस्किसकेको थिएँ । कलकत्तामा अमृतबजार पत्रिकामा ‘एडमण्ड हिलारी र तेन्जिङ नोर्गे सेर्पा विश्वको सर्वोच्च माउन्ट एभरेस्टको चुचुरोमा’ भन्ने खबर छापिएको रहेछ । आफ्नो देशको मान्छे पनि विश्वको सर्वोच्च हिम शिखरमा पुगेको समाचार सुन्दा आफूलाई हुनसम्म खुशी नै लाग्यो ।’
यत्तिकैमा फेरि अर्को एकजना प्रेसम्यानले प्रश्न गरे– ‘सर एडमण्ड हिलारी न्यूजिल्याण्डर भन्ने कुरा तपाईंलाई थाहा थियो कि थिएन ?’ म निकै अकमकिएँ । ढाँट्ने कुरा चाहिँ भएन । आफूले बुझेको कुरो भनें– ‘अहँ, मलाई थाहा छैन ।’ मैले फेरि सच्याएर बोलें– ‘उनी त इंगलीसम्यान हो क्यारे, हैन र ?’ मेरा कुरा सुनेर प्रेसम्यानहरु हाँसे । वास्तवमा कुरा के रहेछ भने, त्यो न्यूजिलायण्ड भन्ने मुलुक कमनवेल्थ कन्ट्रोल अन्तर्गत ब्रिटिश साम्राज्यभित्रै पर्दोरहेछ, अनि एडमण्ड हिलारी न्यूजिलायण्डरै भए पनि ब्रिटिश साम्राज्यकै नागरिकसरह रहेछन् । त्यसपछि अरुहरुले पनि मसंग थुप्रै प्रश्न गरे । मैले पनि आफ्नो देश नेपाल र नेपालीको प्रतिष्ठा रहने गरी सोधिए जति प्रश्नहरुको पटापट बुद्धि पुर्याएर दिएँ । वास्तवमा बेलायतकी महारानी राजश्री एलिजावेथ द्वितीया कमनवेल्थ कन्ट्री न्यूजिल्याण्डका पनि राजश्री महारानी होइबक्सँदोरहेछ । त्यसैले राजश्री महारानीकै शुभराज्याभिषेकको दिन पारेर अर्थात सन् १९५३ मे महिनाको २९ तारिखकै दिन पारेर विश्वको सर्वोच्च माउन्ट एभरेस्टको चुचुरोमा सर्वप्रथम विजय गर्ने एउटा मूल लक्ष्य पनि रहेछ । अनि बेलायतका सर जोन हन्टको नेतृत्वमा ब्रिटिस पर्वतारोही दलमा न्यूजिलायण्डका एडमण्ड हिलारी पनि रहेछन् । न्यूजिलायण्डका एडमण्ड हिलारी र नेपालको सोलुखुम्बु निवासी तेन्जिङ नोर्गे सेर्पा एकैसाथ विश्वको सवोच्च माउन्ट एभरेस्टको चुचुरोमा सर्वप्रथम पुग्न योजनामुताविक सफल भएकोमा न्यूजिलायण्डमा शुभराज्याभिषेक समारोह माउन्ट एभरेस्टमा सर्वप्रथम विजय प्राप्त भएका समारोहका क्रमहरु चालू भैराखेका रहेछन् ।
विभिन्न संवाददाताहरुसंग भएको प्रेसवार्ता समाप्त भएपछि मिस्टर वेबस्टरले मेरो सुटकेश बोक्नुभयो । । मलाई भने लाज लाग्यो । अनि मैले आफैंले आफ्नो सुटकेश बोक्न खोजें तर उहाँले भन्नुभयो– ‘तपाईं माउन्ट एभरेस्ट भएको देश नेपालबाट आउनुभएका हाम्रा आदरणीय पाहुना ।’
वरिपरि हेरें । त्यहाँ त कुल्लीलाई माल बोकाउने चल नै रहेनछ । सबैजना आफ्ना आफ्ना सुटकेश आफैं बोक्दा रहेछन् । एउटा कुरा चाहिँ मिस्टर वेबस्टरले सनाइहाल्नुभयो– ‘मिस्टर, जोशी तपाईंलाई यहाँको जाडोले निकै ठिहिर्याएजस्तो छ । सुटकेश खोल्ने हो कि त ?’ अनि उहाँको भनाइको तात्पर्य बुझेर मैले जवाफ दिएँ– ‘मैले ओभरकोट नै ल्याउन बिर्सें ।’ उहाँ एकछिन हाँस्नुभयो अनि उहाँले भन्नुभयो– ‘हिमालय जाडो भएपनि हिमालयमुन्तिरको तपाईंहरुकहाँ गाउँघर, शहरमा त यतिबेला गर्मी याम नै हुन्छ क्यारे । तर यहाँ हाम्रो यतिबेला पानी पर्ने जाडोको याम । तपाईंलाई पानीले पनि नछुने, जाडो पनि नहुने ओभरकोटको अति आवश्यकता छ ।’ यति भनेर उहाँले आफ्नो ग्याबरडिनको ओभरकोट ओल्टाइपल्टाई देखाउनु भयो । त्यो ओभरकोट त पानी र जाडो दुवैलाई हुने रहेछ । अनि मैले उहाँसंग भने– ‘मि. वेबस्टर, मैले तपाईंको कुरा बुझें ।’
मिस्टर वेबस्टरले मलाई उहाँकै मोटरमा राखेर वेलिङ्गटन शहरको मध्य भागमा अवस्थित रिजेन्ट होटलमा ल्याइपुर्याउनुभयो । होटेल भव्य रहेछ , बाथरुम, बैठक सब जोडिएको, सबतिर वातानुकूलित । मलाई त एउटा सानो होटेलमा बस्न पाए पनि हुने भन्ने लघुताभासले छोयो । तर मिस्टर वेबस्टरलाई केही नभनीकनै बसें । उहाँ मलाई दिउँसोको खानाको लागि बोलाउन आउनुभयो । एउटै टेबिलमा हामी लन्च खान बस्यौं । नौलो मानिस देखेर लन्च खान आएका अरु मानिस मलाई हेर्न थाले । मचाहिँ आफ्नै लबेदासुरुवाल र भादगाउँले टोपीमै थिएँ । मि. वेबस्टरले कुरा उठाउनुभयो– ‘मिस्टर जोशी, न्यूजिलायण्ड फ्रिलायन्स पत्रिकाका सम्पादकले तपाईंलाई भरे ५ बजे भेटन आउने भनेर फोन गरेका छन् । नोट गर्नुहोला ।’ हुन्छ भन्दै मैले पकेटबुकमा नोट गरें । त्यो दिन डिनर खाने समय हुनेबित्तिक्कै म तल लाउञ्जमा ओर्लें र मिस्टर वेबस्टरको प्रतीक्षामा बसें । ठीक समयमा मिस्टर वेबस्टर आफ्नो श्रीमतीसाथ आइपुग्नुभयो । उहाँले आफ्नी श्रीमतीसंग मेरो परिचय गराउनुभयो अनि आफूले हातमा बोकेर ल्याएको ‘इभिनिङ्ग न्यूज’ पत्रिका मलाई दिनुभयो । पत्रिका पल्टाउँदा अग्रपृष्ठमा मेरै तस्वीर र खबर छापिएको रहेछ । पत्रिकामा छापिएको समाचारको सार यस्तो थियो– ‘सगरमाथा चढ्नमा तेन्जिङ सेर्पाले देखाएको बहादुरीको निमित्त नेपाल अति गौरवान्वित हुन पाएको छ भन्ने उद्गार सिडनीबाट आज यहाँ आइपुगेका सत्यमोहन जोशीले व्यक्त गर्नुभएको हो । उहाँ एभरेस्टको टाकुरामा पुग्ने सेर्पा तेन्जिङकै मुलुकका एकजना गाउँले मान्छे हुनुहुँदोरहेछ । काठमाडौंबाट न्यूजिल्याण्ड आउन लाग्नु हुँदा कलकत्तामा उहाँले ‘एभरेस्टको चुचुरोमा विजय’ गरेको खबर सुन्नुभएको रे, अनि यो वर्ष तेन्जिङ सेर्पा एभरेस्टको चुचुरोमा अवश्य पुग्छ नै भन्ने विश्वास नेपाली जनतामा थियो रे । उहाँको भनाइअनुसार तेन्जिङले गर्दा नेपाल गौरवान्वित हुन पाएको छ रे…।’
त्यसबेला आफ्नो बारेको खबर पढ्दै जाँदा एउटा गल्ती चाहिँ मलाई महसूस भइहाल्यो । हो, म त्यसबेला ‘कलाकार’ सम्पादक र प्रकाशक पनि थिएँ । तर त्यो पत्रिका पाक्षिक थिएन, बरु त्रैमासिक थियो । म दोधारमा परें– भूल गरिसकेको कुरो प्रकाशमा ल्याउँ वा नल्याउँ । तर मनमा कुरा उसै खेलाइराख्नु भएन भनी मिस्टर वेबस्टारलाई आफ्नो गल्ती बताएँ । उहाँले हाँस्दै भन्नुभयो– ‘मिस्टर जोशी, सानातिना कुरामा चिन्तित नहुनुहोस । अब यहाँ तपाईंका लागि मुख्य विषयवस्तु माउन्ट एभरेस्ट, नेपाल, नेपाली र तेन्जिङ नोर्गे सेर्पा हुनेछन् ।’ त्यसपछि एउटा गोल टेबिलमा बसेर हामी डिनर खान थाल्यौं ।
त्यसबेला श्रीमती वेबस्टरले मसंग नेपाली खाना, नेपाली रहनसहन र थितिरीतिका बारेमा धेरै प्रश्न गरिन । उनले नेपाली महिलाका विषयमा पनि अनेक जिज्ञासापूर्ण प्रश्नहरु उठाइन । मैले आफूले जानेका कुरा एक एक गरी बताइदिएँ । त्यसदिन राती अबेरसम्म मलाई निद्रा परेन । उही एउटा कुरा मनमा खेलिरह्यो– ‘न्यूजिल्याण्डमा खुट्टा टेक्नेबित्तिक्कै नै मलाई कस्तो काकताली पर्न आएको । यस्तो होला भन्ने कुरो त मैले कहिल्यै सपनामा पनि चिताएको थिइनँ । अझ के के हुने हो क्यारे ।’
प्रतिक्रिया