Logo

महाशिवरात्रीको महिमा



आज महाशिवरात्री । देवाधिदेव महादेवको आराधना गर्ने पर्व । व्रतहरुमा महाशिवरात्री व्रतश्रेष्ठ छ । व्रतहरुको राजा पर्व महाशिवरात्री हो । भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट भएको रात्रि नै महाशिवरात्रि हो । हिन्दु धर्म शास्त्र अनुसार यस व्रत र दिनकोे महत्व तथा विशेषता अत्यन्त ठूलो छ । शिवरात्रीका दिन भगवान शिवलाई दूध, बेलपत्र वा जलमात्रै पनि अर्पण गर्नाले ठूलो पुण्य मिल्छ ।

भगवान शिवको लिंगमा शुद्ध जल, गाईको दूध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुने धर्मगुरु व्यासाचार्य किशोर गौतमले अनलाइनपानलाई बताए । उनी भन्छन –‘ देवहरुमा श्रेष्ठ देवेश्वर नै भगवान महेश्वर अर्थात शिव हुनुहुन्छ, कल्याणकारक शिवको आराधना गर्दा अनन्त फल प्राप्ति हुन्छ । फेरि जलधारा प्रिय शिवः अर्थत शिव भगवान त जलधारा रुचाउनुहन्छ उहाँको पुजनले जीवनभर दुःख निवृत्त भई नित्य सुख आनन्द प्राप्ति हुन्छ ।’

शिवको अर्थ कल्याण हो । सारा जगत्को कल्याण सम्पूर्ण विश्वको कल्याण । कल्याणहेतु नै भगवान शिवले समुद्रमन्थन गर्दा निस्किएको कालकुट विष सेवन गर्नुभएको थियो । देवहरुको देव महादेवबारे भनिएको छ –‘वेदः शिवः शिवो वेद’ अर्थात् वेद नै शिव हो शिव नै वेद हो ।

भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट हुनु भएको रात्रि नै महाशिवरात्रि हो ।  भगवान शिवले ज्योतिर्लिंग स्वरुपमा सम्पूर्ण देवी देवतादेखि विश्व जगतलाई दर्शन दिनुभएको कारण नै आज साराले भगवान शिव सम्झिएका हुन । व्यासाचार्य गौतम भन्छन – ‘भगवान विष्णु, ब्रह्मादेखि शुक्र वृहस्पति लगायत इन्द्रादि दश दिक्पाल आजको रात्रिमा भगवान शिवको आराधना गर्न आउँछन ।

सबै ग्रह पनि आजको दिन भगवान शिवको पाउमा पर्छन । ’ ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभीष्टतम पदार्थको प्राप्ति हुन्छ । अर्कोतर्फ शिवरात्रिमा उत्पन्न हुने किरणको छेउछाउमात्र परे पनि महापाप नष्ट हुने स्कन्द पुराणमा उल्लेख छ । अर्कोतर्फ सनातन धर्मावलम्बीहरुका चाडपर्व रातको नामबाट नामकरण भएका चार प्रमुख पवित्र रात्रिहरु छन् ।

कालरात्रिको रुपमा नवरात्रको महाअष्टमी पर्व, मोहरात्रिको रुपमा श्री कृष्णजन्माष्टमी पर्व, सुखरात्रिको रुपमा लक्ष्मीपूजा पर्व र महाशिवरात्रि पर्व फागुन कृष्ण चतुर्दशीमा पर्ने पर्व । फागुन कृष्ण चतुर्दशीको यस दिन भगवान शिवको प्रिय दिनको रुपमा पनि लिइन्छ । यस पर्वका दिन व्रत उपवास बसी ऊँ नमः शिवाय वा नमः शिवाय यस पञ्चाक्षरी मन्त्रको जप गर्नुपर्ने व्यासाचार्य गौतम बताउँछन । उनी भन्छन – ‘ऊँ नमः शिवाय वा नमः शिवाय यति मन्त्र मात्र जप गरेपनि आजको दिनमा सर्वसिद्धि प्राप्ति हुन्छ । शिवमहापुराण, लिंग पुराणसमेतमा यसको उल्लेख गरिएकाले सबैलाई म यो मन्त्र जप्न आग्रह गर्दछु ।’

त्यसो त शिवलिंगको दर्शन वा पूजा आराधना गरिन्छ । अभिषेक गरिन्छ । लिंगपूजन वा अभिषेकबारे धर्मशास्त्रका ज्ञाता केशव आचार्य भन्छन –‘पद्मकल्पको प्रारम्भमा ब्रह्मा र विष्णुका बीचमा को भन्दा को ठूलो ? भन्ने विषयमा विवाद भयो । विवाद बढ्दै जाँदा युद्ध हुने क्रममा ब्रह्माले पाशुपत र विष्णुले माहेश्वर अस्त्र लिई युद्ध गर्न लागे । त्यसै समय दुवैका बीचमा भगवान् शंकर अनादि, अनन्त, ज्योतिर्मय स्तम्भको रुपमा प्रकट भए ।

पुराणमा भनिएको छ– ‘शिवलिंगतयोद्भूतः कोटिसूर्यसमप्रभः ।’ त्यसपछि ती दुवै अस्त्र शान्त भई त्यही ज्योतिर्लिंगमा लीन भए । यो लिंग निराकार ब्रह्मको प्रतीक हो । दुवैले त्यस लिंगको पूजा गरीसकेपछि भने– ‘हे भगवान, जब हामीले त यसको आदि र अन्तको पत्ता लगाउन सकेनौँ भने पछि मानवहरुले पूजा कसरी गर्नेछन् ? यति भनेपछि कृपानिधान भगवान् शिव द्वादश ज्योतिर्लिंगको रुपमा विभक्त भए । त्यसदिनदेखि आजसम्म ज्योतिर्लिंगको पूजा निरन्तर रुपमा चल्दै आएको छ ।’

शिवरात्रिमा पशुपतिनाथ दर्शनको प्रताप 

महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लाग्छ । तर विशेषरुपमा काठमाडौंको पशुपतिनाथमा देशविदेशबाट दर्शनार्थी आउँछन् । पशुपति नाथकै दर्शन किन गर्ने त ? राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. माधव भट्टराईका अनुसार पशुपति नाथ नेपाल राष्ट्रको दीप हो । पशुपतिनाथ पशुहरुका समस्त चराचर जगतका पति हुनुहुन्छ ।

पशुत्वभावबाट मुक्ति पशुपतिनाथको दर्शनबाट मात्रै सम्भव छ । अर्कोतर्फ ४ धाम घुमिसकेपछि पशुपतिको दर्शन गरेर मात्र तीर्थयात्रा पूरा हुन्छ । त्यसैले पनि पशुपतिकै दर्शन गर्न देशका विभिन्न स्थान र विदेशबाट पनि दर्शनार्थी आउँछन् ।’

शिव नाम एक स्वरुप अनेक

शिवको अर्थ कल्याण हो । शिव ज्ञान , त्याग, कल्याण, राम्रो, शुभ, विद्या र बुद्धिको सर्वोच्च स्थिति हो । भगवान शिव दिगम्बर, खरानी घस्ने, बाघको छाला ओढ्ने, दुःखी दरिद्रहरुका साथमा रहने नागको माला लगाउने हुनुहुन्छ । भट्टराईका अनुसार शिव आदिदेव हुनुहुन्छ । उनी भन्छन –‘ सबै वेद शिव भगवानबारे नै उल्लेख छन । उपनिषदमा शिवतत्वको चर्चा छ । आदिदेव भएकाले शिवको सृष्टिको आदेश नै भगवानले गर्नुभएको हो । ’

शिवधुनी किन ? लोकको भाषामा भगवान शिवको शरीरमा वस्त्र हुन्न । उहाँलाई जाडो हुन्छ त्यसैले राति धुनी लगाएर ताप दिइएको हो । तर धर्मशास्त्रविद भट्टराई यसलाई स्वीकार्न तयार छैनन । उनका अनुसार भगवान शिवलाई धुनी मनपर्छ ।

शिव शरीरमा खरानी घस्नुहुन्छ । दिगम्बर खरानी खस्ने भएकाले पनि धुनी जगाएर खरानी तय गरिदिइएको हो ।’ त्यसो त सोझाहरुको नाथ भएकाले नै शिवलाई भोलेनाथ भनिन्छ भने सम्पूर्ण पशुहरुको पनि नाथ भएकाले पशुपति भनिन्छ । जहाँ शिव त्यहाँ सम्पन्नता , जहाँ शिव त्यहाँ ज्ञान र प्रसन्नता , जहाँ शिव त्यहाँ सफलता र कल्याण प्राप्ति हुन्छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार ११:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।