Logo

चलचित्र पत्रकार संघ कास्कीको चौंथो साधारण सभा सम्पन्न



जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको चौंथो वार्षिक साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा सिग्देल पुरस्कृत भएका हुन् ।

उनलाई प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ताम्रपत्र, दोसल्ला, माला, अबिर र नगद सहित सम्मान गरे । लामो समय देखि पोखरामा रहेर चलचित्र क्षेत्रमा अनवरत कलम चलाएको भन्दै उनलाई नगद २५ हजार सहित सम्मान गरिएको हो ।

२०५४ सालबाट आदर्श समाज राष्ट्रिय दैनिकबाट पत्रकारिता शुरु गरेका सिग्देल चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष हुन् । उनकै नेतृत्वमा २०६० असार २२ गते चलचित्र पत्रकार संघ कास्कीको स्थापना भएको थियो । हाल उनी फेवा पोस्ट साप्ताहिकको सह सम्पादक हुन् । यस्तै, लामो समय देखि गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै चलचित्र क्षेत्रमा कलाकारिताका माध्यम पुर्याएको अतुलनिय योगदानको कदर गर्दै कलाकार प्रकाश घिमिरेलाई संघले सम्मान गरेको थियो ।

सम्मान ग्रहण गर्दै घिमिरेले चलचित्र पत्रकार संघको उज्जवल भविष्यको कामना गरे । घिमिरेले आफु चलचित्र क्षेत्रको उन्नयन र विकासमा कलाकारिताकै माध्यम अनवरत खटिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली,नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल,संचारिका समूहबाट बिमला भण्डारी, गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष भोजबहादुर गुरुङ लगायतले बोलेका थिए । संघको चौंथो साधारण सभामा २०७६ माघ २८ गतेदेखि २०७७ फागुन २९ गतेसम्मको एक वर्षको वार्षिक कार्यक्रमको प्रतिवेदनलाई अध्यक्ष अरुण गिरीले प्रस्तुत गरेका थिए ।

यस्तै सभाको बन्द सत्रमा आर्थिक प्रतिवेदनलाई कोषाध्यक्ष अर्पण तिवारीले पेश गरेका थिए । औपचारिक कार्यक्रमको संचालन सचिव प्रभु अधिकारीले गरेका थिए ।

 

प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार १५:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।