नारायण क्षेत्री,
आहा रारा गोल्डकप फुटबल प्रतियोगिता चैत तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा चैत २१ देखि २८ गते सम्म पोखरा रङ्गशालामा सञ्चालन हुने १९ औँ संस्करणको प्रतियोगितामा १ विदेशीसहित ८ टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा मनाङ मस्र्याङ्गदी क्लब, नेपाल पुलिस क्लब, थ्रिस्टार क्लब, एपीएफ क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सहारा क्लब पोखरा र अफ्रिकन रुट एसोसिएसन डउला क्यामरुन क्लबको सहभागिता रहने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए ।
क्लबका अध्यक्ष थापाले विगतका वर्षहरूमा १२ टिमको सहभागिता हुँदै आएकोमा कोरोनाका कारण यस पटक भने ८ टिमको मात्र सहभागिता रहने बताए । यसअघि १७ देखि सञ्चालन हुने भनिएको प्रतियोगिताको मिति समेत ४ दिन पछाडि धकेलिएको छ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी र १ करोड १ लाख ८१ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । हाल तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरू आश्रित छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लि.को उत्पादन रारा तयारी चाउचाउ रहेको छ । गत बर्षको विजेता मनाङ मस्र्याङ्गदी क्लब र उपविजेता नेपाल पुलिस क्लब रहेको थियो ।
प्रतिक्रिया