Logo

समाचार

अस्ट्रेलियाको तस्मानियामा ३८० बढी ह्वेलको मृत्यु



अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु भएको पछिल्ला केही दशक यता यो नै हुनसक्ने बताइएको छ । ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन । ह्वेलको यो प्रजाति तटीय क्षेत्रमा पुगेर अड्किने सम्भावना बढी हुने बताइन्छ ।

ह्वेलविज्ञहरूले गत सोमबार तस्मानिया क्षेत्रमा अलपत्र परेका ह्वेल सम्भवत अन्टार्कटिका जाने क्रममा बाटो विराएर पानीको सतह कम भएको तटीय क्षेत्रमा फसेका हुनसक्ने बताएका छन् ।  उद्धार प्रयासका बावजुद् पनि अनुकुल वातावरण नपाउँँदा तीन दिन भित्रमा यति धेरै सङ्ख्यामा ह्वेलको मृत्यु भएको छ ।

बुधवारसम्म उद्धारकर्ताहरूले ५० वटा ह्वेल बचाउन सफल भएका छन् भने थप ३० लाई बचाउन उनीहरू लागि परेका छन् ।

तास्मानियाका अधिकारीहरूले ‘प्राणी जीवित रहेसम्म’ उद्धार कार्य जारी रहने बताएका छन् । 
“पानीमा जीवितै रहँदासम्म हामीसँग आशावादी हुने अवस्था रहन्छ । तर समय बित्दै जाँदा उनीहरू झन् थकित हुनेछन्,” तास्मानियाको पार्क र वाईल्डलाईफ सर्भिसका क्षेत्रीय प्रबन्धक निक डेकाले  बताए ।

त्यसपपहिले सन् २००९ मा करिब २०० पाइलट ह्वेल बलौटे पानीमा फसेको फेला परेका थिए ।

तालिमप्राप्त ६० उद्धारकर्ताको एउटा टोलीले गोफनलगायतका विभिन्न उपकरणको सहयोगले मङ्गलवार बिहानदेखि केही ह्वेललाई कम पानी भएको ठाउँबाट गहिरो पानी भएको ठाउँतिर पुर्याउन सुरु गरेका थिए । तर शक्तिशाली छालका कारण उक्त कार्य चुनौतीपूर्ण भइरहेको उनीहरूको भनाइ छ । 

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार  २ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।