Logo

प्रमुख समाचार

अमानवीय व्यवहार गर्नेलाई कानुन बमोजिम कडा कारवाही हुन्छः गृहमन्त्री खाँण



सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका डिभिजनल इन्जिनियर राजेश कुशवाहालाई नियन्त्रणमा लिएर गरेको अमानवीय व्यवहार प्रति गृहमन्त्री बालकृष्ण खाँणले गम्भिर ध्यानाकृष्ट भएको बताएका छन् । उनले यस्तो अमानवीय व्यवहार गर्नेलाई कानुन बमोजिम कडा कारबाही गरिने प्रतिबद्धता जनाएका छन् ।

सेन्टर फर डेमोक्रेटिक इन्जीनियर्स नेपाल (सीडेन)ले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार बिहान गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको । सो क्रममा गृहमन्त्री खाँणले दोषिलाई हदैसम्मको कारबाही गरिने बताएको सिडेनका सदस्य रवीभुषण झाले बताए ।

ज्ञापनपत्रमा राष्ट्रसेवक कर्मचारीमाथि अमुक संगठनको नाममा हुलहुज्जतसहित गरिएको अमानवीय र आपराधिक क्रियाकलापमा संलग्नलाई कडा कारबाहीको माग गरिएको छ ।

राउतका कार्यकर्ताले पार्टी आन्दोलनको नाममा निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कुशवाहलाई बिहिबार कार्यालयबाट निकालेर कुटपिट गर्दै अर्धनग्न पारेर कालोमोसो दल्दै नगर परिक्रमा गराएका थिए ।

उक्त घटनाको चौतर्फि आलोचना हुनुका साथै इन्जिनियरहरुका विभिन्न संगठनहरुले आन्दोलन सुरु गरेपछि आपराधिक क्रियाकलापमा संलग्न १७ जनालाई पक्राउ गरी प्रहरीले आवश्यक कारवाहीको लागि मुद्दा दर्ता गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ०२ बजे