नेपाल सरकारद्वारा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा मनोनित १५ जना सभा सदस्यमध्ये ६ जना सभा सदस्यहरुलाई २०७७ चैत १७ गते मंगलबार सपथ ग्रहण गराएको छ । प्रज्ञा–प्रतिष्ठानको कार्यालय बालुवाटार, भाटभटेनीमा कुलपति नारायण भक्त श्रेष्ठ (रायन)ले प्राज्ञ सभासदस्यमा बाबा बस्नेत, भूमिका सुब्बा, सुनिल मास्के, शिशिर योगी, प्रदिप बमजन र लक्ष्मण गाम्नामे (लक्ष्मी प्रसाद भट्टराई) लाई सपथ ग्रहण गराउनुभएको थियो ।
सपथ ग्रहण पश्चात कुलपति रायनले सभा सदस्यहरुलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रतीक चिन्ह र परिचय पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा नव नियुक्त सभा सदस्यहरुलाई स्वागत गर्ने क्रममा कुलपति रायनले विभिन्न कारणले केही सभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम ढिला हुन पुगेपनि उहाँहरुलाई प्रज्ञा प्रतिष्ठान परिवारमा स्वागत गर्न पाउँदा हर्षित भएको र अब उनीहरुको आगन भएसँगै प्रतिष्ठानलाई पनि काम गर्ने थप उर्जा प्राप्त गरेको बताए ।
कार्यक्रममा उपकुलपति हरिहर शर्मा र सदस्य सचिव श्यामप्रकाश तमोट, प्राज्ञ परिषद् सदस्यहरु मेघराज शर्मा मञ्जुल, धीरेन्द्र प्रेमर्षि, निशा शर्मा, नमूना शर्मा, अशोक राइर्, सभा सदस्यहरु चाँदनी मल्ल, सत्यकला राई, हरि बहादुर थापा र कर्मचारीहरुको उपस्पथिति रहेको थियो ।
यस अघि २०७५ माघमा ५ जना सभा सदस्यहरुले सपथ ग्रहण गरिसकेका छन् ।
प्रतिक्रिया