Logo

अन्तर्वार्ता

“कांग्रेसलाई जनतामुखी र गतिशील बनाउन मेरो उम्मेदवारी” : आशिष शर्मा [अन्तर्वार्ता]

नेपाली कांग्रेस १४ औं महाधिवेशन : लुम्बिनी प्रदेश सदस्य पदका उम्मेदवार



नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश सदस्यमा उम्मेदवारी घोषण गर्ने क्रम बढिरहेको छ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवाहरू नेतृत्वमा आउन पर्छ भनेर युवा नेता आशिष शर्माले लुम्बिनी प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँसँग महाधिवेशनसँग सम्बन्धित रहेर अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको सम्पादित अंश :

लुम्बिनी प्रदेश अधिवेशनमा के—के भैरहेको छ ?

लुम्बिनीमा हिजो प्रदेश अधिवेशनको उद्घाटन भयो । आज मनोनयन दर्ता हुँदैछ । भोलि निर्वाचन गर्ने तयारीमा हामी लागि रहेका छौँ । पहिलेको योजना अनुसार नै प्रक्रियागत रुपमा अधिवेशन भैरहेको छ ।

तपाईँले प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाईँको मुख्य एजेण्डाहरू केके छन् ?

म यसपटक सदस्यमा बसेर कार्यसमितिको काम कारबाहीहरू हेर्न, बुझ्न र सिक्न चाहान्छु । पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा जान भूमिका खेल्ने । हाम्रो मान्छे होइन राम्रो मान्छेलाई अगाडि बढाउन सबैले साथ दिनुपर्छ । पार्टीमा जोडदाररूपमा युवाहरूको सहभागिता गराएर पार्टीलाई आगामी निर्वाचनमा सबैभन्दा राष्ट्रवादी पार्टी जनताको लोकप्रिय पार्टी बनाएर प्रस्तुत गराउने मेरो मुख्य एजेण्डा हो ।

तपाईँले लुम्बिनी प्रदेश सदस्यमा जित्ने आधारहरू के—के छन् ?

पार्टीमा २४ वर्षसम्म क्रियाशिल भएर बसियो । पार्टीलाई नजिकबाट बुझेको छु । पार्टीका गतिविधिहरू सबै अनुभव भैसकेको छ । यसले गर्दा म प्रदेशको सदस्य हुने योग्य छु । पार्टीलाई ससक्त बनाउन उम्मेदवारी दिएको हो । हामीले काम गर्न भनेर नै राजनीतिमा अगाडि आएको हो । यसपटकको निर्वाचनमा युवाहरूको साथ र अनुभवहरूको समर्थन दुबै भएकोले मैले नै जित्ने सम्भावना धेरै छ ।

लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा गुटको प्रभावले असन्तुष्टिहरू छताछुल्ल भएर नाराबाजी नै चलेको थियो । खासमा त्यहाँ भएको चै के हो ?

बाहिर हल्ला चलेको जस्तो त्यति धेरै विवाद त भएको त थिएन तर त्यसलाई पछि सहमतिमै अगाडि बढाइएको छ । केही कार्यकर्ताहरूले विवाद गर्नुभएको थियो । तर त्यो छणिक हो, समाधान भैसकेको छ । लोकतान्त्रिक पार्टीमा यस्ता बहसहरू हुनु स्वभाविक हो । बाहिर हल्ला फैलाएजस्तो त्यति धेरै असन्तुष्टिहरू प्रदेश अधिवेशनमा छैन । हाम्रोमा एमालेको जस्तो एउटा कोठामा थुनेर एक जनाले लिस्ट बनाएको जसरी नेपाली कांग्रेसले गरेन । पुर्ण रूपमा प्रजातान्त्रिक परिपाटी अपनाउँदा पक्ष र विपक्ष स्वभाविक रुपमा जन्मिन्छ । पार्टीमा यस्ता खाले असन्तुस्टी र विवादहरूलाई समाधान गर्न हामी युवाहरू अगाडि आएका हौँ ।

कांग्रेसमा हाल देखिएको विवादहरूलाई निरुत्साहित गर्न गुट—उपगुटहरूलाई पछिसम्म झाँगिएर जान नदिन तपाईँहरू जस्तो युवा नेताहरुको भूमिका के हुन्छ ?

प्रजातान्त्रिक पार्टीमा विभिन्न विचारहरू उत्पन्न हुनु, विचारको बहस हुनु त स्वभाविक हो । तर पनि यति धेरै असन्तुस्टि र अनेकता हुनु भनेको पार्टी, नेता कार्यकर्ता र देशकै लागि दुरभागय हो । पार्टीमा गुटभन्दा पनि विचार समूहहरू सृजना हुनु राम्रो हो । सिंगो पार्टीलाई नै तल्लो तहसम्म विभाजन गर्ने जुन परिपाटी छ त्यो परिपाटीलाई हामी रोक्छौँ । हाल पार्टीमा धेरै मात्रामा नयाँ विचारहरू आएको छ । यसले पार्टीलाई बलियो बनाउने विश्वास हामीले लिएका छौँ ।

लुम्बिनी प्रदेश अधिवेशनमा युवाहरूको सहभागिता कति छ ?

हाम्रो प्रदेशको अधिवेशनमा लगभग ४० प्रतिशत युवाहरूको सहभागिता छ । नेपाली कांग्रेसको हालको स्थितिलाई सुधार्न पार्टीलाई गतिसिल र परिवर्तनसिल बनाउन युवाहरू एकदमै उत्साहित भएर पालिका तहदेखि नै राम्रो सहभागिताका साथ अगाडि आउनुभएको छ ।

पार्टीको नेतृत्वमा र पदाधिकारीहरूमा युवाहरूले जित्ने सम्भावना कति छ ?

यसमा धेरै नै सम्भावना छ । पदाधिकारीमा पदहरू पनि धेरै छ, त्यस हिसाबले पनि युवाहरू आउने सम्भावना धेरै छ । पार्टीलाई समय अनुसारको बनाउन पनि युवाहरुले पदाधिकारी र नेतृत्वमै पनि जित्न आवश्यक छ । यसपटक पार्टीले नयाँ नेतृत्व पाउने सम्भावना बलियो छ । हाल कांग्रेस गतिविहीन भएको छ । युवा नेतृत्व आएमा नेपाली कांग्रेसलाई क्रियाशिल बनाएर लैजाने हामीले अपेक्षा गरेका छौँ ।

कांग्रेसको अधिवेशनमा सुरुदेखि नै विवाद धेरै देखिएको छ । यसले आउने निर्वाचनमा असर गर्ने भयो नि ?

निवाचनलाई यस्तो विवादले असर त अवश्य गर्छ । यस्तो विवादहरू रह्यो भने कांग्रेसलाई जनताले त्यही हिसाबले बुझ्छ । त्यसो हुनाले हामी जस्तो कुनै पनि गुटमा प्रवेश नगरेका युवाहरूले यसलाई निरुत्साहित गर्न पर्छ । समुहहरूले हाम्रो—हाम्रो नभनी जनताको भावना बुझ्ने विकाश गर्न सक्नेलाई स्थानीय निर्वाचनमा उम्मेदवारी बनाएर लैजानेमा हामी विशेष भूमिका खेल्ने छौँ ।

नेपाली कांग्रेस जनतामुखी होइन कार्यकर्तामुखी भयो भनेर जनताले भनेका छन् । यसमा के भन्नुहुन्छ ?

यो गलत हो । किनकि पार्टीको साधारण सदस्य नै १० लाख पुगेको छ । पछिलो समय अधिवेशनको निर्वाचनमा सबै आ—आफ्नै पाराले लाग्नु स्वभाविक हो । ५ वर्षमा आउने अधिवेशन भएकोले पनि सबै यसमा लागेको हो । तर कांग्रेस अन्य पार्टीभन्दा जनताको नजिक रहेको जनताप्रिय पार्टी हो । आगामि निर्वाचनमा कांगे्रसले बहुमत ल्याउँछ । यसबाट पनि कांग्रेस कार्यकर्तामुखि होइन जनतामुखि नै हो भन्ने प्रमाणित हुने समय आउँदै छ ।

अन्त्यमा, तपाईँलाई लुम्बिनी प्रदेश सदस्यमा जिताउन मतदान गर्ने प्रतिनिधिहरूलाई के भन्नुहुन्छ ?

हामी युवा र नयाँ अनुहार हौँ । पार्टीलाई सबै भन्दा बलिोयो बनाउनको लागि आँट गरेर आएका छौँ । लुम्बिनी प्रदेश कांग्रेसको पकट क्षेत्र पनि हो । नयाँ सोच र नयाँ तरिकाले काम गर्ने भनेर मैले उम्मेदवारी दिएको हो । यसमा सम्पुर्ण साथीहरूले कुनै आग्रह पुर्वाग्रहमा नआएर साथ र सहयोग गर्नुहुन्छ भन्ने आशा राखेको छु । तपाईँहरूको अमूल्य मत दिएर जिताउन आग्रह गर्छु ।

प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार  १ : ३७ बजे

309
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।