Logo

टिप्पणी

आखिर नरुने को छ र ?



जीवनमा सर्वसाधारण मानिस मात्र होइन ख्यातीनामा कमाएका महापुरुषहरु पनि बलिन्द्रधारा आँसु खसालेर रोएका छन् । जो सामान्य मानिस छ उ व्यावहारिक जीवनमा पीडा र मर्मका चोटहरुमै रोइदिन्छ । बालकहरु त झन् यी भन्दा झिनामसिना कुरामै रुन्छन् । आफ्नो व्यक्तिगत स्वार्थ रक्षाका लागि रुने संसारमा धेरै मानिस छन् । तर सामाजिक कल्याण र जनहितका पक्षमा द्रवित हुने महामानवहरु चाहिँ विश्वको जुनसुकै कुनामा पनि थोरै हुँदा रहेछन् । मान्छेको के कुरा ईश्वरले समेत दुखका चुडान्त क्षणमा अश्रुपुरित नेत्र उठाएर नियतिको दुर्दान्त खेल खेल्नु परेका घटना पुराणहरुमा वर्णित छ । सतीदेवीको देहान्तपछि भगवान शंकर पागलजस्तै बनेर रोएका थिए । कृष्णका कतिपय लीलाहरुमा पनि आँसुको प्रसंग पढ्न पाइन्छ । बनवासी रामको आत्मा राजमहल निवासी हुँदासम्म पनि मुस्कुराउन पाएन । सीता र द्रौपदीजस्ता युगीन व्यक्तित्व बोकेका प्रखर नारीहरुले पनि आँसुको दिनचर्या भोग्नुपरेको थियो । 

भनिन्छ– बेंजामिन मोलाइसलाई दक्षिणी अफ्रिकाको जातिवादी गोरा सरकारले सन १९८५ मा फाँसीमा झुण्ड्याउँदा नेल्शन मण्डेलाले आफ्नो आँसु रोक्न सकेका थिएनन् । बेंजामिन दक्षिण अफ्रिकाको पहिलो देशभक्त शहिद कवि हुन् । त्यसबेला अफ्रिकी स्वतन्त्रता आन्दोलनका हिमायतीहरु उनका कविता ओठओठमा झुण्ड्याएर हिँड्थे । संयुक्त राष्ट्रसंघको विरोध हुँदाहुँदै पनि उनलाई अफ्रिकी सरकारले झुण्ड्याइदिंदा नेल्शन मण्डेलाले भनेका थिए– ‘मलाई आकाश यति अन्धकारमय कहिल्यै लागेको थिएन, जति बेंजामिन मोलाइसलाई फाँसीको सजाय दिएपछि लाग्दैछ । उनी हाम्रो वरिपरि प्रत्येक सासमा जीवित रहेका छन् ।’

भारत चीन सीमा युद्ध बेला दिल्लीको रामलीला मैदानमा आयोजित एउटा सांस्कृतिक समारोहमा लता मंगेसकरले गाएको राष्ट्रिय गीत सुनेपछि तात्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले आफूलाई थाम्न सकेनन् । उनले रुँदै लतालाई भनेका थिए– ‘बेटी तुने मुझे रुला दिया ।’ हाम्रै सन्दर्भमा पनि सर्वोच्च नेता गणेशमानसिंहका आँसु धेरैले देखेको हुनुपर्छ । आफूले जन्माएको, हुर्काएको पार्टीमा अटन नसकेपछि नेपाली कांग्रेस त्याग गरेका गणेशमानसिंहले पटक पटक आँसु वर्षा गराएका थिए । ठूला मानिसलाई परका भन्दा आफ्नै नजिकका मानिसले बढी रुवाउँछन् । मानवीय स्वभावको एउटा दारुण पक्ष के भने विरोधीहरुको प्रहारले कुनै पनि मनुष्यलाई कहिल्यै कमजोर तुल्याउँदैन, तर छातीमा आफन्तहरुले चोट लगाइदिए भने त्यसलाई सहन गर्न कठिन पर्दोरहेछ ।

देशका समकालीन नेताहरुको आँखा समेत बलिन्द्र आँसु देखिएका छन । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका आँखा धेरै पटक आँसुले भिजेका छन । सम्पूर्ण घरव्यवहार, आफ्नो राजनीतिको आन्तरिक व्यवस्थापन जिम्मा लिएको  कलकलाउँदो छोरो प्रकाश असमयमै देउताको प्यारो भएपछि प्रचण्डलाई त्यो वियोग खप्न मुस्किल भयो । उनी डाँको छोडेरै रोए । माओवादी नेता हरिबोल गजुरेल मन्त्री भएका बेला ‘राहदानी’ नामको सिनेमा हेर्न पुगे । त्यो सिनेमाभित्र खाडीमा रहेका लाखौं नेपालीले पाएको दुखपीडाको दृश्य थियो । यो दृश्यले भावुक बनेका मन्त्री गजुरेलले आफूलाई थाम्न सकेनन । भूमिगत भएकै बेला भएको सांस्कृतिक कार्यक्रममा एउटा गीत सुन्ने क्रममा माओवादीका अधिकांश शीर्ष नेताहरु क्वाँ क्वाँ रोएका थिए । पहिलो संविधानसभा भंग भएको पीडा माओवादी नेता नारायणकाजी श्रेष्ठले सहन सकेनन । उनी पनि मानिसको भीडमा भक्कानिए ।

पञ्चायतकालमा पद्मरत्न तुलाधरले गहभरि आँसु पारेर सम्पूर्ण विधायकहरुलाई कमसेकम अबदेखि भ्रष्टाचार नगरौं भनेर आव्हान गर्दा सारा पञ्चहरुले देशव्यापी रुपमा उनको खिल्ली उडाएका थिए । राष्ट्र र जनताको भलाइका लागि पवित्र आँसु खसाल्ने मानवतावादी व्यक्तित्व सामाजिक विसंगतिबाट चिमोटिनु अस्वाभाविक होइन तर आप्mनो अनमोल जिन्दगीलाई तानाशाही संघर्षको क्रूर र कठोर दायराभित्र हुर्काउने जोसेफ स्टालिनजस्ता मानिसको ओठमा मुस्कान फुटनु र नजरमा पानी उम्रिनु भनेको चाहीँ आठौं आश्चर्य हो ।

डा. सर्वपल्ली राधाकृष्णनले भारतीय राजदूतका रुपमा पूर्व सोभियत संघमा रहँदा त्यहाँका राष्ट्रपति जोसेफ स्टालिनलाई आख्यान यसरी सुनाएका थिए– ‘हाम्रो देशमा एकजना सम्राट जीवनभर भयंकर खुंखार लडाईं लडेर वृद्धावस्थामा पुगेपछि सारा राजपाट त्यागी भिक्षु बनेका थिए । राष्ट्रपति महोदय ! तपाईं पनि रक्तपथको लामो यात्राबाट प्रभुताको यो महान सिंहासनमा आइपुग्नुभएको छ । भोलिका दिनमा यहाँ पनि हाम्रै देशको उक्त सम्राटजस्तो बन्न सक्नुहुन्न भनेर अहिल्यै कसले ग्यारेन्टी गर्न सक्छ ?’ डा. राधाकृष्णको कुरा सुनेर स्टालिन जीवनमा पहिलोपल्ट दिल खोलेर मुस्कुराएका थिए । उनले भने– ‘हो कहिलेकाहीं चमत्कार सिर्जना हुनसक्छ । म पनि ५ वर्षसम्म धर्मशास्त्रका स्कुलमा बसेको छु ।’ बातचित सकेर राधाकृष्णन राष्ट्रपति भवन बाहिर निस्कँदा स्टालिनले आफ्नो दोभाषे पावलोबलाई बोलाएर भनेका थिए । राधाकृष्णन एउटा संकीर्ण देशभक्त मनुष्य होइनन । उनको हृदय पीडित मानवताका लागि सधैं द्रवित हुने गर्छ ।

सन् १९५२ को ५ अप्रिलमा आफ्नो कार्यकाल समाप्त गरी भारत फर्किने बेलामा राधाकृष्णनले स्टालिनसंग विदाईको गला मिलाएर उनको पिठ्यूँ सुम्सुम्याउँदा स्टालिनको आँखामा आँसुको सागर उर्लिएको थियो । उनको अनुहार मलिन थियो र कण्ठ पनि अवरुद्ध । उनले आफ्ना सजल नेत्र उचालेर भनेका थिए– ‘तपाईं पहिलो व्यक्ति हो, जसले मलाई मनुष्य सम्झिएर मप्रति मानवीय व्यवहार गर्नुभयो । मलाई कहिल्यै पनि दानव ठान्नुभएन । तपाईं हामी सबलाई छोडेर जाँदै हुनुहुन्छ । म चाहान्छु कि तपाईं दीर्घजीवी रहनुहोस् । अब म धेरै दिन बाँच्दिन ।’ स्टालिन रोएको यस घटनालाई सारा विश्वले इस्पातको मानिस रोएको रुपमा स्वीकार गरेको थियो । 

नेपोलियन बोनापार्ट पनि ढुंगो र फलाम जतिक्कै कडा र अररोपन भएका निर्दयी मनुष्य हुन् । हिंसात्मक पराक्रममा लिप्त यी सैनिक योद्धाको हृदय जोसेफिन नामकी एक विधवा महिलाप्रति अत्यन्तै दयालु र संवेदनशील थियो । जोसेफिन अत्यन्त धूर्त र अस्थिर चरित्रकी महिला हुन भन्ने जान्दाजान्दै पनि नेपोलियन उनीप्रति यति आसक्त थिए कि एकपल्ट रणभूमिको विपरित परिस्थितिलाई ढालेर उनलाई भेटन मिलान भन्ने ठाउँमा पुग्दा भेटन नपाएपछि डाँको छोडेर क्वाँ क्वाँ रोएका थिए । 

कोभिडको पीडाले गएको वर्ष विश्व चर्चित थुप्रै राजनेताको मुटु काम्यो । जनताको दुखले उनीहरु द्रविभूत भए । विश्वव्यापी महामारीको त्यो कहालीलाग्दो दृश्यका कारण उनीहरुले मन थाम्न सकेनन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्यानाडाका प्रधानमन्त्री जस्टीन टुडो, रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले आँसु थाम्न सकेनन । सार्वजनिक कार्यक्रममै रोएर उनीहरुले पीडा शान्त गरे । सन् २०१२ मा एक आतंककारीले बालबालिका पढिरहेको कक्षामा गएर अन्धाधुन्ध गोली चलाएर थुप्रै बालबालिकाको ज्यान लिएपछि तात्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामा सार्वजनिक समारोहमै रोए । विश्वका सञ्चारमाध्यमले प्राथमिकतासाथ ओबामाको आँसु प्रचार गरेका थिए । 

आँसुले सम्भवत मानिसको मनलाई हलुका बनाउँछ । त्यसैले होला आप्mनो अन्तरमनलाई संवेदनशील पीडाका अव्यक्त वेदनाहरुले थिचेका बेला संसारको जुनसुकै मनुष्य पनि आँसुको सहारा लिने गर्छ । रुँदैमा लज्जा र हीनताबोध कसले कहाँ पो गरेको छ र ? भुक्तभोगीले त्यसै भनेका होइनन– रुनु मनको मैलो धुनु त हो नि ।

 

प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार  १० : १८ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।