Logo

ट्रायलको परीक्षामा फेल भएकालाई पास बनाउने यातायातका १९ कर्मचारी अख्तियारको फन्दामा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगन्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार नेपालगन्जबाट लिइएको दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिकाविहीन बनाएको तथा परीक्षामा अनुत्तीर्ण भएकालाई नतिजा परिवर्तन गरेको पाइएको छ । सो कार्यमा तत्कालीन कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृत द्वय सीताराम खनाल र डकेराज पोखरेल संलग्न रहेको आयोगको अनुसन्धानमा देखिएको छ । 

यस्तै तत्कालीन शाखा अधिकृत ध्रव्रराज देवकोटा, नायब सुब्बा ललितबहादुर वलीलगायत छन् । उनीहरूले लिखित परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । यसै गरी आयोगले महोत्तरीको साबिक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंहसमेतले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई बनाई सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार रु १२ लाख ४४ हजार बराबरको हिनामिना गरेको पाइएको छ । 

सो कार्यमा सचिव सिंह र कार्यालय सहायक नारायण यादवको संलग्नता रहेको पाइएको छ । आयोगले उनीहरुविरुद्ध रु छ लाख २९ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । अनियमितता गरेकोमध्ये रु छ लाख १५ हजार बराबरको रकमसमेत बैङ्कमा दाखिला भएको पाइएको छ । 

प्रकाशित मिति : चैत्र २६, २०७७ बिहीबार  ८ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।