सिमकोट । जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षको हालसम्ममा ६० मुद्दाको फैसला गरेको छ । अघिल्लो आवको सरेका र यस वर्षको नयाँ दर्ता गरी चालु आवमा हालसम्म कूल ११४ मुद्दा दर्ता भएका थिए ।
अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ६१ रहेको छ भने चालु आवमा नयाँ ५३ मुद्दा दर्ता भएको जिल्ला अदालतका स्रेस्तेदार मदनराज भट्टराईले बताए । देवानीतर्फ जिम्मेवारी सरेको २७ तथा नयाँ दर्ता भएका २५ मुद्दा फछ्र्यौट भएका छन् भने २२ वटाको फैसला हुँन बाँकी छ ।
सरकारवादी मुद्दा जिम्मेवारी सरेका २६ र नयाँ दर्ता भएका १५ फछ्र्यौट भएका छन् भने २४ मुद्दा बाँकी रहेको भट्टराईले बताए । दुनियाँवादी फौजदारीतर्फ जिम्मेवारी सरेका आठ र नयाँ दर्ता १० मध्ये १३ वटाको फैसला भएको छ । पुनरावेदनमा नयाँ दर्ता भएका तीनवटै मुद्दाको फैसला हुन बाँकी छ । जिल्ला अदालतमा आठ बालबालिकासम्बन्धी मुद्दा दर्ता भएका थिए भने चारको फैसला भइसकेको छ ।
प्रतिक्रिया