Logo

साहित्य

 तिमीलाई काँडा बिझे हामीलाई दुख्छ      



 प्रिय मार्टिना

बहानाको ताल र पानीका छालहरुमा बगिरहेको एउटा रोमाञ्चकारी क्षण । यसपल्ट म फेवातालको पानीसंग जिस्किँदै चितवनको निकुञ्ज र ल्होत्सेको हिउँको बयान लेखिरहेको छु । ताप्लेजुङको टिप्तालाभन्ज्याङ र संखुवासभाको हटियाघाटीको कथा बुनिरहेको छु ।

कास्कीको घान्द्रुक र रसुवाको स्याप्रुबेसी, बझाङ बाजुरातिरको खप्तड लेक, जुम्ला खलंगाको चन्दननाथ मन्दिर र यी सवै तरेली बनेर क्रमैसंग आइरहेका छन् आँखा अघिल्तिर । र, बस्दाबस्दै पनि कालीगण्डकीको खोंच देखिरहेको छु, सेतीको गल्छी भेटिरहेको छु अनि रारा, से फोक्सुण्डो, तिलिचो मात्र हैन, खुम्बु, यालुङ र नुप्चुको जमेको पानी, यत्तीको पदचिन्ह र खादा बोकेर मुस्कुराइरहेकी शेर्पिनी दिदीको अनुहार एकैपल्ट आँखा अगाडि नाचिरहेका छन् । सबै सबैतिर तिम्रो स्वागतको तयारी भइरहेको छ । र, हामी हाम्रो आँगन टेकिदिन, आँखामा बसिदिन, मनमा बसिदिन तिमीलाई निम्तो पठाइरहेका छौं । 

तिमीलाई लाग्यो होला एउटा निम्तो पठाउन यत्रो भूमिका किन ? यो नेपाली किन आफ्नै भूमि र आफ्नो आँगनको मात्र बखान गरिरहेको छ ? हैन, यो बखान मात्र हैन । यो त अन्तरआत्माको आवाज हो । हामी तिमीलाई नेपाल चिनाउने अभियानमा जुटेका छौं । हामीले हाम्रै धान नाच, तामाङ सेलो र मारुनी नाचसंग तिमीलाई परिचित गराउने रहर बोकेका छौं । लुम्बिनी र मुक्तिक्षेत्रसंग एकाकार गराउने योजना बनाएका छौं । तिमीलाई गाइनेको लय र सारंगीको र्‍याईंर्‍याईंले पनि आनन्दित पार्न सक्छ ।

मिल्केडाँडाको गुराँस र दार्चुलाको सुनाखरीले पनि लोभ्याउन सक्छ । तिमी यो पल्ट चीन घुम्यौ रे, माल्दिभ्स पुग्यौ रे । कम्बोडिया र लाओस पुग्यौ रे । तिमीलाई पक्कै पनि डाँफेको बेग हेर्ने रहर लागेको हुनुपर्छ । तेर्‍ह सय हिमश्रृंखलाहरुको देश, बास्तुकला, चित्रकला र मूर्तिकलाका लागि कहलिएको देश र वीरताका लागि संसार प्रसिद्ध गोर्खालीहरुको भूमि । म विश्वस्त छु– यो सुन्दै तिम्रो मन जुर्मुराइसकेको छ । कोरोनाको कहरबाट उम्किएको तिम्रो तन, मनलाई त्राण दिन पनि हाम्रो भूमि उर्जा ठहरिनेछ ।

तिम्रो पछिल्लो चिट्ठी पाएपछि मात्र थाहा पाएँ– तिमीले माउन्ट फुजी चढिसकेकी रहिछ्यौ । नागरा फल्स देखिसकेकी रहिछौ । गोवा र पट्टाया पुगिछ्यौ । आइफल टावर त तिम्रै धर्तीको आफ्नो गहना हो क्यारे ! तिमी जुरिच पुगिछ्यौ, सिड्नी र मकाओ पुगिछ्यौ । मैले पत्याएकै थिइन, तिमी इजिप्टका पीरामिडहरुसंग पनि परिचित भइसकिछ्यौ । अब तिमीलाई सगरमाथाको काखमा चिप्लेटी खेल्न निम्तो पठाइरहेको छु । यतिबेला हाम्रा डाँडाहरुमा हिउँको फुसफुसे वर्षा देख्न पाउनेछौ तिमीले ।  अनि त्यतिबेलै बेलिविस्तार लगाउँला– हिउँमा चिप्लिदै, पछारिदै, सिउसिउ गर्दै हिँड्नुको आनन्द कस्तो हुन्छ ? र, त्यतिखेरै सुनाउँला– पदयात्रामा जाँदा हिउँले हाम्रो पाल नै पुरिदिएर निम्त्याएको कहालीलाग्दो विपत्तिको कथा । तर विपत्तिको एउटा पाटो उकाउने वित्तिक्कै नतर्सनु ल ।

तिमीलाई जहाँ सजिलो लाग्छ, त्यतै लैजाउँला । जता रमाइलो लाग्छ, त्यतै घुमाउँला । तिमी गोर्खा जान्छ्यौ कि गोसाइकुण्ड, तेर्‍हथुमको तीनजुरे जान्छ्यौ कि तनहूँको बन्दीपुर, गुल्मीको रेसुङ्गा जान्छ्यौ कि पर्वतको गुप्तेश्वर ? अरुण उपत्यका गए पनि, कञ्चनपुरको झिमिला गए पनि, कोशी टप्पु र शिवपुरी आरक्ष गए पनि सबै सबैतिर स्वागतको मुस्कान पाउने छौ तिमीले । पशुपतिनगरको चिज चपाउँदै फिक्कलको चियाबगान घुमौंला । भोजपुरको खुकुरी र चैनपुरका करुवा तिम्रा मित्रका लागि उपहार हुन सक्छन् । यति हो तिमीले अलिकति दुख भने बेसाउनु पर्छ । तिम्रो भूमिको शोखलाई त्यतै विसाएर आउनु पर्छ तिमीले । ह्यातुङ झर्ना हेर्न तिमीले हिंड्नै पर्छ । टिकरभञ्याङ हेर्न पनि पैदलै कुदनु पर्छ । अनि साँघुरा दलान, पिंढीहरुमा बास बस्नुपर्छ । 

हो, हामी तिमीले देखिरहेको समाजभन्दा धेरै पछाडि छौं । तिमी रिसाएको बेला, ठस्किएको बेला यसलाई गरीबहरुको संसार पनि भन्न सक्छ्यौ । तर सतप्रतिशत विश्वास गर– हामी मनका भने असाध्य धनी छौं । तिमीलाई काँडा बिझे हामीलाई दुख्छ । केही कुरा भने तिमीलाई निक्कै अनौठो लाग्न सक्छ । कतै पुग्यो र केही हेर्न खोज्यो, मगन्तेहरुको भीडले छोप्न सक्छ तिमीलाई ।

तिमीले हाम्रा मन्दिरहरुमा सांस्कृतिक वैभवको कुरा मात्र हैन, रोगी र दरिद्रहरुको दयालाग्दो हुल देख्न सक्छ्यौ । सडक बजारका मुल सडकहरुमा फोहोरको थुप्रो देख्दा तिमीलाई सडक सडकमा फोहोर प्रशोधनशाला भएको भ्रम पर्न सक्छ । हो, हामी यो तितो यथार्थ पनि भोगिरहेका छौं । तैपनि जे जस्तो भएपनि हाम्रो रहर छ– तिम्रो भ्रमण प्रिय पैतालाको स्पर्श भित्र्याउने र उन्नत समाजको सपना सजाउने ।

तिमी विहान आउ, हामी उज्यालो दिनको सगुन मान्छौं तिमीलाई । दिउँसो आऊ, हाम्रै निम्ति आएको एउटा मीठो सद्भाव र कोसेली मान्छौं । साँझमा आऊ तिमीलाई देउता मान्छौं र तिम्रो सत्कार गर्छौं । तिमी काठमाडौ आऊ नेपाली सुसेलीहरुको रसास्वादन र नेपालीपनको अवलोकनसंगै भोजनगृहको नेपाली स्वाद चखाउँला । तिमी नाम्चेतिर आऊ, शेर्पिनी दिदीले नौनी हालेर बनाएको नून चिया खुवाउँला । घान्द्रुककी गुर्सिनी दिदी त सिपालु भइसकेकी छन– तिमी र तिम्रा सहयात्रीहरु के खान्छन र के हेर्न रुचाउँछन् । टुकुचेकी थकाल्नी आमाले पनि तिमीले रुचाउने धेरै चीजको सामासर्जाम मिलाइसकेकी छन् । 

 

प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार  ४ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।