Logo

पोखरामा पहिलोपटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुँदै



पोखरा । भाषा संघ नेपाल (LAN) को आयोजनामा पोखरामा पहिलोपटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता आगामी बैशाख ९ गते दिउँसो १ बजे बिरौटाको पोखरा होटल ग्रान्डमा हुनेछ ।

जापानी भाषा अध्ययनरत नेपाली विद्यार्थीहरुको भाषा तथा जापानी सांस्कृतिक ज्ञानको विकासका निम्ति जापानी भाषा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको भाषा संघ नेपालले आज पोखरामा एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

पोखरामा रहेका जापानीज भाषा प्रशिक्षण संस्थाहरुमा अध्ययनरत १९ जना विद्यार्थीहरुको बीचमा प्रतिस्पर्धा रहने भाषा संघ नेपालका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए । ‘जापानी भाषा ५०० घण्टा अर्थात् लगभग १ वर्ष पढेका विद्यार्थीहरुले आफ्नो कुरा सजिलै जापानी भाषामा व्यक्त गर्न सक्छन्’ श्रेष्ठले भने, ‘उनीहरुका बीचमा नै हामीले प्रतिस्पर्धा गराउन लागेका हौं ।’ श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार राशी प्रदान गरिने छ ।

संस्थाका सल्लाहकार तथा वक्तृत्वकला प्रतियोगिताका संयोजक विक्रम उदासले कार्यक्रमबारे प्रकाश पारेका थिए । पोखरामा रहेका ४१ वटा भाषा स्कुलका १९ जना विद्यार्थीलाई समेटेर पोखरामै पहिलो पटक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको उदासले बताए । ‘जापानीज भाषा सिकिरहेका विद्यार्थीको क्षमतालाई निष्पक्ष रुपमा उत्थान गर्न र अझ अघि बढाउन यो प्रतियोगिता आयोजना गरेका हौं’ उदासले भने ।

संस्थाका निवर्तमान अध्यक्ष युवराज खनालले संस्थाका बारेमा धारणा राखेका थिए । खनालका अनुसार पोखरामा जापानसम्बन्धी काम गर्ने ८१ वटा संस्था भएपनि भाषा संघ नेपालमा दर्ता भएका भने ४१ वटा मात्र रहेका छन् । ‘नाम भाषा संघ नेपाल भएपनि संस्था विशेष गरी जापानी भाषा पढाउने तथा परामर्श दिने प्रशिक्षण दातृ संस्थाहरुको छाता संगठन हो’ खनालले भने ।

जापानी भाषा परामर्श तथा प्रशिक्षण दातृ संस्थाहरुको छाता संगठनका रुपमा भाषा संघ नेपाल २०७२ साल चैत्र २१ गते कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्थाका महासचिव मोतिप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ४, २०७८ आईतबार  ७ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।