त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले शानदार जित हासिल गरेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार कुशलले अर्धशतकीय इनिङ्स खेल्दा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । कुशल भुर्तेलले अविजित अर्धशतकको मद्दतमा नेपालले सहजै पराजित गरेको हो ।
मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतिमा पूरा ग¥यो । कुशलले अविजित रहँदै ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो ।
शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशलले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले नेदरल्यान्ड्सविरुद्ध ४६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६२ रन जोडेका थिए । त्यस्तै नेपालको सहज जितका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडे ।
उनी १२ ओभरको पहिलो बलमा लामो सट खेल्ने क्रममा कभरमा अनवर रहमानको हातबाट क्याच आउट हुन पुगे । उनले कुशलसँग १ सय २ रनको साझेदारी गरे । उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो । नेपालको यो लगातार दोस्रो जित हो ।
नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । मलेसियाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
प्रतिक्रिया