Logo

लिभरपुललाई शीर्ष चारमा पर्न कठिन



लिभरपुलको प्रदर्शन यो सिजनमा सोचेभन्दा खराब रह्यो। च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाटै बाहिरिएको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पनि एकपछि अर्को खेलमा खराब प्रदर्शन गरिरहेको छ।

डिफेन्डिङ च्याम्पियन लिभरपुलले प्रिमियर लिगको सुरुवाती खेलहरुमा उत्कृष्ट खेल्दै आफू बलियो भएको दाबी गरेको थियो। तर लिगको मध्यतिरबाट भने लिभरपुलको प्रदर्शन खस्किदै गयो। अहिले लिभरपुललाई प्रिमियर लिगको अन्तिम चारमा पर्न पनि कठिन भएको छ।

सोमबार राति भएको खेलमा लिड्स युनाइटेडसँग लिभरपुलले १-१ गोलको बराबरी खेल्यो। तुलनात्मक रुपमा कमजोर मानिएको लिड्ससँग खेलेको बराबरीले प्रिमियर लिगको उपाधि दौडबाट बािहरिसकेको लिभरपुललाई झनै खतराको घण्टी बजेको छ। यदि जारी सिजनमा लिभरपुल प्रिमियर लिगको अन्तिम चारमा पनि पर्न असफल भएमा च्याम्पियन्स लिग खेल्नबाट समेत बन्चित हुनेछ।

खेलको ३१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० गोलको अग्रता दिलाए। पहिलो हाफसम्म १–० गोलकै अग्रता बनाएको लिभरपुलले खेलको ८७ औं मिनेटमा गोल खाँदै बराबरीमा खेल टुंग्याएको हो। लिड्सका लागि डिएगो लोरेन्टेले गोल गरे।

महत्वपूर्ण खेलमा एक अंकमै सीमित बनेको लिभरपुल लिगको छैटौं स्थानमा छ। लिगको शीर्ष चारभित्र पर्न समेत लिरभपुललाई अब धेरै कठीन बनिसकेको छ। ३२ खेलबाट लिभरपुलको ५३ अंक छ। लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ७४ अंक हुँदा समान खेलबाट म्यानचेस्टर युनाइटेडको ६६ अंक छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ३१ खेलबाट ५६ र चौथो स्थानको वेष्ट हामको ३२ खेलबाट ५५ अंक छ। पाँचौ स्थानमा रहेको चेल्सीको ३१ खेलबाट ५४ अंक छ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार १०:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।