पोखरा । फेवाताल छेउमा बनेको संरचना भत्काउन पुगेको डोजर पर्खाल नभत्काई फर्किएको छ ।
पोखरा महानगरपालिका वडा न ।१८ फेवा किनार बनेको पर्खाल भत्काउन महानगरले शुक्रवार डोजर पठाएको थियो । तर संरचना निर्माण गर्ने व्यक्ति र व्यवसायीको अवरोध गरेपछि पर्खाल नभत्काएर एक डोब हानेर मात्र डोजर फर्किएको हो ।
पर्खाल भत्काउन पुगेका महानगरका कर्मचारी र व्यवसायीबिच केही बेर घम्साघम्सी भएको थियो । व्यवसायी र महानगरका कर्मचारीबिच चर्काचर्की हुनुभन्दा केही अगाडि नागरिक अगुवा तथा स्थानीयबिच पर्खाल भत्काउने विषयलाई लिएर विवाद समेत भएको थियो । विवादलाई मध्यनजर गर्दै उक्त स्थानमा ठुलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरियो । यद्यपि व्यवसायीको अवरोधको अगाडि महानगर लाचार बन्दै फर्किएको हो । पर्खालै भत्काउन पुगेको महानगरको डोजरले १ ट्रक ढुंगामात्र जफत गरेर फर्कियो ।
संरचना निर्माण भएको स्थानमा डोजर चलाउन लाग्दा आफ्नो व्यक्तिगत नाममा रहेको जग्गामा संरचना निर्माण गर्न पाउनुपर्ने भन्दै सेतु आर्चाय विरोधमा उत्रिइन् । लालपुर्जा भएको जग्गामा संरचना निर्माण गर्न पाउनुपर्ने उनको भनाई छ । ‘हामीसँग लालपुर्जा छ, हामीले काम गरी खान नपाउने रु’ आचार्यले प्रश्न गर्दै भनिन् । महानगरपालिकाले ताल छेउ निर्माण भएका अन्य संरचना भत्काउने भए आफू पनि भत्काउन तयार भएको उनी बताउँछिन् । ‘अन्य पनि भत्काए म आफैँ भत्काउँछु, महानगरले भत्काउनै पर्दैन ।’ उनले आक्रोशित हुँदै भनिन्, ‘हाम्रो मात्र भत्काउन डोजर ल्याएर तेर्साउन पाइँदैन ।’
यता महानगरका कानुन अधिकृत नारायणप्रसाद शर्मा यस विषयमा बैठक बसेर निर्णय हुने बताउँछन् । ‘सम्बन्धित व्यक्ति र स्थानीयको अवरोधका बाबजुद महानगरले आज ५ मिटर पर्खाल भत्काएर आयो ।’ उनले भने, ‘अब यस विषयमा महानगरले बैठक बसेर निर्णय गर्ला ।’
महानगरका कर्मचारीलाई अवरुद्ध नगरेको भए उक्त पर्खाल सबै आजै भत्काउने उनको भनाई थियो । ‘सबै भत्काउन हुन्थ्यो । तर झगडा र जबरजस्ती भयो ।’ शर्माले भने, ‘आइतबार उहाँहरूसँग भएको कागजात लिएर महानगरमा आउनु भनी फर्किएका छौँ ।’
दिनप्रतिदिन फेवाताल छेउ संरचना निर्माण हुँदा नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन् । फेवातालको संरक्षणमा सम्बन्धित निकायको ध्यान जानुपर्ने नागरिक अगुवा रामबहादुर पौडेलको भनाई छ । ‘जग्गा धनीको विरुद्धमा नभई फेवातालको संरक्षण लागि बोलेका हौँ ।’ पौडेलले भने, ‘व्यक्तिलाई अन्याय नहोस्, छानबिन होस्, फेवाताल पनि संरक्षण होस् ।’
यति बेला फेवातालको ४ किल्ला निर्धारण भए पनि सरकारले संरचना बनाउने मापदण्ड नतोक्दा फेवातालमा छेउछाउमा अतिक्रमण बढ्न थालेको हो । महानगरले कति मिटर वरपरसम्म संरचना निर्माण गर्न पाइन्छ, त्यसको मापदण्ड तोक्ने जिम्मेवारी पाएको छ । तर महानगरले उक्त काममा ढिलाइ गर्दा अतिक्रमण बढ्न थालेको छ ।
गत मङ्सिर २७ गते फेवाताल किनारमा अवैध रूपमा संरचना निर्माण भयो । उक्त संरचनामा महानगरले डोजर चलायो । बिहान महानगरले भत्काउन नपाउँदै व्यवसायीले पुनः सोही दिन राती संरचना बनाउन सुरु गरे । भोलिपल्ट बिहानै महानगरले पुनः डोजर चलायो ।
नागरिक समाजले उक्त पर्खालबारे महानगरमा मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षण पत्र बुझायो । त्यसपश्चात् जिसीले अटेर गरी लगाइएको पर्खाल भत्काइदिने आदेश दिए । मेयरकै आदेशमा शुक्रवार पर्खाल भत्काउन डोजर पुगेको हो । तर निर्माणाधीन उक्त पर्खाल भत्काउँदा भत्काउँदै व्यवसायीको दादागिरीका अगाडि प्रशासन कमजोर बन्दै फर्कियो ।
प्रतिक्रिया