पोखरा । पोखरा महानगरपालिका वडा नंं ३२, राजाका चौतारामा अवस्थित शान्ति, मेल–मिलाप र सह–अस्तित्वको ऐतिहासिक राजाका चौताराको शुक्रवार भव्य समारोहका बिच शिलान्यास भएको छ ।
ऐतिहासिक राजाका चौताराको शिलान्यास समारोहमा नेपाली सेनाका प्रमुख एव प्रधान सेनापति पूर्णचन्द्र थापाले शान्तिपूर्ण सम्झौताका रूपमा रहेको दुर्लभ थलो जोगाउनु नै राष्ट्र भक्तिको भावना रहेको बताए ।
सेनापति थापाले पुर्खाले गरेको राष्ट्र भक्ति जोगाउन भित्री हृदय देखि हाम्रो संस्कृति हाम्रो परम्परा हाम्रो इतिहास जोगाइ राखेमा पर्यटन प्रवर्द्धन, शान्ति, सह अस्तित्वको प्रतीक र अन्तर्राष्ट्रिय सम्पदा सूचिको ध्यान आकर्षण गर्न सकिने कुरामा जोड दिँदै जनताको सक्रियता र सेनाको सहभागिताले नै विश्वमा शान्ति र सबैको कल्याण हुने कुरामा जोड दिए ।
कार्यक्रममा संस्कृति विद् एवं राष्ट्रिय प्रज्ञाप्रतिष्ठान उप–कुलपति जगमान गुरुङ्गले वर्तमान नेपाललाई शान्ति र सह अस्तित्वको भूमि यही राजाको चौताराबाट सुरु भएको हो यसमा कसैको दुई मत हुँदैन । बरु नेपालले विश्वलाई शान्ति र सह अस्तित्वको पाठ सिकाएको छ तर हामीले हाम्रो इतिहास राम्रोसँग पढेर त्यसबाट स्वाभिमानको पाठ सिक्न सक्नुपर्छ ।
संस्कृतिबाट प्रेरणा लिएर अघि बढ्न सक्नुपर्छ भन्ने कुरामा जोड दिँदै ऐतिहासिक राजाको चौतारा त्यस्तै शान्ति, सम्झौता र सहअस्तित्वको प्रतीक हो । यो कुनै झुर सामन्ती शासकको निशाना होइन । अतः यस चौतारालाई राजाको चौतारा भन्दा कुनै आपत्ति छैन इतिहास कालमा हुलाकका जाँचकीहरूले यही चौतारामा बसेर हुलाक जाँच्थे र हुलाकीहरूले हुलाक साट्ने गरेको प्रमाण आफू सँग भएको बत्ताउँदै तत्कालीन कास्कीका राजा शिव शाहको पालामा कास्कीको मालमूलमा शान्ति सम्झौताको लागि बाह्र राजाको भेट हुँदा त्यसको स्मारक स्वरूप चिनेको चौतारा भएकाले यस चौताराको नाम नै राजाको चौतारा रहेको बताउँदै ऐतिहासिक थलोको महत्व बुझेर उजागर गर्नाले सेना र जनताको बिचमा समन्मय गर्दा नै देश सबल हुने कुरामा जोड दिए ।
सोही अवसरमा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ऐतिहासिक पृष्ठभूमि बोकेको यस चौतारालाई जोगाउनु र नेपालका परम्परा र ऐतिहासिक स्थलहरूको खोजी गर्नु पर्ने धारण राखेका थिए भने पोखरा महानगरपालिका वडा नंं ३२, का वडा अध्यक्ष अक्कल बहादुर कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य पुनः निर्माण समितिका सदस्य एवं वडा सदस्य विष्णु तिवारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन राजाका चौतारा पुन ः निर्माण समितिका संयोजक सूर्य पौडेलले गरेका थिए ।
करिब ४० लाख रुपैयाँको लागतमा निर्माण हुने राजाको चौतारा ब्रह्मरुपा माध्यमिक विद्यालयको परिसर भित्र अवस्थित करिब १ रोपनी क्षेत्रमा फैलिएको छ भने चौतारा लाई, पुनः निमार्णमा ऐतिहासिक राजाहरूको झल्को आउने सालिकहरू, चौतारोको व्यवस्थापन, बटुवा बस्ने टहरो, पानीको घडा, वगैचा सहितको पार्क निर्माण र शान्तिको प्रतीक झल्कने स्तम्भलाई नेपाली सेनाको भगवती दल गण फूलबारी कास्कीले करिब एक महिना भित्रमा सो काम सम्पन्न गर्ने भएको छ ।
राजाको चौतारो स्थानीयवासी र महानगरपालिकाको संयुक्त पहलमा यसको ऐतिहासिक महत्त्वलाई व्यापक र विस्तार बढाउँदै सो चौताराको पुन निर्माणमा ध्यान दिन सके यस क्षेत्रकै ऐतिहासिक स्थलको रूपमा अगाडी बढ्ने र शान्ति र सम्झौताको केन्द्रका रूपमा विकास हुने प्रबल सम्भावना देखिन्छ ।
प्रतिक्रिया