Logo

मास्क लगाउन र भिडभाडमा नजान गण्डकी प्रदेश प्रमुख शेरचनको अपिल



पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले कोभिड–१९ को दोस्रो लहर तीव्र रूपमा बढेको भन्दै सर्वसाधारण नागरिकलाई मास्क लगाउन र भिडभाडमा नजान अपिल गरेका छन् ।

समाजसेवी स्व। जगत्र शेरचन र स्व. राधा शेरचनको स्मृतिमा शुक्रवार आयोजित शोक सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले कोरोना भाइरसबाट बच्न सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिए । अत्यावश्यक कामका लागि घरबाहिर जाँदा अनिवार्य मास्क लगाउन आग्रह गर्दै उनले कोरोना भाइरसले कुनै उमेर समूह नछुट्याउने र माया, मोह नराख्ने बताए ।

आफ्नो काका समाजसेवी जगत्र शेरचनको निधनले आफूले अभिभावक र संरक्षक गुमाएको महसुस गरेको भन्दै प्रदेश प्रमुख शेरचनले उनको निधनमा थकाली समुदायले समेत अपूरणीय क्षति व्यहोर्नु परेको उल्लेख गरे । साथै, आफ्नो भाइ बुहारी राधा शेरचनको अल्पायुमै भएको निधनले आफू मर्माहत भएको बताउँदै उनले शोकलाई शक्तिमा बदलेर परिवारजन अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

न्होर्जोफोवे (कुल) सेवा समिति, भुर्जुङकोट, मुस्ताङले पोखरामा आयोजना गरेको शोक सभामा समाजसेवी प्रान्ति शेरचन, केन्द्र शेरचन, गुप्त शेरचन, गोविन्द गौचन र भीम शेरचनले शोक मन्तव्य व्यक्त गरेका थिए । शोक सभामा शेरचन परिवारका सदस्य, आफन्तजन र थकाली समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार २०:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।