नेदरल्यान्ड्सलाई पराजित गर्दै त्रिदेशीय टि-२० क्रिकेट सिरिजको उपाधि जित्ने यतिबेला नेपालको एक मात्र लक्ष्य छ । सिरिजको फाइनलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै गर्दा सहज भने पक्कै हुने छैन ।
टियु क्रिकेट मैदान आज दिउँसो १ः१५ मा आयोजक नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्यान्ड्सलाई पराजित गर्दै सिरिजको उपाधि उचाल्न चाहन्छ । यहि लक्ष्यमा नेदरल्यान्ड्स पनि छ । सिरिजकै पछिल्लो आफ्नो सुधारिएको प्रदर्शनलाई कायमै राख्दै नेदरल्यान्ड्स नेपालविरुद्ध जितको खोजिमा हुनेछ ।
नेदरल्यान्ड्स एक बलियो टिम हो । एसोसिएट राष्ट्रहरुमध्येकै अग्रपंतिको ट्याग नेदरल्यान्ड्समा छ । नेपाल पनि नेदरल्यान्ड्स भन्दा कमजोर टिम भने होइन । जारी सिरिजको पहिलो खेलमा नै नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। तर नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा भने नेपालल ठूलो योगफल तयार पारेपनि नेदरल्यान्ड्ससँग तीन विकेटले पराजित हुन पुग्यो ।
डबल राउण्ड रोविनको आधारमा सञ्चालन भएको सिरिजमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको टिम हो । नेपाल चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हारसहित ६ अंक बनाउँदै शीर्ष स्थानमा रह्यो । चार खेलमध्ये दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा भने बराबरी खेल्दै नेदरल्यान्ड्सले ५ अंक बनाएर दोस्रो हुँदै फाइनलमा स्थान बनाएको हो । मलेसियाले भने चार खेलमध्ये एक खेलमा पनि जित निकाल्न सकेन । नेदरल्यान्ड्सविरुद्धको खेलमा भने बराबरी खेल्दै एक अंक प्राप्त गर्यो ।
प्लेयर्स टु वाच
कुशल भुर्तेल -नेपाल
कुशल भुर्तेल नेपालका एक त्यस्ता विश्व कीर्तिमानी खेलाडी हुन्, जसले आफ्नो डेब्यु प्रतियोगिताको सुरुवाती तीन खेलमा लगातार अर्धशतक बनाए । कुशलको ‘कुशल’ प्रदर्शनले नै नेपालले फाइनलसम्मको यात्रा तय गरेको हो ।
यसअघि खासै चर्चामा नरहेका कुशलले नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा ६२ रन बनाए । जुन उनको डेब्यु खेल थियो । आत्मविश्वासी देखिएका कुशलले त्यसपछि मलेसियाविरुद्ध ६१ रनमा अविजित खेले । लगतै तेस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नै ६२ रन बनाउँदै आफ्नो प्रभाकारी छाप छोडे ।
फाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध उनै कुशलको प्रदर्शन कस्तो होला ? यता, नेदरल्यान्ड्सका खेलाडीलाई के भान भइसकेको छ भने कुशललाई छिटै आउट नगरे खेल हार्न सकिन्छ । त्यसकारण कुशललाई जतिछिटो आउट गर्ने लक्ष्य नेदरल्यान्ड्सका बलरहरु हुनेछन् ।
त्यसो त, नेपालको ब्याटिङ निकै बलियो बनेको छ । कुशल मात्रै हैन, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, करण केसीले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।
म्याक्स ओडोड -नेदरल्यान्ड्स
यता, नेदरल्यान्ड्ससँग एक से एक उत्कृष्ट लयमा रहेका ब्याट्सम्यान छन् । पहिलो खेलमा नेपालविरुद्ध ९ विकेटको हार मैदान र पिचसँग घुलमिल नहुँदा भएको देखिन्छ। त्यसपछिका खेलमा भने नेदरल्यान्ड्सले उत्कृष्ट प्रदर्शन गरेको छ ।
नेदरल्यान्ड्सका उत्कृष्ट ब्याट्सम्यानमध्येका एक हुन् ओपनर म्याक्स ओडोड । जारी सिरिजमा सर्वाधिक रन बनाउने सूचिमा उनी दोस्रो स्थानमा रहेपनि उनले बनाएको शतक यो सिरिजको एक मात्र हो । उनले मलेसियाविरुद्ध मात्र ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गर्दै १३३ रन बनाएका थिए ।
तर नेपालविरुद्धको खेलमा भने उनी चल्न सकेनन् । नेपालविरुद्धको पहिलो खेलमा १० रन बनाएका उनले दोस्रो खेलमा ९ रन मात्रै बनाए । यदि फाइनलमा उनले विष्फोटक ब्याटिङ गरे नेपाललाई कठिन बन्न सक्छ । त्यसो त, बेन कोपर, बास डे लिड र कप्तान पिटर सिलार जस्ता राम्रा ब्याट्सम्यान नेदरल्यान्ड्ससँग छ ।
प्रतिक्रिया