Logo

टिप्पणी

प्रेममा ठक्कर खाएका विख्यात संगीतज्ञको प्रेमपत्र 



मेरो मन सधैं तिमीसंगै पुगिरहन्छ 
लामा काला नयन हरिणी झस्किए झैं चनाखा
केही झुक्दी स्तन पृथुल भै नाभी गैरो छ खासा
ब्रम्हाजीले युवतीहरुमा रुप पैलो रचेकी
प्यारी मेरी जलधर त्यहाँ हेर होलिन बसेकी ।

प्रेमको सम्मोहन अनुभूतिमा लटिठ्एर नै शायद कालिदासले प्रेमका यी सुन्दर पंक्ति जन्माएको हुनुपर्छ । माखो मार्न नसक्नेलाई पनि चन्द्रमा झारेर ल्याउने साहस जन्माइदिने प्रेमको अद्भूत शत्तिलाई परिभाषा गर्ने क्रम मानव सृष्टिदेखि अहिलेसम्म चलिरहेको छ । अरुका कुरै छाडौं, इदि अमिन, बोकासा, हिटलरजस्ता विश्वका क्रूर तानाशाहरु पनि प्रेममा नतमस्तक थिए । नेपोलियनजस्ता लडाकू युद्ध मैदानबाटै आफ्नी प्राणप्यारी जोसेफिनलाई प्रेमपत्र लेख्थे । समय र सीमानामा कैद गर्न नसकिने प्रेमले संसारका महान प्रतिभालाई पुजारी बनाउन सफल भएको छ । सास फेर्नसमेत फुर्सद नपाउने व्यक्तित्वहरु प्रेममा बशिभूत हुन्थे । आफ्नी प्रेमिकालाई प्रेमपत्र लेख्न घन्टौ समय विताउँथे । यस्तै प्रतिभामध्ये एक थिए– विश्वप्रसिद्ध संगीतज्ञ लुडविग फन विठोफेन । 

विठोफेनजस्ता व्यस्त कलाकार प्रेममा यस्तो लिप्त थिए भन्ने त्यसवेला कसैलाई विश्वास थिएन । उनको मृत्युपश्चात प्राप्त उनीद्वारा लुकीछिपी लेखिएका पत्रले विठोफेनको रहस्यमय प्रेमपूर्ण जीवनको पर्दाफास गरिदियो । विठोफेनको सम्पूर्ण समय सिम्फोनिया, भायोलिन र पियानोको संगीत संयोजन गर्नमै वित्थ्यो । यद्यपि एकांकीपन, निरासा र प्रेमजस्ता आन्तरिक मानवीय भावनालाई कागजमा उतार्ने काममा विठोफेन पछि परेनन् । उनका हरेक पत्रमा आत्मीय भावको महासागर बगेको अनुभूति हुन्थ्यो । विठोफेनको संगीत आफैंमा अनुशासित र सृजनशिल थियो । यस विपरित आफ्ना प्रेमपत्रमा भने उनले अलि बढी नै आशक्ति देखाएका छन् । ‘अमर प्रेमिका’ भनेर सम्बोधन गरिएका ती पत्र को प्रति लक्षित थिए भन्ने अनुमानको विषय भएपनि उनका काउन्टेस ग्युइलिएटा, ग्युसियार्डी, तेरेसफान, बेटिना ब्रेन्टानफोन नाम भएका  तीन प्रेमिका थिए । त्यसैले अमर प्रेमिकाको सम्बोधन ग्युसियार्डीलाई नै थियो भनिन्छ । विठोफेन प्रेमविवाहमा आस्था राख्थे । र चाहान्थे आफ्नो वैवाहिक जीवन सुखपूर्ण होस् । उनको उन्मुक्त स्वभाव, जिद्धिपन र बहुलट्ठीपूर्ण चरित्रका कारण कुनै नारी विवाहका लागि तयार भएनन् । यसबाट उनीमाथि कस्तो आघात पर्‍यो, त्यसको वर्णन पत्रमा गरिएको छ । सवैभन्दा अचम्म त के भने उनले प्रेमिकाका नाममा दर्जनौ पत्र त लेखे । तर त्यो पत्र प्रेमिकाको हातमा चाहिँ पुर्‍याएनन् । विठोफेनको मृत्युपछि बाकसमा भेटिएका केही पत्रको व्यहोरा यस्ता थिए । 
                                                  ६ जुलाईको विहानी सन् १८०१
मेरी अप्सरा ! मेरी सर्वस्व !! मेरी आत्मा !!! दुई शब्द त्यो पनि तिम्रै कलमबाट तिमीलाई नै अर्पदैछु । भोलिको मेरो जीवनको कुनै ठेगान छैन । मेरो मन तिमीसंग यो प्रश्न गर्न बाध्य भएको छ– आत्म बलिदानविना हाम्रो प्रेमले स्थायित्व लिन सक्ला ? तिमीलाई थाहा छ कि प्रेमले सर्वस्वको माग गर्छ । के तिमी आप्mनो भावनालाई परिवर्तन गरेर तिमी मेरी होइनौ र म तिम्रो होइन भन्ने कुरा प्रमाणित गर्न सक्छ्यौ ? हे भगवान !…. प्रकृतिको रमणीय सौन्दर्य हेरेर आफूलाई आनन्दित गर्ने प्रयास गर । यसबाट प्रेमको अनुभूति हुन्छ । मलाई लाग्छ, प्रेमप्रति म जति समर्पित छु, तिमी पनि त्यति नै छ्यौ । यदि हामी पूर्ण रुपमा एकाकार हुन सक्यौं भने मेरोजस्तै तिमीले पनि व्यथा भोग्नुपर्ने छैन । हिजो सम्मको मेरो यात्रा अत्यन्त चुनौतिपूर्ण थियो । म विहान चार बजेभन्दा पहिले तिमी भए ठाउँमा आउन असमर्थ रहेँ । घोडाको अभावका कारण त्यस ठाउँ आउन मैले गाडीको यात्रा गर्नुपर्यो । यात्रा अत्यन्तै भयानक थियो । तिमीले मलाई पहिले नै जंगलमा रातिको यात्रा नगर्नु भनेर चेतावनी दिएकी थियौ । तर मलाई यसप्रकारको यात्रा गर्ने उत्सुकता रहिरहन्छ । म प्रायश्चित गर्दैछु , मैले गल्ती गरें । मेरो थोत्रे घोडा गाडी भार थेग्न नसक्ने भएर सडकमै भत्किएर ध्वस्त हुन पुग्यो । म सडकमा पछारिन पुगें । तैपनि म यसलाई सफलता ठानेर हर्षविभोर भएर बसें । 

वाह्य जगतको कुरा छोडेर एकछिन आन्तरिक कुरा लेखौं ल । निश्चय नै हामी एक अर्कासंग शीघ्र भेट गर्नेछौं ।  गएका केही दिनयता मैले आफ्नो जीवनका बारेमा सोचेका कुरा पत्रमा लेखेर साध्य छैन । हाम्रो आत्मा सधैंका लागि एक अर्काको सामीप्यमा रहेको भए मैले यी कुरा सोच्ने फुर्सद पाउने थिइँन होला । मेरो आत्मा तिमीसंग धेरै कुरा गर्न हुटहुटिरहन्छ । वाह ! एक समय मैले यस्तो पनि अनुभव गरेको थिएँ कि तिम्रो बोली एकाएक शक्तिहीन, सामथ्र्यहीन भएको थियो । खुसी रहनु मेरी सत्य, मेरी एकमात्र सम्पति, मेरी सर्वस्व भएर रहनु । जस्तो कि म सधैंका लागि तिम्रो हुँ । भगवानले पक्कै पनि त्यो वरदान दिन्छन् , जुन हाम्रो लागि सवभन्दा हितकर हुन्छ । 
                                      तिम्रो बफादर 
                                       लुडविग
                                                  साँझ सोमवार, ६ जुलाई
मेरी प्रियतमा,
तिमीले ज्यादै दुख पाइरहेकी छ्यौ । मलाई भर्खरै थाहा भयो कि मैले विहानै पत्र डाकमा छिराइ दिनुपर्ने थियो । किनकी सोमबार र मंगलबार मात्र डाक गाडी यहाँबाट क…. सम्म जाने गर्छ । तिमी सन्तप्त अवस्थामा छ्यौ । तिमी जहाँ जहाँ पुगेकी हुन्छ्यौ, म पनि प्रतिविम्ब भएर त्यहीँ त्यहीँ पुगेको हुन्छु । अब मैले फैसला गरिसकें, प्रिय म बाँचे तिम्रा लागि बाँच्छु । जीवन पनि कस्तो । यस्तो जीवन ! यस्तो जीवन !!  यस्तो जीवन !!! तिम्रो अभावमा नियति नै पछि परेको भान पर्छ मलाई । म अहिले जति योग्य छु, त्यो भन्दा बढी योग्य हुने प्रयासमा छु । जब म ब्रम्हाण्डलाई आफूसंग जोडेर हेर्ने प्रयास गर्छु , त्यसबेला म र ब्रम्हाण्डबीचको फरक छुट्याउन मलाई गार्‍हो पर्छ । यस्ता कुरा सोच्दा मलाई निरासाले सताउँछ  कि मेरो चिट्ठी तिमीसंग शनिवारअघि पुग्दैन । जति प्यार तिमी मलाई गछ्र्यौ, त्यसभन्दा बढी म तिमीलाई प्रेम गर्छु । यद्यपि आफ्नो भावनालाई तिमीले मबाट कहिल्यै नलुकाउनु । ठीक छ अलविदा । अब म नुवाईधुवाई गरेर सुत्न जान्छु । ओहो भगवान ! जति नजिक उति टाढा । हाम्रो प्रेम एक स्वर्गीय महलजस्तो होइन । बरु आकासको ध्रुवतारा जस्तो अचल र अटल । 

                                                                विहान ७ जुलाई
अहिले म विछ्यौनामा पल्टिरहेको छु मेरी अमर प्रेमिका । …..मेरो मन तिमीसंगै पुगिरहन्छ । कहिले प्रफुल्लित भएर त कहिले उदास भएर । के साँच्चै नै समयलाई हाम्रो मिलन स्वीकार्य छैन त ? मेरो जीवनको अस्तित्व तिम्रो हातमा छ । तिमी बिना बाँच्न सक्ने साहस म भित्र छैन । मैले प्रतिज्ञा गरिसकें, त्यसबेला मात्र म तिमीदेखि टाढाको अनन्त यात्रामा निस्कन्छु– जुनबेला म तिम्रो अंगालोमा बेरिन सकूँ । ताकि मलाई मेरो घरमा फर्किएको अनुभूति होस् । मेरो आत्मालाई तुरुन्त आफ्नो आत्मामा बाँधेर आत्माको देशमा पठाइदेऊ । तिमी चाहिने भन्दा बढी दृढ निश्चयी छौ । लाग्छ– मेरो वफादारीप्रति तिमीलाई शंका छ । प्रिय ! अब मेरो हृदय तिमीविना कहिल्यै कसैको हुन सक्दैन । हे भगवान ! यो कस्तो नियति हो जो संग यति विधि प्रेम भएर पनि कालान्तरमा विछोड सहनुपर्छ । मेरो जीवन नितान्त दयनीय भएको छ । तिम्रो प्रेमले मलाई एकसाथ सुखी र दुखी बनाएको छ । यो उमेरमा मेरो लागि शान्त र स्थिर जीवनको जरुरत छ । यद्यपि वर्तमानमा मैले शान्ति पाउन सम्भव छैन । मेरी अप्सरा, डाक गाडी हरेक दिन यहाँबाट जान्छ भन्ने मलाई भर्खरै थाहा भयो । यसकारण मैले छिट्टै छोट्याउनु पर्छ । त्यसो भए मात्र तिमीले यो पत्र छिट्टै हात पार्न सक्छ्यौ । धैर्य गर । धैर्य नै प्रेमलाई सफल बनाउने एकमात्र सिंढी हो । शान्त रहु । मलाई प्रेम गर । आजकल तिम्रो लागि मेरो जीवन आँसुको सागरमा निरन्तर पौडिरहेको छ ।  मेरी प्राण, मेरी सर्वस्व अलविदा । मसंग अविरल प्रेम गरिरहनु । आफ्नो प्रेमीको वफादार हृदयलाई कहिल्यै अन्यथा नठान्नु । म सधैं तिम्रो र तिमी सधैं मेरी, हामी सधैं एक अर्काको । 

यति हुँदाहुँदै पनि दुर्भाग्य ग्युइलिएटाले विठोफेनको प्रेमलाई उपेक्षा गरेर गेलेनवर्ग नामको व्यक्तिसंग लगनगाँठो कस्न पुगिन । संगीत स्रष्टा विठोफेनका लागि यो घटना बज्रपात सिद्ध भयो । फलस्वरुप उनी आजीवन अविवाहित रहे । 
            

 

प्रकाशित मिति : बैशाख १४, २०७८ बुधबार  २ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।