देउखुरी: लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ शैय्याको एचडियू अस्पताल सञ्चालनमा आएको छ । देउखुरीका चार स्थानीय पालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको र सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालले जनाएको छ ।
कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको छ, अस्पतालका प्रमुख डा पुष्प भुसालले बताएका छन् । “अक्सिजनसहितको अस्पताल तयार भएको हो । यसले कोरोनाका बिरामीको उपचारमा केही सजिलो हुने छ ।”
अक्सिजन दिएर उपचार गर्नु पर्ने सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताएका छन् । पहिलो चरणमा १२ शैय्या तयारी अवस्थामा रहेको र छिटै शैय्या थपेर २५ पुर्याइने उहाँको भनाइ छ ।
दाङका सबै पालिकाले कोरानाका बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएका छन् । देउखुरीमा चार पालिका मिलेर बनाइएको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा आएको छ ।
जिल्लाका दुई उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन् । तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको आइसोलेशन सेन्टर तयार पारेको छ भने घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने शैय्या तयार गर्न शुरु गरेको नगर प्रमुख नरुलाल चौधरीले बताएका छन् ।
प्रतिक्रिया