काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप उत्पादक मुलुक भारत आफैंलाई अभाव हुन थालेपछि निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको कोरोनाविरुद्धको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले कम्तिमा अक्टोबर (पुस) अघिसम्म खोप निर्यात गर्न नसकिने जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सले सिरम इन्स्टिच्युटका अधिकारीहरुलाई उद्धत गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगरिने जनाएको छ । आफ्नो देशका नागरिकको जीवनलाई जोखिममा राखेर कोभिड–१९ विरुद्धको खोप निर्यात गरिएको भनी ठूलो विरोध भएपछि सिरमले विज्ञप्ति निकालेको हो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२१ को अन्त्यसम्ममा मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने छ । भारतीय जनताको जीवनको मूल्यमा हामीले खोपको निर्यात कहिले पनि गर्ने छैनौँ भनेर दोहोर्याउन चाहन्छौँ । देशको खोप लगाउने अभियानमा गर्नुपर्ने सबै कुरा गर्न हामी प्रतिबद्ध रहेका छौ ।”
भारतले सन् २०२१ को पहिलो महिनादेखि नै विश्वभरका विभिन्न मुलुकहरुमा खोप वितरण गरेको थियो । तर, पछिल्लो समय भारतमा नै खोप अभाव हुन थालेपछि चर्को विरोध भयो र फलस्वरुप निर्यातमा प्रतिबन्ध लगाएको छ । यसअघि भारतले ६ करोड ६० लाख डोज खोप विभिन्न देशलाई बिक्री तथा अनुदानमा दिएको छ ।
भारतले नेपाललाई पनि कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । त्यसैगरि साढे तीन लाख डोज खोप नेपाली सेनालाई भारतीय सेनाका तर्फबाट उपहार दिइएको थियो । यससँगै नेपाल सरकारले सिरमबाट २० लाख डोज खरिद गर्ने सम्झौता गरेको थियो । जसमध्ये १० लाख डोज खोप प्राप्त भइसकेको छ भने बाँकी १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन ।
नेपालले भुक्तानीसमेत गरिसकेको कोरोनाविरुद्धको खोप सिरमले निर्यातमा रोक लगाएपछि पुसअघि आउनसक्ने सम्भावना टरेको छ । भारतले कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालको खोप कार्यक्रम नराम्रोसँग प्रभावित भएको छ । सिरमबाट खोप खरिद गरेर नेपालसहितका विभिन्न देशलाई दिने कोभ्याक्सको योजना पनि भारत सरकारको निर्णयबाट प्रभावित हुने सम्भावना बढेको छ ।
कोभ्याक्सले सिरमसँग १४ करोड डोज खोप किन्ने सम्झौता गरेको थियो । नेपालले जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप कोभ्याक्सबाट प्राप्त गर्ने थियो ।
चाँडो खोप ल्याउन उपकुलतिहरुको आग्रह
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले कोरोना खोपको आपूर्ति र वितरणमा गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् । त्रिविका १० जना पूर्वउपकुलपतिहरुले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै कोरोना भाइरसविरुद्धको खोपको उपलब्धताबारे गम्भीर हुन सरकारसँग आग्रह गरेका हुन् ।
कोरोना संक्रमण अति तीव्र गतिमा बढिरहेको र त्यसबाट अहिलेसम्म बच्ने उपाय भनेको खोप नै भएको उल्लेख गर्दै उनीहरूले खोपको वितरणमा सरकारलाई विशेष ध्यान दिन आग्रह गरेका हुन् । वक्तव्यमा भनिएको छ, “नेपालमा खोप प्रयोगमा अत्यन्त अव्यवस्था र अस्तव्यस्तता देखिएको छ । न प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान दिइयो ।”
अहिलेको अवस्था आउनुमा कमिसनखोरहरूको अमानवीय अवरोधप्रति उदासीन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्ठा भएको पनि वक्तव्यमा जनाइएको छ ।
नेपालको तयारी
वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलिले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए । तर, उनले संसद्मा विश्वासको मत गुमाएर अर्कोपटक प्रधानमन्त्री भइसक्दा पनि खोप आयातको कुनै टुगो लागेको छैन ।
प्रधानमन्त्री ओलीले नेपाल सरकारले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरि छिटो पर्याप्त खोप ल्याइसक्न प्रयत्नशील रहेको बताएका थिए । तर, १५ दिनसम्म पनि खोप आयातको प्रक्रिया प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन ।
औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि भारतको कोभिसिल्ड र कोभ्याक्सिन, रुसको स्पुतनिक भी र चीनको सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई अनुमति दिएको छ । तिनैमध्ये कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी खरिदका लागि स्वास्थ्य सेवा विभागले मंगलबार सम्बन्धित कम्पनीलाई प्रस्ताव पठाएको छ । विभागका एक अधिकारीका अनुसार चीनको भेरोसेल खोप उत्पादन गर्ने कम्पनीमा भने खरिदको प्रस्ताव गर्न ठेगाना नै पत्ता लाग्न नसक्दा पत्र पठाइएको छैन ।
५० लाख डोज खोप खरिदमा नेपाली एजेन्टले मागेको कमिसन दिन तयार नहुँदा प्रक्रिया नबढाएको अभिव्यक्तिले उनी विवादमा तानिएका छन् । चार लाख ५० हजारभन्दा बढी व्यक्ति दोस्रो डोजको खोप पर्खिरहेका छन् । पहिलो डोज लगाएको १२ सातामा दोस्रो डोज लगाए बढी प्रभावकारी हुने विज्ञहरुले बताइरहेका छन् । यस हिसाबले पहिलो डोज लगाएकाले जेठ तेस्रो सातासम्म दोस्रो डोज लगाइसक्नुपर्ने हुन्छ । तर खोप आउने अझै निश्चित छैन ।
भारतको प्रतिबन्धपछि यो अनिश्चितता थप बढेको छ । चीनको सिनोभ्याक्स खोप ल्याउन व्यवसायी तयार भए पनि स्वीकृतको फाइल सरकारले अघि नबढाएको व्यवसायीको आरोप छ । अनुमति पाएको ३५ दिनभित्र २० लाख खोप आयात गर्ने प्रस्ताव व्यवसायीले विभागमा पेस गरेका छन् ।
खोप लगाएकाहरू संक्रमित भए पनि गम्भीर समस्या नदेखिएका कारण मृत्युबाट बचाउन खोपले सहयोग गर्ने भएकोले तत्काल खोप ल्याउने प्रक्रिया अघि बढाउनुपर्ने बताइएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अबको एक सातामा खोप आइसक्ने दाबी गरेका छन् ।
उनले भने, “विभिन्न मुलुकहरुले आवश्यकताभन्दा बढी खोप माग गरेका कारण ती मुलुकहरुसँग संवाद गरेर खोप आयात गर्छौं । सरकारको मुख्य ध्यान नै खोप आयातमा रहेको छ । अबको एक सातामा केही रिजल्ट देखिन्छ ।”
प्रतिक्रिया