Logo

१० महिनामा ५० करोडभन्दा बढीको ‘हाते लाइटर’ आयात, कुल आयात १२ खर्ब ५४ अर्बभन्दा बढी



भन्सार विभागले चालु आर्थिक वर्षको १० महिनाको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांकलाई केलाउँदा १० महिनाको अवधिमा खल्तीमा राख्‍न मिल्ने साना ‘हाते लाइटर’मात्र आधा अर्ब भन्दा धेरैको आयात भएको छ । समीक्षा अवधिमा १० करोड ५० लाख ३५ हजार ८१ वटा लाइटर आयात हुँदा ५० करोड ८५ लाख २७ हजार खर्चिएको छ ।
 
सानो लाइटर आयातबाट मात्र नेपाल सरकारले १५ करोड २३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो तथ्यांक त सानो लाइटरको मात्र हो । योबाहेक अन्य लाइटरहरु ३१ लाख ८० हजार ४७३ वटा आयात भएका छन्, जसलाई ९५ लाख ३१ हजार रुपैयाँ परेको छ । 

यही १० महिनाको अवधिमा ९७ लाख ७९ हजार रुपैयाँ बराबरको लाइटरको पार्टपूर्जामात्र आयात गरिएको छ । लाइटर त एउटा प्रतिनिधि उदाहारण मात्र हो । यस्तो साना र वेवास्ता गरिएका धेरै वस्तुहरु छन्, जुन वर्षेनि करोडौं खर्च गरेर आयात गरिन्छ र स्वादेशी बजारमा अर्बौँमा बेचिन्छन । तर, यसको अर्थव्यवस्थाको व्यापार घाटालाई भने सधै नकारात्मक असर पारिरहन्छ । 

नेपाली जनताहरुले नै यस्ता स-सना वस्तुहरुको पहिचान गरि आयात पुर्नस्थापना गर्नु नै युवा, जनता र राज्यको मुख्य आवश्यक्ता हो । समीक्षा अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो ।

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७-७८ को पहिलो १० महिनाको (साउदेखि वैशाखसम्म) तथ्यांक अनुसार यस अवधिमा एक खर्ब आठ अर्ब ४७ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ८२ अर्ब छ, करोड ४६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

सरकारले गत आव २०७६-७७ मा सुरु एक खर्ब बढीको निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ११ वर्षपछि चालु आवको १० महिनाको अवधिमा उक्त लक्ष्य पूरा भएको हो ।  यसैगरी १० महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार  ४ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।