भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ३० जनवरी २०२१ मा किसान संगठनहरुलाई भनेका थिए, केन्द्र सरकारको प्रस्तावमाथि यदि किसानहरुले छलफल गर्न चाहेको हुन् भने म एक कल फोनको दूरीमा छु । प्रधानमन्त्री मोदीले यस्तो भनेको चार महिना पूरा भइसकेको छ । कोरोना महामारीकाबीच जाडो मौसममा सुरु भएको किसान आन्दोलन कोरोना महामारीको दोस्रो लहर र गर्मी मौसम सुरु भइसक्दा पनि पनि समाधान हुन सकेको छैन ।
सवाल यो बनेको छ कि पहिलो फोन कसले गर्ने ? पहिलो फोन कसले गर्ने भन्ने कुराले नै किसान आन्दोलनको छ महिना भइसकेको छ । किसान आन्दोलन सुरु गरेको छ महिना पूरा भएपछि कसिानहरुले बुधबार देशभर कालो दिवस मनाएका छन् । कोरोना महामारीका कारण किसानहरु अहिले सडक आन्दोलमा निस्किएका छैनन् । तर, उनीहरुले आफ्नो आन्दोलन जारी रहेको र अहिले समस्या समाधान नभए सन् २०२४ मा देखाइ दिने चेतावनीसमेत दिएका छन् ।
किसान संगठनहरुको दाबी र केन्द्र सरकारको कृषी सुधारको प्रतिबद्धताकाबीच अब सरकारले जारी गरेका तीनवटा कृषि कानुको भविष्य के हुन्छ भन्ने प्रश्नहरु उठेका छन् ।
सरकारले पेश गरेका तीनवटा कृषि कानुन सेप्टेम्बरमा संसद्ले पारित गरेको थियो । त्यसपछि उक्त कानुनलाई राष्ट्रपतिले पनि अनुमोदन गरेका थिए । राष्ट्रपतिले जारी गरेको उक्त कानुनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो । अदालतले चार सदस्यीय कमिटी गठनको आदेश दियो । उक्त कमिटीलाई दुई महिनाका लागि रिपोर्ट बुझाउनसमेत आदेश दिएको थियो । यस अवधिमा कानुन कार्यान्वयन नगर्न सरकारलाई आदेशसमेत दिएको छ ।
सर्वोच्चको आदेश अनुसार गठन भएको समितिले उक्त रिपोर्ट बुझाइसकेको छ । तर, उक्त रिपोर्ट सार्वजनिक भएको छैन । यस विवादलाई समाधान गर्नका लागि किसान संगठनहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक चिठी लेखेका छन् । उक्त चिठीको जवाफको पर्खाइमा किसान संगठन रहेको छ । प्रधानमन्त्रीले फोन गर्ने प्रतिबद्धता पूरा नगरेपछि उनीहरुले चिठी पठाएका थिए ।
प्रधानमन्त्री मोदीले आफ्ना मागहरु सम्बोधन नगरेको अवस्थामा किसान आन्दोलन फेरि चर्किनेसमेत चेतावनी दिएका छन् ।





















प्रतिक्रिया