Logo

राजनीति

खोप उपलब्ध गराइदिन आग्रह गर्दै भारतीय समकक्षीलाई राष्ट्रपति भण्डारीको पत्र 



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्राचार गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोरोना संक्रमण रोक्‍नका लागि खोप आवश्यक भएको पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज खोप लगाउनका लागि उपलब्ध गराउन समकक्षी कोविन्दलाई पत्राचार गरेको राष्ट्रपति कार्यालयका प्रेस संयोजक टिका ढकालले अनलाइनपानालाई जानकारी दिएका छन् । 

उनका अनुसार राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउने कार्यका लागि पहल गरिदिन भारीय राष्ट्रपतिलाई आग्रह गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई पठाएको पत्रमा भारतमा महामारीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ । त्यस्तै महामारीविरुद्ध आपसी सहकार्य गर्दै मिलेर लड्न आग्रह समेत गरिएको छ ।

यसअघि भारतले आफ्ना नागरिकलाई खोप अभाव हुनसक्ने भन्दै खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । नेपालले कोरोनाविरुद्धको २० लाख डोजका लागि भुक्तानी गरिसके पनि हालसम्म १० लाख डोज खोपमात्रै आएको छ भने १० लाख डोज आउन बाँकी छ । यसअघि भारतको खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युटले सेप्टेम्बरसम्म खोप निर्यात गर्न नसकिने जनाएको थियो । 

नेपालमा मंगलबारसम्म २१ लाख १३ हजार जनाले पहिलो डोज खोप लगाएर दोस्रो डोजको प्रतिक्षामा छन् । भारतले यसअघि करिब साढे १३ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ भने १० लाख डोज भारतबाट खरिद गरेको छ । 

फाइल तस्बिर ।

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  १ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।