आफूविरुद्धको अविश्वासको प्रस्तावलाई संसद्ले रोक लगाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् भङ्ग गर्ने सिफारिस गर्दै चुनावको तयारी अघि बढाउने घोषणा गरेका छन् । उक्त घोषणाअघि पाकिस्तानको न्याश्नल एसेम्बलीले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएको थियो । त्यसपछि राष्ट्रका नाममा सम्बोधन गर्दै खानले आफूले राष्ट्रपतिसमक्ष संसद् भङ्ग गरेर फेरि चुनाव गराउन सिफारिस गरेको जानकारी दिए । संसद्मा अविश्वासको प्रस्तावका कारण अस्तव्यस्तता उत्पन्न भएको समयमा उनले यस्तो कदम चालेका हुन् । प्रधानमन्त्रीले हार्ने देखिएको अविश्वासको प्रस्तावविरुद्धको मतदान गराउन संसद्का उपसभामुखले अस्वीकार गरेका थिए ।
षड्यन्त्रको आरोप
खानले प्रधानमन्त्रीबाट आफूलाई हटाउन अन्तर्राष्ट्रिय स्तरबाट षड्यन्त्र रचिएको भन्दै अमेरिकाले त्यसको योजना बुनेको आरोप लगाएका थिए । सिकुन्दर केर्मानीका अनुसार प्रधानमन्त्री सेनाको सहयोगले सत्तामा आएको धेरैले ठानेका थिए तर अहिले विश्लेषकहरूले त्यो सम्बन्ध बिग्रिएको आकलन गरेका छन् । उनका राजनीतिक प्रतिद्वन्द्वीहरूले खानको गठबन्धनबाट कैयौँ सांसदलाई आफूतर्फ तान्न सफलता पाएका थिए । खानले अमेरिकी अधिकारीहरूले पाकिस्तानी कूटनीतिज्ञहरूलाई आफ्नो विदेशनीतिसम्बन्धी निर्णयहरूका कारणले गर्दा पदबाट हटाउनुपर्ने चेतावनी दिएको आरोप लगाएका थिए ।
रुसी राष्ट्रपति पुटिनलाई भेट्न मस्को गएको र विगतमा अमेरिकी ’आतङ्कवादविरुद्धको लडाइँको’ आलोचना गरेको जस्ता घटनालाई उनले उदाहरणका रूपमा प्रस्तुत गरेका थिए । यद्यपि विपक्षीहरूले ती आरोप हास्यास्पद भएको र खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अमेरिकाको हात रहेको भन्ने आरोप असत्य भएको बताएका छन् ।





















प्रतिक्रिया