Logo

समाचार

दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति जुमाले सयौंपटक घुस लिएको आरोप



जोहानेसबर्ग,दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् । 

पूर्व राष्ट्रपति जुमा विरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको सुनुवाईका क्रममा अनुसन्धाताहरुले जुमाले फ्रान्सेली हतियार निर्माता कम्पनी थेल्सबाट नगद भुक्तानी लिएको समेत सयौं काण्डमा मुछिएको बताएका छन् ।

दक्षिण अफ्रिकाको सन् २००९ देखि २०१८ सम्म राष्ट्रपति रहनु भएका जुमा विरुद्ध भ्रष्टाचारका आरोपहरुका साथै ठगी, कर छली र सम्पत्ति शुद्धीकरण समेतका आरोप लागेका छन् । अदालतमा उनले आफूमाथि लागेका आरोप झुठा रहेको बताउँदै आफू विरुद्धका मुद्दाहरु राजनीतिक प्रेरित रहेको दाबी गरेका छन्  । 

निलो पहिरनमा अदालतमा उपस्थित हुनु भएका ७९ वर्षीय जुमामाथि लागेका आरोपहरु प्रमाणित भए २५ वर्षसम्म जेल जानु पर्ने हुन्छ । 

जुलाई १९ सम्मका लागि मुद्दाको सुनुवाई स्थगित भएसँगै जुमाले आफ्ना समर्थकलाई अदालत बाहिर सम्बोधन गर्दै आफूले कसैसँग कहिल्यै केही नलिएको र कुनै गलत कार्य नगरेको बताएका छन् । 

जुमामाथि लागेका भ्रष्टाचारका आरोपहरु उनी  राष्ट्रपति हुनुभन्दा अघिका हुन् । साथै यी आरोपहरु उहाँ सन् १९९९ देखि २००५ सम्म दक्षिण अफ्रिकाको उपराष्ट्रपति हुँदाको समयावधिका छन् । 

अभियोजकहरुका अनुसार जुमाले सन् १९९५ देखि २००५ को अवधिमा थेल्सबाट मात्र नभई विभिन्न स्रोतबाट घुस लिएका थिए । त्यस समयमा निकै लोकप्रिय उनी सत्तारुढ अफ्रिकन नेसनल कङ्ग्रेस पार्टीको प्रान्तीय राजनीतिबाट उपराष्ट्रपति पदमा पुग्नु भएको थियो । 

थेल्स विरुद्ध पनि मुद्दा दायर भएका छन् तर कम्पनीले आफूले स्वच्छ व्यवसाय गरेको दाबी गरेको छ । जुमा र थेल्स बिरुद्ध १८ वटा आरोप छन् । 

अभियोजकका अनुसार थेल्सबाट जुमाले वार्षिक करिब ४० हजार अमेरिकी डलर स्वीकारेका थिए । यसबापत जुमाले अफ्रिकी सरकारसँग हुने हतियारको बिक्री सम्बन्धी विषयमा थेल्स माथि अनुसन्धान गर्नबाट रोक्न “राजनीतिक संरक्षण” दिनु भएको अभियोजकको भनाई छ । 

तर सन् २००५ मा घुसखोरीको मुद्दा लागेपछि जुमालाई उपराष्ट्रपति पदबाट बर्खास्त पनि गरिएको थियो । तर चार वर्षपछि जुमाले पुनः दक्षिण अफ्रिकाको राष्ट्रपतिका रुपमा पुनरागमन गरेका थिए  । 

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  ५ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।