Logo

सुनकोशीको बाढीले बगायो पुल



ओखलढुंगा- सुनकोसी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटरेबल पुल बगाएको छ । चम्पादेवी गाउँपालिका-१ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने पुल बगेको हो ।

करिब २३ करोड लागतमा चुँदी कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको ठेक्का लिएको थियो । कुल २१० मिटर लम्बाइको पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । बुधबार मात्रै ढलान गरिएको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल निर्माणको काम पछिल्लो समय तीव्र बनाइएको थियो ।

वर्षामा बाढीको त्रास हुने भएकाले त्यसअगावै सक्ने गरी काम अघि बढाइए पनि ढलान सकेको केही घण्टामा बाढीले पुल बगाएको निर्माण कम्पनीका प्रतिनिधि मदन माझीले बताए । उनका अनुसार यो पुल नयाँ टेक्नोलोजी अन्तर्गतको केवल ब्रिज हो। उक्त प्रविधिबाट बनेको पुलमा ढलान सकिएपछि केवल तान्ने तयारी थियो ।

केवल तान्न नपाउँदै बाढीले बगाएको माझी बताउँछन् । उनले भने, ‘यो नेपालमा नयाँ प्रविधिबाट बन्दै गरेको पुल हो । केवल ब्रिज बनाउँदा ढलान सकेको १४ दिनसम्म केवल तान्नुपर्ने हुन्छ तर ढलान सकेको केही घण्टामै बाढीले बगायो ।’

माझीले भने, ‘गुणस्तरीय काम गर्दागर्दै प्रकृतिले साथ नदिँदा ४० मिटर स्ल्याब भत्कियो । निकै ठूलो क्षति भयो ।’ माझीका अनुसार करिब ६ करोड बराबरको क्षति भएको छ । निर्माणाधीन पुल बाढीले बगाएर यस क्षेत्रको भौतिक विकासको गुणस्तरता कमजोर रहेको संकेत गरेको सिन्धुली फिक्कल गाउँपालिकाऔ२ का वडाध्यक्ष शंकर भण्डारीले बताए ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले निर्माण कम्पनीले आफूहरूसँग कुनै समन्वय नगरेको बताए । सडक डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख अरुणकुमार लाल कर्णले आफ्नो कार्यक्षेत्रमा उक्त आयोजना नपर्ने बताए । ढलानमा दिइएको सपोर्टले लोड धान्न नसकेर क्षति भएको हुन सक्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार  ११ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।