Logo

‘हेल्थ हिरो’माथि आक्रमण होइन, आदर गरौं 



सिंगो समाज कोरोना कहरमा छ । पूरै विश्व आक्रान्त छ । अर्थतन्त्र थला परेको छ । मानिसका दैनिक गतिविधिहरु ठप्पप्राय: छन् । कोरोना नियन्त्रण हुने आशामा मानिसहरु घर-घरमा खुम्चिएका छन् । मानिसका कयौं सपना, महत्वाकांक्षा र योजना आइसोलेसन सेन्टरहरुमा ‘सेल्टर’ लिइरहेका छन् भने कयौं रहरहरु लकडाउनसँगै ‘लक’ भएका छन् । सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट फैलिएको कोरोना संक्रमणले रुप फेर्दै फर्किफर्कि आक्रमण गरिरहेको छ । विश्‍वभर मानिसहरुको जीवन अब केवल चिकित्सकहरुको हातमा छ । अस्पतालहरुलाई जीवन सुम्पेर आईसीयू र भेन्टिलेटरमा दिन गणना गरिरहेका बिरामीले चिकित्सकलाई ‘भगवान’ मानिरहेका छन् । 

तर, बिहीबार नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्युभएपछि आक्रोशित आफन्तहरुले तीनै ‘भगवान’ हरु (चिकित्सक र नर्स)माथि आक्रमण गरे । दाङका ५४ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार बेलुकी ८ बजे मृत्यु भएपछि आक्रोशित आफ्नतले चिकित्सक तथा नर्सलाई निशाना बनाए । कोरोना महामारीबाट नागरिको जीवन जोगाउन आफ्नो ज्यानमो प्रवाह नगरि, रातदिन-भोक निद्रा नभनि फ्रन्टलाइनमा खटिएकाहरुमाथि भएको आक्रमणको घटना निन्दनीय छ । 

पीपीईभित्र बाफिएको शरीर बोकेर उच्च जोखिमका साथ जनताको जीवन जोगाउन खटिँदा-खटिँदै आँखै अगाडि अन्तिम सास फेर्छ भने त्यो उपचारमा खटिएका चिकित्सक र नर्सको मन कस्तो बन्यो होला । जीवन जोगाउन लागि परेकाहरुले एक बिरामीलाई जानजान मार्ने कुरा कल्पना पनि गर्न सकिँदैन । एक आफन्त गुमाउनुको पीडा परिवारका सदस्यहरु आक्रोशित हुनलाई पनि अस्वभाविक मान्‍न सकिन्‍न । तर, केही अराजकहरुको भिडले हेल्थ हिरोहरुमाथि गरेको आक्रमणले देशभरका स्वास्थ्यकर्मीहरुको मनोबलमा ठेष पुर्‍याएको छ । 

मानिसहरुले भगवानको बास हुने भनिएका मन्दिर, मस्जिद, गुम्बा र प्रार्थनास्थलहरुमा यतिबेला ताला लागेको छ । तर, अस्पताल र स्वास्थ्यकर्मीहरु चौबिसैं घण्टा अनवरत खटिरहेका छन् । कुनै अस्पतालको मालिकको चाहनाले मात्र त्यो सम्भव हुने कुरा होइन, यो त तीनै चिकित्सक, नर्स र स्वास्यकर्मीहरुको तत्परता र सेवाभावले दैनिक हजारौं संक्रमित निको भएर घर फर्किरहेका छन् । कोरोना संक्रमणको पहिलो चरणमा छरछिमेकमा बस्‍ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पतालबाट कोरोना ल्याउँछन् भन्दै टोलटोलबाट लखेट्ने गरेका दृश्य देखिएका थिए भने हाल अस्पतालमै चिकित्सकमाथि आक्रमण हुन थालेको छ । 

यसरी चिकित्सक तथा नर्सहरुमाथि  आक्रमणका घटनाहरु हुँदै गए, अस्पतालहरुमा तोडफोड मच्चायो भने स्थिति कति भयानक होला र उपचारका लागि मानिसहरुले धाउने ठाउँ कहाँ होला ? यस प्रश्‍नको जवाफ सम्भवत: अस्पताल र स्वास्थ्यकर्मी नै हुन् । त्यसकारण चिकित्सक तथा स्वास्थ्यकर्मी कुनै अस्पतालका कर्मचारी मात्र होइनन्,मानवीय मूल्य संकटमा परेको समयमा फ्रन्टलाइनमा उभिएर कोरोनाविरुद्ध लड्‍ने सिपाही हुन् । हाम्रो साथ, सम्मान र सद्‌भाव नै कोरोनालाई पराजित गर्ने मानवरुप धारणा गरेर सेतो बस्त्रमा बेरिएका ती ‘जीउँदा भगवान’का लागि बलियो हतियार हुन सक्छ । उनीहरूको मनोबल जति बलियो हुन्छ, हामी सबै कोरोनाबाट त्यति सुरक्षित हुनेछौं । 

त्यसकारण चिकित्सकमाथि आक्रमण होइन, आदर र सम्मान गरौं, सद्‌भाव बाँडौं । राज्यले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा प्रदान गर्दै तत्काल जोखिम भत्ता र अन्य सुविधाहरु उपलब्ध गराउनुपर्छ । 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १२ : ०८ बजे