Logo

अध्यापनबाट अवकाश भएपछि मौरी पालन व्यवसायमा रमाउँदै पर्वतका शर्मा



पर्वत । पर्वत जिल्ला कुस्मा नगरपालिका १३ चनौटेका मौरी पालक किसान कृष्ण प्रसाद शर्माले अञ्जली बि कन्सर्ट फर्म दर्ता गरेर व्यावसायिक रूपमा मौरी पालन गरेका छन् । यस भन्दा अगाडी अध्यापन पेसामा आबद्ध शर्मा अन्नपूर्ण उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट अवकाश भएपछि थप व्यावसायिक रूपमा मौरी पालमा लागेका हुन् । पहिले देखि मौरी पालन व्यवसायी व्यावसायिक रूपमा गर्न मन लागेको तर अवकाश पछि सम्पूर्ण समय मौरी पालन व्यवसायमा लागेको उनी बताउँछन् । अहिले घर वरिपरि मौरीका घारै घार छन्। बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीको घारको हेरचाह गर्ने शर्माको दिनचर्या बनेको उनी बताउँछन्।

परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण शर्माले दिएका छन् । विगत ५ दशकदेखि व्यावसायिक रूपमा मौरी पालन व्यवसाय गर्दै आएका कृषक शर्माले मह उत्पादन गरेर वार्षिक दश लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनको  घरमा अहिले ८० वटा मौरीका घार छन् भने सिजनमा एक सय भन्दा बढी हुने गरेका छन् ।

सेरेना जातको मौरी पालेका शर्माले यो व्यवसायबाट गतिलो कमाई गर्न सफल भएको बताए । सुरुका केही वर्ष चिसोका कारण केही प्रतिशत घाटा व्यहोरेका शर्माले पछिल्ला वर्ष सोचे जति नै आम्दानी भएको बताए ।

उनले वर्षमा दुई पटक मह निकाल्ने गरेका छन्। केही वर्ष अगाडिबाट व्यवसायीक मौरी पालन गर्न थालेका कृषक शर्माको मुख्य आम्दानी यही नै हो । जिल्ला कृषि विकास कार्यालय र लघु उद्यम विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा व्यवसाय सुरु गरेका शर्माले यो व्यवसायलाई अझै बढाउने योजना बनाएका छन् ।

उनले  उत्पादन गरेको मह घर वाटै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ उनले भने –‘कुश्माबजार, बागलुङ लगायतका क्षेत्रबाट पनि ग्राहकहरू घरमै आएर लैजाने गरेका छन् ।’ विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि शर्मा मौरी पालनमा हौसिएका बताउँछन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : ५९ बजे