Logo

uncategorized

१४ वर्षको किशोरावस्थामै किन यति धेरै अस्थिर बन्‍यो गणतन्त्र ? 



देशभक्त राष्ट्रवादीहरुले बाँदरको हातमा नरिवल सुम्पिएको आजको दिनको सम्झनामा एकथरीले उत्सव मनाइरहेका छन् । नेपाली राष्ट्रवादीहरुले नचाहँदा-नचाहँदै आफ्नै दाजुभाइहरुका विरुद्धमा देशमा हिंसा मच्चाएर सत्ताको साँचो लिएकाहरुको उत्सव मनाएको आज १३ वर्ष पूरा भएर १४ वर्ष पुगेको छ ।

विश्वका देशहरुमध्ये एक मात्र हिन्दु राष्ट्र र त्यसका संरक्षक, विष्णुका अवतार, राष्ट्रिय एकताका प्रतिक राजालाई घेराबन्दी गर्ने नाममा देशको मौलिक परम्परा, धार्मिक र साँस्कृतिक विविधता र एकता, सामाजिक एकता र नेपालको अविछिन्न अखण्डताका विरुद्ध गरिएको विदेशी षड्यन्त्रले आधिकारिकता पाएको दिनको वार्षिकोत्सव मनाउन सत्ता बसेर डुक्रिन कति पनि अप्ठ्यारो मानेका छैनन् । 

जनताहरु यतिबेला महामारीको चपेटामा परेर रोग र भोकको सिकार भइरहेका छन् । हरेक दिन अक्सिजन नपाएर अस्पतालमा छटपटाउँदै निर्दोष नेपालीको मृत्यु (हत्या) भइरहेको छ । शासकहरुले भने अझै समृद्ध नेपालको नारा लगाउन छोडेका छैनन् । 

जनतालाई बाँडेका मिठा सपनाहरुको भर्‍याङ चढेर सत्तामा पुगेकाहरुले अहिले भर्‍याङलाई नै बिर्सिरहेका छन् । आफ्नै देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको सुगा रटानलाई छोडेका छैनन् । तर, यतिलबेला पुरै राष्ट्र संकटमा छ भने नागरिकको अवस्था दयनीय बनिरहेको बेला दायित्वबाट बिमुख हुँदै ‘कुर्सी कब्जा’ गर्ने रडाको मच्चाइरहेका छन् । निहीत स्वार्थ र अभिष्ट पूरा गर्न सत्ता र शक्तिको खेलमा कुर्सी तानातान गरिरहेको दृश्यले जनतलाई थप निराश बनाइरहेको छ । 

जनताका समस्यालाई नजर अन्दाज गर्दै देशलाई विदेशी शक्तिको प्रत्यक्ष क्रिडास्थलको रुपमा कानुनी मान्यता दिन नागरिकता जस्तो संवेदनशील विषयमा बार्गेनिङ गरिरहेका छन् । यिनीहरुले बाँडेको सपनामा अल्झेर विगतमा किताबको सट्टा बन्दुक भिरेका नागरिकहरु अहिले खाडीको तापमा पिल्सिरहेका छन् । तर, उनीहरुलाई रगत बगाउन लगाएर सत्तामा पुगेका यिनीहरु विदेशीहरुलाई नागरिकता दिलाएर देशलाई फिजीकरण गराउने दिशामा लागेका छन् । 

सुखसयलको सपना बाँडेर परिवर्तन गरेको व्यवस्थाले जनतालाई थप पीडा पुर्‍याइरहेको छ । अहिलेका राजनीतिक दलहरुले परिवर्तन गर्‍यौ भनेको ‘सुखी व्यवस्था’ के हो ? हिजोको भन्दा आज जनताको दैनिकी झन् कष्टकर बन्नु राजनीतिक दलका नाममा खुलेका ‘दलालका अखडा’ले उत्पादन गरेका नेता भनिने ‘भष्मासुर’हरुको अभिष्ट के यही हो ? 

यिनीहरुले साँच्चिकै परिवर्तन जनताका लागि ल्याएको हो भने जनताको साथमा किन हुन सकेनन् ? किन आफ्नै कार्यकर्ता भनिएकाहरुका माझमा जान डराइरहेछन् ? यिनीहरुले ल्याएको गणतन्त्रमै किन खाए गालामा चड्कन ? किन हानियो जुत्ता ? निरंकुश भनिएको शाह वंशीय शासन २४० वर्षसम्म अविछिन्न टिकेर जनताको प्रिय हुँदा र आज पनि राजालाई नै जनताहरुले अभिभावकको दर्जा दिई देशको नेतृत्व गर्न आह्वान गरिरहँदा जनताले ल्याएको भनिएको जनताको गणतन्त्रात्मक व्यवस्था किन १४ वर्षकै अवधिमा यति धेरै अस्थिर ? सरकारको नेतृत्व कति पटक परिवर्तन भए ? जनताले यति धेरै आलोचना किन गरिरहेका छन् ? 

यो प्रश्नहरुको एउटै जवाफ हो – यिनीहरुले परिवर्तन गर्‍यौ भनेर ल्याएको यो व्यवस्था नेपाली जनताको चाहना र नेपाली माटोको परिपुरक थिएन । दिल्लीलाई सिंहदरबारको चाबीसम्म चाहिएको थियो तर यिनीहरुको असक्षमताले गर्दा उसले पछि नेपालको सत्ताका सञ्चालकहरुको शरीर चलाउने रिमोट बनाएर आफ्नो स्वार्थ अनुरुप खेल्न समेत सक्यो । फलस्वरुप यतिबेला देशको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकता नै धरापमा पर्दै गएको छ । 

के अब पनि गणतन्त्रको उपयोगिता र आवश्यकताको मुल्यांकन गरेर सम्पूर्ण देशभक्त नेपाली जनताहरु एकताबद्ध भइ यिनीहलाई देश निकाला गर्ने समय आएन र ? 

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ७ : ४२ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।