Logo

कमजाेर बन्याे चक्रवात, यस्ताे छ माैसम



गत बुधबार भारतकाे ओडिसा राज्यकाे जमिनमा बज्रिएकाे यास् नामक चक्रवात कमजाेर बनेकाे छ। याे चक्रवातले नेपालमा चार दिन झरी परेकाे थियाे।

तर, चक्रवात कमजाेर भएसँगै प्रभाव पनि हट्न थालेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

यद्यपि आइतबार मुलुकका विभिन्न क्षेत्रमा पानी पर्ने सम्भावना छ। ‘देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ माैसम पूर्वानुमान महाशाखाले भनेकाे छ।

महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम, कर्णालीका थोरै र अन्य प्रदेशका एक-दुई  स्थानमा तथा प्रदेश १ को तराई भूभागमा र प्रदेश २ को थोरै स्थानमा मेघगर्जन वर्षा भएकाे छ।

राति प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थान तथा बाँकी पहाडी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का  एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

साेमबार प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका  थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ६ : ३४ बजे