तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई १५ हजार रुपैँया सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई राहतस्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले दुई दिनको तलब सहयोग गर्ने र बाँकी कोभिड कोषबाट बेहोर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत प्रदान गर्ने निर्णय गर्ने म्याग्दे जिल्लाको दोस्रो पालिका हो । यसअघि व्यास नगरपालिकाले मृतक परिवारलाई १० हजार रुपैँया राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
गाउँपालिकाले कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न र हौसला बढाउन घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् ।
प्रतिक्रिया