Logo

काठमाडाैंमा जेठभर निषेधाज्ञाकाे तयारी, खाद्यान्न पसल खुल्ने



काठमाडाैं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ महिनाभर थपिने भएकाे छ।  पछिल्ला्े पटक २० जेठ राति १२ बजे निषेधाज्ञा सकिन लागेकामा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो।  आज बुधबार बैठक बसेर उक्त निर्णय गरिने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

अब खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइने, विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइनेलगायतका निर्णय हुने छन्। यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । खाद्यान्न पसल बन्द भएपछि प्रशासनले आवश्यक पर्नेहरुलाई स्थानीयस्तरमै खाद्यान्न उपलब्ध गराउने जनाएको थियो । 

छलफलमा काम रोकिएकाले निर्माणस्थलमै आवासीय कामदार राखेर निर्माणका काम गर्न दिनेबारे पनि छलफल भएको छ । यी काममा संलग्न हुने कामदार कार्यस्थलभन्दा बाहिर जान पाउने छैनन् भने उनीहरूलाई खाने बस्ने व्यवस्था निर्माण कम्पनीले नै गर्नुपर्नेछ।

पछिल्लोपटक सरकारले कोभिड–१९ अध्यादेश २०७८ ल्याएपछि प्रशासनले निषेधाज्ञा कार्यान्वयनमा थप कडाइसमेत गर्दै आइरहेको छ। अध्यादेशमा अनुमतिबिना वा बिरामी ओसारपसार प्रयोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्न सक्ने उल्लेख छ।

अनुमतिबिना सवारी चलाएको भेटिएमा दुईपांग्रेलाई २ हजार र अन्य सवारीसाधनलाई ५ हजारसम्म जरिमाना लिन सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा यसअघि जारी सूचनामा उल्लेख छ।

निषेधाज्ञा आदेश व्यक्तिले उल्लंघन गरे प्रमुख जिल्ला अधिकारी तत्काल १ लाख र संस्थाले उल्लंघन गरेमा ५ लाख रुपैयाँ जरिमाना गराउन सक्नेछन्।

त्यस्तै, मास्क नलगाई सार्वजनिकस्थल आवतजावत गर्नेलाई पनि पटकैपिच्छे सय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा उल्लेख छ भने हिँडडुलमा रोक लगाएको अवस्थामा बिनाकाम निस्किनेलाई २ सय रुपैयाँ जरिमाना गराउन सकिने अध्यादेशमा उल्लेख छ।

प्रकाशित मिति : जेष्ठ १९, २०७८ बुधबार  ६ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।