निरन्तर वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ डुबानमा परेको छ । नासो गाउँपालिका– १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण आएको बाढीले डुबानमा परेको हो । मर्स्याङ्दीछेउमा रहेको तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीयले जानकारी दिएका छन् । बाँकी घर पनि जोखिममा रहेको र स्थानीय घर छाडेर बाहिर सुरक्षित ठाउँमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
उनका अनुसार तालगाउँका स्थानीय अहिले पानी नभएको ठाउँमा बसेका छन् । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर बस्ती डुबाउँदै आएको हो । मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले उक्त क्षेत्रमा प्रहरी खटिसकेको र उद्धार कार्य भइरहेको जानकारी दिए ।
तालमा रहेको प्रहरी चौकीको टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेका छन् । उनका अनुसार गाउँसँगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको छ । यस्तै सदरमुकाम चामे स्थित तातोपानी कुन्ड नजिकैको बस्तिमा मर्स्याङ्दी नदी पसेपछि उक्त क्षेत्र डुबानमा परेको छ ।
भीषण वर्षाले चामे गाउँपालिका– १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा चारवटा घर बाढीले बगाएर क्षति पुर्याएको छ ।
चामेको नयाँबजारका स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले सुरक्षित स्थानमा स्थान्तरण गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।















प्रतिक्रिया