नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनीसँगको सहकार्यको प्रस्तावको मस्यौदामा नेपालको विमानस्थलमा सोलार राख्ने विषयमा कुनै सम्झौता नभएको प्रष्ट पारेको छ ।
नेपाल विद्युत प्राधिकरणले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “नेपाल विद्युत प्राधिकरण र एनटिपिसीबिच सहकार्यको सो प्रस्तावित मस्यौदामा नेपालका कुनै पनि विमानस्थलमा सोलार राख्ने भन्ने विषय नरहेको व्यहोरा स्पष्ट गरिन्छ, साथै नेपाल विद्युत प्राधिकरण यस्तो सुरक्षाको विषयमा संवेदनशील रहेको छ ।”
यसअघि प्राधिकरणले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा सोलार उर्जा जडान गर्नका लागि भारतीय एजेन्ट राख्ने भन्ने सहमति भएको भन्दै समाचाहरु आएका थिए । उक्त समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले विमानस्थलमा भारतीय राख्ने कुरा नभएको प्रष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, “वैकल्पिक ऊर्जा सम्बन्धी लघु जलविद्युत, सौर्य ऊर्जा र वायु ऊर्जा एवं पम्प जलाशययुक्त आयोजनाको सम्मिश्रण सम्बन्धमा एनटिपिसीसंगको सहकार्यमा अध्ययन गर्ने बारेको उक्त प्रस्तावमा छलफल गरी निष्कर्षमा पुग्न नेपाल विद्युत प्राधिकरण प्रयासरत रहेको छ। सहकार्यको उक्त प्रस्तावित मस्यौदा नेपाल विद्युत प्राधिकरणको संचालक समितिको बैठकमा छलफलका लागि पेश गर्ने हेतुले मात्र प्रमाणित गरिएको सैद्धान्तिक कागजात हो। उक्त प्रस्तावमा भारतीय सहयोगमा वि.सं. २०२३ सालमा निर्मित त्रिशुली आयोजनाको मुख्य नहर माथि राखिने गरी सोलार डिजाइन गर्न र स्थानीय तहहरुबाट उपलब्ध हुने जग्गामा ५०० देखि १००० किलोवाटको सोलार डिजाइन गर्न भारतीय कम्पनी एनटिपिसीसँग सहकार्य गर्न छलफल अघि बढाइएको हो ।”
त्यसैगरि प्रस्तावित मस्यौदा वैकल्पिक उर्जाको क्षेत्रमा अध्ययन र विकास गर्न एकअर्कालाई बाध्यकारी नहुने गरि मित्रराष्ट्र भारतलगायत अन्य मित्रराष्ट्रका स्वायत्त संस्थाहरुबीच सहकार्यको लागि गरिने संस्था र कम्पनीस्तरको समझदारी सरहको एक प्रस्ताव भएको प्राधिकरणले जनाएको छ ।

















प्रतिक्रिया