कोरोना महामारीको दोस्रो लहर चलिरहेको समयमा नेपालमा बाढी पहिरोको अर्को विपत्ति सुरु भएको छ । एकातिर कोरोना महामारीको चपेटामा परेकाहरुले कोरोनाविरुद्धको खोप पाएका छैनन्, आफन्त गुमाएका छन् भने अर्कोतर्फ बाढी, पहिरोले ठूलो जनधनको क्षति भइरहेको छ ।
चीनबाट ल्याइएको कोरोनाविरुद्धको खोप लगाउनका लागि असार १ गते स्वास्थ्यकर्मीले मुस्ताङको कोबाङ र टुकुचेमा जेष्ठ नागरिकलाई बोलाएका थिए । खोप लगाउने भनिए पनि खोलामा बाढी आएका कारण खोप ल्याउन समस्या भएको थियो ।
तर, पनि स्वास्थ्यकर्मीले खोलाको दुबैतर्फ एक पाइप तेर्स्याउँदै खोप ओसारेका थिए । यसरी खोप ओसारिरहेको भिडियो @srp_dr को ट्विटर ह्याण्डलबाट शेयर गरिएको थियो । उक्त भिडियो शेयर गर्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेब्रयसियसले नेपालका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।
महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको भन्दै प्रशंसा गरेका हुन् । उनले भनेका छन्, “तर कतिपय स्थानमा यी हिरोहरुले अझै खोप लगाउन पाएका छैनन् ।”
उनले प्रश्न गर्दै भनेका छन्, “उनीहरुले खोप पाएको छैनन्, के यो जायज छ ? उनीहरुलाई खोप तत्काल लगाउनु पर्ने जिकिर गरेका छन् ।”
This is how far #healthworkers go to save lives. Is it fair that in many places these heroes have still not been vaccinated?
It is in our power and our duty to do everything we can to deliver #VaccinEquity! If not now, when?https://t.co/Dm1YVbc9uB
— Tedros Adhanom Ghebreyesus (@DrTedros) June 17, 2021
नेपालमा हालसम्म करिब २४ लाखले पहिलो डोज खोप लगाएका छन् भने करिब ६ लाखले दोस्रो डोज खोप लगाएका छन् । दोस्रो डोज खोप लगाउन नपाएका करिब १४ लाख मानिसहरु जोखिममा परेको भन्दै एम्नेस्टी इन्टरनेशनलले शुक्रबार एक विज्ञप्ति जारी गरेको थियो ।















प्रतिक्रिया