केही महिनाअघि पशुपतिमा सुनको जलहरी लगाएको र चितवनमा राम मन्दिर बनाउने योजना अघि सारेका प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिमा पनि राम मन्दिर बनाउन लागेका हुन् । पशुपतिनाथ मन्दिर परिसरमा राम मन्दिर बनाउनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आइतबार शिलान्यास गरेका छन् ।
शिलन्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए । उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए । मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए ।
साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो । भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम सुरु भएको छ । ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका पदाधिकारी, साधुसन्त र भक्तजन सहभागी शिलान्याश कार्यक्रममा कोषका सदस्य सचिव डा प्रदीप ढकालले मन्दिर निर्माणको काम समयमै सक्ने प्रतिबद्धता जनाए । सो अवसरमा मन्त्री अरगरियाले पशुपति क्षेत्र विकास कोषको निरीक्षण गरेका थिए । कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया कार्यकारी निर्देशक डा घनश्याम खतिवडा र सदस्य सचिव ढकालका साथमा निरीक्षण गरेका हुन् ।
मन्त्रालय र कोष मिलेर पशुपति विकास कोषलाई पर्यटकीय र विकासका हिसाबले व्यवस्थित बनाउन काम गर्नुपर्ने धारणा मन्त्री अरगरियाले निरीक्षणका क्रममा राखे । निरीक्षणका क्रममा उनले पशुपति नाथ मन्दिरको दर्शन पनि गरेका थिए ।
प्रतिक्रिया