१६ औं संस्करणको युरोकप फुटबलमा (आज) आइतबार दुई खेलहरु रहेका छन् ।
युरोकपको समूह चरण अन्तर्गत आज समूह ए को दुई खेल रहेको छ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ ।
रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटालीले २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा इटालीले टर्कीलाई ३ – ० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३ – ० गोल अन्तरले नै हराएको थियो ।
वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २ – ० गोल अन्तरले पराजित गरेको थियो ।
यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९:४५ बजे सुरु हुनेछ ।
जित निकाल्दै स्वीजरल्याण्ड नकआउट चरणको ढोका खेल्न चाहन्छ । स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।
टर्की भने पहिलो अंकको खोजीमा हुनेछ ।
प्रतिक्रिया