Logo

कास्की प्रशासनले भोलिदेखि सेवा दिने, बार अनुसार सेवा दिइने 



निषेधाज्ञाका कारण ठप्प जिल्ला प्रशासन कार्यालय कास्कीले भोलिदेखि पुन: सेवा सुरु गर्ने भएको छ । कोरोना भाइरसको जोखिम विस्तारै कम हुँदै आएकाले प्रशासनले दिने सेवा भोलिदेखि सुरु हुन लागेको हो । प्रशासनले जारी गरेको सूचना अनुसार बार प्रणालीबाट सेवा दिइने छ ।

सूचनामा उल्लेख भए अनुसार नागरिकता, नाबालक परिचय पत्र, विभिन्न सिफारिस, संघ संस्था दर्ता तथा नविकरण र भारतीय पेन्सन सिफारिस सेवा बार अनुसार सेवा दिइने छ । नागरिकता, नाबालक परिचय पत्र, विभिन्न सिफारिस, संघ संस्था दर्ता तथा नविकरणका लागि पोखरा महानगरपालिकाको १ देखि १५ वडासम्मका नागरिकको लागि आइतबार र सोमबार तोकिएको छ । वडा नम्बर १६ देखि २५ सम्म बिहीबार र शुक्रबार सेवा लिन पाउने छन् ।

यस्तै गरि अन्नपूर्ण, मादी र माछापुछ्रे गाउँपालिकाका सेवाग्राहीले मंगलबार र बुधबार सेवा लिन सक्ने छन् । भारतीय पेन्सन सिफारिसको लागि पोखरा महानगरपालिकाभित्र आइतबार, सोमबार, बिहीबार र शुक्रबार सेवा दिइने छ । गाउँपालिकाको हकमा मंगलबार र बुधबार तोकिएको छ । सेवा लिनको लागि भौतिक दुरि र स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आग्रह छ । आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा सूचारु गर्न लागिएकाले वेबसाइटमा सूचना हेरेर मात्रै कार्यालयमा सम्पर्क गर्न प्रशासनले भनेको छ ।

यस्तै यातायात कार्यालय गण्डकीको सेवा पनि भोलिदेखि नै सुरु हुँदै छ । यातायात कार्यालयले भने कोटा प्रणालीबाट सेवा दिने छ । स्मार्ट कार्ड, नविकरण र ट्रायल पास भएर राजश्व बुझाउ बाँकी भएकाहरुको लागि दैनिक १ सय, १ सय जनाको दरले सेवा दिने यातायात कार्यालयले सूचनामा भनेको छ ।

गत ७ गते कास्की प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै जनजीवन केही सहज हुन थालेको छ । मनोरञ्जनका क्षेत्रबाहेकका नीजि क्षेत्रबाट सञ्चालित व्यापार व्यवसाय बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्ने अनुमति पाएसँग कास्कीको जनजीवन सामान्य अवस्थामा फर्किदै छ ।

नीजि सवारीको लागि भने जोर बिजोर प्राणाली लागू गरेर चल्न पाइने छ । जस अनुसार जोर गते जोर नम्बरका सवारी र बिजोर गते बिजोर नम्बरका सवारी चल्न पाउने छन् । रेष्टुरेण्टका लागि पनि टेक वे सेवा दिने अनुमति दिइएको छ । सबैलाई स्वास्थ्य मापदण्ड पालना गरेर सेवा दिन र लिन प्रशासनले बारम्बार आग्रह गर्दै आएको छ ।

 

No description available.

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  ७ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।